२७ असार २०८३, शनिबार

अपडेट : पहिलो हाफमा स्पेनको अग्रता

असार १९, २०८३
काठमाडौं
अपडेट : पहिलो हाफमा स्पेनको अग्रता

 फिफा विश्वकपको 'राउन्ड अफ ३२' अन्तर्गत शुक्रबार बिहान जारी खेलको पहिलो हाफमा स्पेनले अस्ट्रियाविरुद्ध १–० को अग्रता बनाएको छ।

लस एन्जलस स्टेडियममा जारी खेलमा स्पेनका लागि मिकेल ओयार्जाबालले निर्णायक गोल गरेका हुन् । खेलको ३६ औं मिनेटमा मार्क कुकुरेलाले बायाँतर्फबाट दिएको सटिक 'लो–क्रस'लाई सदुपयोग गर्दै ओयार्जाबालले बललाई जाली चुमाएका थिए । स्पेनका लागि पछिल्ला १६ खेलमा ओयार्जाबालको यो १६ औं गोल हो।

खेलको सुरुदेखि नै स्पेनले अस्ट्रियामाथि दबाब कायम राखेको थियो। खेलको २९ औं मिनेटमा मार्क कुकुरेलाले गोल गरे पनि रेफ्री ग्लेन नाइबर्गले त्यसलाई मान्यता दिएनन्। अस्ट्रियाका गोलकिपर अलेक्जेन्डर स्लागरमाथि स्पेनिस खेलाडीले फाउल गरेको भन्दै भिडियो असिस्टेन्ट रेफ्रीको समन्वयमा उक्त गोल रद्द गरिएको हो ।

उसो त अस्ट्रियाका गोलकिपर स्लागरले पहिलो हाफमा केही उत्कृष्ट बचाउ गर्दै खेललाई थप फराकिलो हुनबाट रोके । पहिलो हाफको इन्जुरी समयमा एलेक्स बाएनाको ३० यार्ड टाढाको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो। सोही रिबाउन्ड बलमा लामिन यमलले प्रहार गरेको प्रहारलाई स्लागरले  बचाएका थिए।

यद्यपि पहिलो हाफमा स्पेन पूर्ण रूपमा हाबी देखियो। यदि स्पेनले यो अग्रता कायम राख्न सकेमा सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट खेल जित्नेछ। 

कमेन्ट गर्नुहोस्