२४ असार २०८३, बुधबार

अमेरिका–इरानबीच तनाव मत्थर बनाउने सहमति, युद्ध अन्त्यका लागि दोहामा वार्ता

असार १५, २०८३
काठमाडौं
अमेरिका–इरानबीच तनाव मत्थर बनाउने सहमति, युद्ध अन्त्यका लागि दोहामा वार्ता

अमेरिका र इरानले पछिल्ला केही दिनयता भएका आक्रमण–प्रत्याक्रमणपछि तनाव कम गर्दै सैन्य गतिविधि रोक्न सहमति गरेका छन् । 

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दुवै देश ‘स्ट्यान्ड डाउन’ अर्थात् थप सैन्य आक्रमण नगर्ने समझदारीमा पुगेको जनाएका छन् ।

बीबीसीका अनुसार अमेरिकी अधिकारीले गल्फ क्षेत्रको होर्मुज जलडमरूबाट अब जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने र युद्ध स्थायी रूपमा अन्त्य गर्ने सम्झौताका लागि वार्ता जारी रहने बताएका छन् ।

यद्यपि इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले यसै साता प्राविधिक तहको वार्ता हुने योजना नरहेको बताएका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानकै आग्रहमा मंगलबार कतारको राजधानी दोहामा बैठक हुने दाबी गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ‘इरानले बैठकको आग्रह गरेको छ, भोलि दोहामा बैठक हुनेछ’ भन्दै जानकारी दिएका छन् ।

अमेरिका र इरानले जुन १७ मा १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यसमा सबै मोर्चामा तत्काल र स्थायी रूपमा सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको थियो ।

साथै, इरानले ६० दिनसम्म कुनै शुल्क नलिई व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएको थियो ।

तर उक्त सहमति भएको दुई साताभन्दा कम समयमै दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका थिए । गत बिहीबार इरानी प्रक्षेप्यास्त्रले होर्मुज जलडमरूमा एक मालवाहक जहाजमा प्रहार गरेपछि तनाव पुनः चर्किएको थियो ।

त्यसपछि अमेरिकी सेनाले व्यावसायिक जलयात्रामाथिको निरन्तर आक्रमणको प्रतिकारस्वरूप भन्दै इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको थियो । त्यसको जवाफमा शनिबार इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । अमेरिकाले ती आक्रमणबाट कुनै क्षति वा मानवीय हताहत नभएको जनाएको छ ।

विश्वको प्रमुख तेल तथा ग्यास ढुवानी मार्ग मानिने होर्मुज जलडमरू अमेरिका र इजरायलले फेब्रुअरी अन्त्यतिर इरानमाथि आक्रमण शुरू गरेपछि लामो समय प्रभावित बनेको थियो ।

यसैबीच, अमेरिकाको मध्यस्थतामा शुक्रबार इजरायल र लेबनानबीच दीर्घकालीन शान्तिको आधार तयार गर्ने उद्देश्यसहित एउटा रूपरेखा सम्झौतामा पनि हस्ताक्षर भएको छ । तर दक्षिण लेबनानमा इजरायली सेना र इरान समर्थित हिजबुल्लाहबीच जारी भिडन्तका कारण उक्त युद्धविराम पनि अस्थिर देखिएको छ ।

हिजबुल्लाहका नेताले उक्त सम्झौता अस्वीकार गर्दै लेबनान सरकारले देशको सार्वभौमिकता कमजोर बनाएको आरोप लगाएका छन् । सम्झौतापछि आइतबार इजरायली सेनाले दक्षिण लेबनानमा हिजबुल्लाहले प्रयोग गर्दै आएको दाबी गरिएको करिब २०० मिटर लामो सुरुङमा आक्रमण गरेको जनाएको छ । उक्त सुरुङमा ठूलो परिमाणमा हतियार रहेको इजरायलको दाबी छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले उक्त आक्रमणअघि अमेरिकालाई जानकारी गराइएको बताएका छन् । उता इरानले भने व्यापक युद्धविराम कायम रहन लेबनानमा जारी सैन्य गतिविधि पनि तत्काल रोक्नुपर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्