
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर १०० रुपैयाँले कटौती गरेको छ ।
निगमको निर्णयअनुसार अब उपभोक्ताले १४.२ किलोको ग्यास सिलिन्डरका लागि २ हजार ६० रुपैयाँ मात्र तिर्नुपर्नेछ । यसअघि यसको मूल्य २ हजार १६० रुपैयाँ रहेको थियो ।
त्यसैगरी, ७.१ किलोको सानो सिलिन्डरको मूल्य पनि घटेर १ हजार ३० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची बमोजिम निगमले यो सहुलियत प्रदान गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । घटेको मूल्य आजै मध्यरातिदेखि लागू हुनेछ ।