
जनकपुरधाम, ८ चैत- जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परीक्षामा भइरहेको अनियमितताबारे लोकान्तरले श्रृंखलाबद्धरूपमा समाचार प्रकाशन गरेपछि त्रिविको केन्द्रीय टोली जनकपुर आइपुगेको छ ।
त्रिविका परीक्षा उपनियन्त्रक अखिलेशकुमार सिंह नेतृत्वको टोली स्नातकोत्तर तह दोस्रो वर्षको बिहीबारको परीक्षा शुरू हुनुअगावै क्याम्पसमा आइपुगेको थियो । केन्द्रबाटै टोली आएपछि बिहीबारको परीक्षामा निकै कडाइ गरिएको छ ।
विद्यार्थीहरूलाई परीक्षा हलमा प्रवेश गराउनुअगावै चिट, गेसपेपर, गाइड तथा टीयू सोलुसनहरू निकालिएको छ भने मोबाइल पनि परीक्षा हलमा लैजान दिइएको छैन । चिट र मोबाइल थुतेपछि परीक्षार्थीले नाराबाजी गरेका छन् । आफूहरूले पढ्न नपाएकाले चिट चोर्न पाउनुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका हुन् ।
नाराबाजीका बीच परीक्षा शुरू भएको छ । सुरक्षाका लागि थप सुरक्षाकर्मी मगाइएको छ ।
पर्यवेक्षक विनोदलाल कर्णले आफूहरूले निकै कडाइका साथ बिहीबारको परीक्षा सञ्चालन गरिरहेको जानकारी दिए । परीक्षार्थीहरूसँग रहेका चिट तथा सबैखाले पुस्तकहरू प्रवेशद्वारमै निकालिएको र मोबाइल पनि परीक्षा हलमा लान नदिइएको उनले बताए ।
यस्तै त्रिविका परीक्षा सहनियन्त्रक सिंहले पनि राराबको परीक्षामा भइरहेको अनियमितता बारे थाहा पाएपछि त्रिवि परीक्षा बोर्डले आफूलाई खटाएको बताए ।
‘म आफू पनि राराबकै प्रोडक्ट हो, यहाँ भइरहेको अनियमितता नियन्त्रण गर्न क्याम्पसको साख पुरानै अवस्थामा फर्काउन म स्वयम् आएको छु,’ उपनियन्त्रक सिंहले लोकान्तरसँग भने । राराब मात्रै नभएर जनकपुरका सबै परीक्षा केन्द्रमा भइरहेको अनियमितता नियन्त्रण गर्ने उनको अठोट छ ।
यसैबीच त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले फोन गरेर लोकान्तरलाई धन्यवाद दिएका छन् । 'त्रिविका लागि यो धब्बाको रूपमा रहेको थियो, तपाईंहरूको सहयोगले आज हामीले नियन्त्रण गर्न सफल भएका छौं,' जोशीले भने ।
यसबारे सामाजिक सञ्जालमा पनि चर्चा भएको थियो । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मण घिमिरेले सामाजिक सञ्जाल फेसबूकबाटै यसरी प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका थिए ।

हेर्नुहोस्, राराबमा भइरहेको अनियमितता बारे लोकान्तरमा प्रकाशित समाचार :
त्रिविको परीक्षामा मनलाग्दी : चिट थुत्नेलाई कुटपिट, शिक्षक कुट्नेलाई जागिर ! [भाग ३]
त्रिविको परीक्षामा मनलाग्दी : १० हजार तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने [भाग २]
नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् [भाग १]