१२ साउन २०८३, मंगलबार
‘डलर ग्याङ’को डरलाग्दो धन्दा

कागजको खोस्टो थमाएर लुट्ने ‘डलर ग्याङ’: सटहीको बहानामा लाखौं झ्वाम !

साउन ११, २०८३
काठमाडौं

अमेरिकी डलर सस्तोमा साटिदिने प्रलोभन देखाएर सर्वसाधारणबाट झण्डै ७८ लाख रूपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेकामध्ये एक जनाविरुद्ध यसअघि नै डलर ठगीका ६ वटा मुद्दा दर्ता भएको तथा अर्का एक जना बैंकिङ कसुरको मुद्दामा फरार रहेको तथ्य पनि खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईका अनुसार डलर साटिदिने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर रकम लुटपाट गर्ने समूहको खोजी गर्ने क्रममा यही साउन ९ गते काठमाडौं महानगरपालिका–११ कपन प्रगति टोलबाट सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ घर भएका धनबहादुर तामाङ, लोकबहादुर तामाङ, राजकुमार लामा र विजय तामाङलाई पक्राउ गरिएको हो । उनीहरू काठमाडौंको बूढानीलकण्ठ, चुनिखेल र कपन क्षेत्रमा बस्दै आएका थिए ।

प्रहरीले उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट नगद तीन लाख ८४ हजार रूपैयाँ, ५० अमेरिकी डलरको एउटा नोट, सुनजस्तो देखिने बेरुवा औँठी, ब्रासलेट, एक जोर रिङ तथा तिलहरी बरामद गरिएको प्रहरीले जनाएको छ ।

एसपी भट्टराईका अनुसार धनबहादुर तामाङविरुद्ध यसअघि नै विभिन्न प्रहरी कार्यालयमा डलर ठगी सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको अभिलेख छ ।

प्रहरीको अपराध अभिलेख प्रणाली (सीआरएस) अनुसार उनीविरुद्ध २०७९ सालमा प्रहरी वृत्त महाराजगञ्जमा दुई वटा, प्रहरी वृत्त बौद्धमा दुई वटा, २०८२ भदौ ५ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा र २०८२ मंसिर २७ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा डलर ठगी सम्बन्धी मुद्दा दर्ता भएका छन् ।

लोकबहादुर तामाङविरुद्ध पनि २०६५ मंसिर १५ गते प्रहरी वृत्त ठिमीबाट खोटा चलन, २०७६ असार ६ गते प्रहरी वृत्त कालिमाटीबाट अभद्र व्यवहार, २०७८ साउन ३२ गते प्रहरी वृत्त गौशालाबाट डलर ठगी तथा २०७९ पुस ३ गते जिल्ला प्रहरी परिसर काठमाडौंबाट बैंकिङ कसुरको मुद्दा चलेको सीआरएसमा उल्लेख छ । बैंकिङ कसुरको मुद्दामा उनी फरार रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा सार्वजनिक भएका विवरणअनुसार यो गिरोहले २०८२ पुसदेखि २०८३ साउनसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कम्तीमा नौ जनालाई डलर साटिदिने बहानामा ठगी गरेको देखिएको छ ।

सबैभन्दा पहिलो घटना २०८२ पुस २५ गते काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा भएको थियो । उक्त घटनामा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का मिङमार दोर्जे तामाङबाट ६ लाख रूपैयाँ ठगी भएको प्रहरीले जनाएको छ ।

त्यसपछि २०८२ माघ ७ गते शंखरापुर नगरपालिका–६ साँखुमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ का दिनेश घले र विपिन जोशीबाट १० लाख रूपैयाँ ठगी भएको विवरण सार्वजनिक गरिएको छ ।

२०८२ चैत १२ गते तारकेश्वर नगरपालिका–१ जगत बसपार्कमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० का नरेन्द्र थापाबाट १३ लाख रूपैयाँ ठगी भएको प्रहरीले जनाएको छ । डलर भएको भन्दै एउटा मात्रै वास्तविक डलर र बाँकी कागजको खोस्टा भएको पोको दिएर रकम लिएर गिरोह फरार भएको अनुसन्धानमा खुलेको छ ।

चैत १८ गते शंखरापुर नगरपालिका–९ इन्द्रायणीमा मोरङको विराटनगर महानगरपालिका–१४ का मुकेशकुमार यादवबाट ५ लाख रूपैयाँ ठगी भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

यस्तै, २०८३ वैशाख ३० गते शंखरापुर नगरपालिका–४ फेदी पुलमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ का कवाङ लामाबाट १७ लाख रूपैयाँ ठगी भएको उल्लेख छ । यो सार्वजनिक भएका घटनामध्ये सबैभन्दा ठूलो रकम ठगी भएको घटना हो ।

त्यसपछि जेठ ५ गते कागेश्वरी मनोहरा नगरपालिका–४ थली पल्टिङमा दोलखाको शैलुङ गाउँपालिका–७ का सकुन बुढाथोकीबाट ४ लाख रूपैयाँ, असार ३ गते बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल खोलामा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ का राजिन धितालबाट ५ लाख रूपैयाँ तथा असार १७ गते बूढानीलकण्ठ नगरपालिकाको तारेभिर जाने बाटोमा काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङका मनोज नेपालीबाट ४ लाख ५० हजार रूपैयाँ ठगी भएको प्रहरीले जनाएको छ ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा पछिल्लो घटना २०८३ साउन ५ गते कागेश्वरी मनोहरा नगरपालिका–८ लभडाँडामा भएको थियो । उक्त घटनामा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्दै आएका कमल राईबाट १३ लाख ५० हजार रूपैयाँ ठगी भएको प्रहरीले जनाएको छ।

‘यो गिरोहले सस्तोमा डलर साटिदिने भन्दै सर्वसाधरणलाई लोभमा पार्ने र एकान्तमा पुर्‍याएपछि नेपाली पैसा लिएर डलर लेउ घर गएर मात्रै पोको खोल्नु भनेर पैसा लिएर भाग्थे,’ एसपी भट्टराईले भने,‘डलर भनेर पीडित घर पुगेर पोको खोल्दा कागजको खोष्टा मात्रै देखेपछि मात्रै आफू ठगिएको थाहा पाउँथे ।’ 

प्रहरीका अनुसार सार्वजनिक भएका यी नौ घटनामा मात्रै झण्डै ७८ लाख रूपैयाँ ठगी भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।

भिडियो सामग्री :

 

 

salt training

कमेन्ट गर्नुहोस्