
अमेरिका र इरानबीच होर्मुज जलडमरूसम्बन्धी विवाद समाधानका लागि मंगलबार कतारको राजधानी दोहामा वार्ता हुने भएको छ ।
दुवै देशले आक्रमण रोक्ने सहमतिसहित वार्तामा बस्न लागेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूको व्यवस्थापन र जिम्मेवारी पूर्ण रूपमा इरानको रहेको बताएका छन् ।
उनले इरानले तोकेको जलमार्गलाई बेवास्ता गर्ने कुनै पनि प्रयासले क्षेत्रीय तनाव र द्वन्द्व थप चर्काउने चेतावनी दिएका छन्।
उता, लेबनानका संसद् सभामुख नबिह बेरीले इजरायलसँग भएको रूपरेखागत सम्झौता स्वीकार्य नहुने बताएका छन् । उनले उक्त सम्झौताले लेबनानको अधिकार सुनिश्चित नगरेकाले त्यो कार्यान्वयन नहुने स्पष्ट पारेका छन् ।