गौतम बुद्धको सन्देशबाटै नेपालको पहिचान विश्वका धेरै मुलुकमा पुगेको विज्ञहरूले बताएका छन् । भारतवर्षमा रहेकै समयमा विस्तार भएको बौद्ध धर्मले नेपाललको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ छ ।
बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देश कैयौं शताब्दी पूर्व नै छिमेकी चीनसहितका मुलुकमा विस्तार भएको विज्ञहरूले दाबी गरेका छन् । लुम्बिनीमा जारी बौद्ध कला, संस्कृति एवं साहित्य महोत्सवमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरूले बुद्धको शान्ति सन्देशले नेपालको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरे ।
सो अवसरमा बोल्दै पूर्वशिक्षामन्त्री एवं साहित्यकार मोदनाथ प्रश्रितले बुद्ध शिक्षाले शान्ति सन्देश प्रवाहमात्रै नभई समुन्नत समाज निर्माणको दिशानिर्देश गरेको बताए । बौद्धकालीन समयमा रहेको जातीय विभेदको कटुआलोचक बुद्धका उपदेशबाटै विश्वलाई विभेदबाट मुक्त गर्न सकिने उनले बताए ।
‘बुद्धले अछुत जातकी चन्डालिकाले बोकेको पानी पिएर त्यसबारेमा उपदेश दिनुभएको थियो, समाज सुधारको त्यो निकै क्रान्तिकारी काम हो, अहिले त्यो सन्देशलाई अनुशरण गर्न आवश्यक छ,' उनले भने ।
प्राज्ञ गोपिरमण उपाध्यायले बौद्ध दर्शन र त्यसको विस्तारका विषयमा कार्यपत्र प्रस्तुत गर्दै कैयन धर्मअनुयायीहरूले विश्वका कुनाकुनामा बौद्ध दर्शनको विस्तार गरेको बताए । चिनिया बौद्ध यात्रीदेखि भारतीय, श्रीलंकन, नेपाली भिक्षुहरूले बौद्ध दर्शनको विस्तार र खोज अन्वेषण्मा महत्वपूर्ण काम गरेको उनले बताए ।
बौद्ध दर्शनलाई सरलीकृत गर्ने राहुल सास्कृत्यानदेखि अहिलेको पुस्तासम्मले अध्ययन र अनुसनधान गरिरहेको बताए । ‘दर्शनलाई सामाजसंग जोडेर विश्वलेषण र अनुसन्धान भइरहेको छ, यसले बौद्ध दर्शनको विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँछ,' उनले भने ।
चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्कीले नेपाललाई विश्वमा चिनाउन धर्म नै पहिलो अस्त्र भएको बताए । ‘चीनको पुरानो राजधानी सियानमा बौद्ध धर्मको विस्तारसँगै नेपालको विषयमा चिनियाँ शासकले थाहा पाएका थिए,' उनले भने, ‘नेपालको सबैभन्दा पहिलो कूटनीति भनेकै बौद्ध धर्म थियो ।’ भृकुटी जस्ता नेपालीका कारण चीनसँगको कूटनीतिमा नेपालको सहयोग भएको उनले बताए ।
उनले आर्थिक कूटनीतिको आधार नै संस्कृति भएको बताए । 'संस्कृतिको उपज नै आर्थिक कूटनीति हो,' उनले भने, ‘जति सेल (बिक्री) गर्न सक्यो, त्यति फाइदा हुन्छ ।’ चीनमा बौद्ध धर्मको विस्तारमा पाँचौं शताब्दीमा ह्वेसाङ र सातौं शताब्दीमा फाहीयान आउनाले सहज भएको उनले बताए ।
अर्का पूर्वराजदूत खगनाथ अधिकारीले नेपालको पर्यटनको प्रमुख आधार भनेको बौद्ध धर्म भएको बताए । धर्मकै माध्यमले विश्वमा मुलुकले कूटनीति सम्बन्ध राख्न सक्ने भन्दै धर्म र कूटनीति एकअर्काका पर्याय भएको उनले बताए । उनले बौद्ध धर्मको कूटनीतिबाटै पर्यटनमा टेवा पुर्याउन सकिने बताए ।
‘थाइल्याण्डका कैयौं नागरिकहरू सिधै नेपाल घुम्न आउन चाहान्छन् तर स्तरीय सेवासहितको हवाई पहुँच छैन, जसकारण भारत हुँदै नेपाल आउनु पर्यटकको बाध्यता हो,' उनले भने,‘बौद्ध पर्यटक नेपाल भित्र्याउन भैरहवा नै आउन सक्ने गरी हवाई रूट तय गर्नुपर्छ ।’ उनले स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकको सन्दर्भमा सीमाको अध्यागमनमा कडाई हुनुपर्ने बताए ।
वरिष्ठ पत्रकार डा. कुन्दन अर्यालले शान्तिवादी सञ्चारका लागि बुद्धका सन्देश महत्वपूर्ण रहेको बताए । अहिंसावादी सन्देशको उद्गम थलो नेपाल भएकाले त्यसको प्रर्वद्धनमा काम गर्नुपर्ने उनको भनाइ छ ।
पत्रकारितामा समेत अहिंसावादी विचारहरू प्रकट गर्नका लागि बौद्ध दर्शनको प्रभाव हुनुपर्ने उनले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा त्रिरत्न मानन्धरले बौद्ध दर्शन र विश्व शान्तिको विषयमा कार्यपत्र प्रस्तुत गर्दै शान्ति सिद्धान्तलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान प्रमुख प्रा.डा. गितु गिरीले प्रदेश ५ का पर्यटन उद्योगको सम्भावना केलाइन् ।
पुरातत्वविद् कोषप्रसाद आचार्यले तिलौराकोट उत्खनन् र भविष्यका चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरे । अर्का पुरातत्वविद् बसन्त बिडारीले प्राचीन तक्षशिला विश्वविद्यालयको महत्वको विषयमा कर्यपत्र प्रस्तुत गरे । प्याब्सनका दामोदर भुसालले मूल्यमा आधारित आजको शिक्षा विषयमा कार्यपत्र प्रस्तुत गरे ।