
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा ५ नम्बर प्रदेशमा झण्डै ८२ हजार विद्यार्थी सहभागी हुँदैछन् ।
प्रदेशका १२ जिल्लाका ३२१ परीक्षा केन्द्रमा ८१ हजार ४०१ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा आगामी चैत ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुँदैछ ।
परीक्षार्थीमध्ये प्राविधिकमा २ हजार १३१, साधारणमा ७६ हजार ७४९ र ग्रेड वृद्धिका २ हजार ६५२ जना छन् । २०७५ सालदेखि प्रश्नपत्रको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डबाट र अन्य व्यवस्थापन प्रदेश सरकारबाट हुँदै आएको छ ।
सामाजिक विकास मन्त्रालयले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । जिल्लागत रुपमा सबैभन्दा धेरै रूपन्देहीका विद्यार्थी छन् । रुपन्देहीबाट १७ हजार ४३०, नवलपरासी पश्चिमबाट ६ हजार १०४, पाल्पाबाट ५ हजार ६४, गुल्मीबाट ४ हजार ७०३, अर्घाखाँचीबाट ३ हजार ४२७, कपिलवस्तुबाट ७ हजार ४७४, रोल्पाबाट ३ हजार ५१८, प्यूठानबाट ४ हजार १५५, दाङबाट १२ हजार ८२३, बाँकेबाट ८ हजार ५४१, बर्दियाबाट ७ हजार ८८ र रुकुमपूर्वबाट १ हजार ७४ विद्यार्थी रहेका छन् ।
परीक्षामा छात्र ३९ हजार ७३३ र छात्रा ४२ हजार ६६५ जना रहेका छन् । ६ जना अन्य विद्यार्थी पनि छन् । परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रुपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन गरिएको छ ।
जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईबाट प्राप्त केन्द्रगत परीक्षार्थी विवरण सबै केन्द्रसम्म पुर्याइएको मन्त्री सुदर्शन बरालले जानकारी दिए ।
गुणस्तरीय शिक्षाको दृष्टिकोणले प्रदेश ५ उत्कृष्ट शैक्षिक ‘हब’को रुपमा चिनिन्छ । २०६८ सालको जनगणना अनुसार प्रदेशको साक्षरता प्रतिशत ६६.४ प्रतिशत छ । जसमध्ये पुरुषको ७५ र महिलाको ५८ प्रतिशत छ ।
५ नम्बर प्रदेशको शैक्षिक तथ्यांक अनुसार भर्नादर प्राथामिक तहको ९७, निमाविको ८४, माविको ६१ र ११/१२ को १९ प्रतिशत छ ।