२९ असार २०८३, सोमबार

यस्तो छ चलचित्र ‘गौँथली’

असार २७, २०८३
काठमाडौं
यस्तो छ चलचित्र ‘गौँथली’

 डा. भोला रिजालले झन्डै २५ वर्षअघि गीतिकथानक चलचित्र ‘गौँथली’ निर्माण गरेर प्रदर्शन गरेका थिए । चिकित्सकसँगै साहित्यकार रहेका डा. रिजालले उक्त चलचित्रको कथा आफ्नी श्रीमती सरला रिजालको जीवनीबाट प्रभावित भएर तयार गरेका थिए ।

सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी सरला रिजालको पढ्ने चाहना रोकियो । श्रीमान्को घरमा हेरचाह गर्दै, श्रीमती र बुहारीको दायित्व निर्वाह गर्दा उनले अध्ययनलाई निरन्तरता दिन पाएनन् ।

यही कथालाई डा. रिजालले गीतिकथानक चलचित्रका रूपमा तयार गरेका थिए, जहाँ संवाद थिएनन्, तर भावना व्यक्त गरिएका थिए । सोही कथालाई संवादको स्वरूप दिएर डा. रिजालकै छोरा डा. कपिल रिजालले सोही शीर्षक र कथामा चलचित्र ‘गौँथली’ तयार गरेका छन् ।

आगामी साउन १ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘गौँथली’मा एसएलसीसम्म पढ्ने इच्छा बोकेकी बालिकाको सानै उमेरमा विवाह भएपछिको कथालाई देखाइएको छ । सानो उमेर, नयाँ परिवार र ठाउँ तथा आफ्नो पढ्ने चाहनालाई ‘गौँथली’ नामक पात्रले कसरी पूरा गर्छिन् वा उनको सपना पूरा हुँदैन ? यही जिज्ञासा चलचित्र ‘गौँथली’मा छ ।

चलचित्रका निर्देशक डा. कपिल रिजालले  काठमाडौँमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै चलचित्रको कथाले मनोरञ्जनसँगै सामाजिक विषयलाई उजागर गरेको बताए।

उनले भने, “अहिले पनि गौँथली छन्, केवल भन्न सकेका छैनन् वा बाहिर आएका छैनन् । मैले यो कथालाई निकै नजिकबाट महसुस गरेको छु, किनकि बुवा (डा. भोला रिजाल) आज जुन स्थानमा हुनुहुन्छ, त्यहाँ पुग्न मेरी आमा (सरला रिजाल) ले धेरै त्याग गरेकी छन् । बाल्यकालमा विवाह भएर आएपछि बुवा आफ्नो अध्ययनको सिलसिलामा बाहिर बस्थे, त्यो समयमा घरसँगै हाम्रो दायित्व पनि आमाले निर्वाह गरेकी हुन् । त्यही भावनालाई चलचित्रको स्वरूप दिएर तयार गरेका छौँ ।”

बेलायतमा दन्त चिकित्सक रहेका डा. रिजाल पछिल्लो समय चलचित्रको काममै निरन्तर छन् । सानैदेखि कलाकै माहोलमा हुर्किएका कारण चलचित्रप्रति लगाव बढेको हुनसक्ने निर्देशक डा. रिजालले बताए।

“मैले पहिलादेखि नै सांगीतिक श्रव्यदृश्य, छोटा चलचित्र बनाउने गर्थें । यसमा मेरो रुचि बढ्नुका साथै रहर पनि थियो । अहिले समय सही आएकोजस्तो लागेर मैले चलचित्र निर्देशन गरिरहेको छु । मैले निर्देशन गरिरहेका चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिएका छन्”, उनले भने।

उनले निर्देशन गरेका दुवै चलचित्र ‘ह्यारीकी प्यारी’ र ‘गौँथली’मा स्वास्थ्यसँग सम्बन्धित विषय जोडिएको छ । ‘ह्यारीकी प्यारी’मा ‘स्पर्म डोनेशन’ (वीर्य दान) को विषयवस्तु प्रस्तुत गरेका निर्देशक डा. रिजालले ‘गौँथली’मा ‘अटिजम’ भएको व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरेका छन् ।

“म चिकित्सक भएकाले पनि ती विषयहरू मेरो सोचमा आउने गरेको हुनसक्छ । सोही कारण मैले निर्देशन गरेका चलचित्रमा कथा तयार गर्दा स्वास्थ्य पनि जोडिन्छ । यसले आम दर्शकलाई ती स्वास्थ्य समस्यासँग परिचित गराउनुका साथै त्यस्ता समस्या भएमा के गर्ने भन्नेबारे सूक्ष्म तरिकाले जानकारी दिइरहेको हुन्छ”, उनले भने।

ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रमा ‘अटिजम’ भएका युवकको भूमिकामा अभिनेता अरुण क्षेत्री र एसएलसी पास गर्ने सपना बोकेकी बालिकाको भूमिकामा अभिनेत्री सिम्रन खड्का देखिएका छन् । अभिनेता क्षेत्रीलाई चलचित्रमा काम गर्ने प्रस्ताव आउँदा ‘अटिजम’ भएका युवाको भूमिका कसरी निर्वाह गर्ने भन्ने चुनौती थियो, किनकि उनले त्यसबारे राम्रोसँग बुझेका थिएनन् ।

“मलाई चलचित्रमा काम गर्ने प्रस्ताव आउँदा ‘अटिजम’बारे मेरो बुझाइ फरक रहेछ । मैले विस्तारै बुझ्न थालेँ । ती फरक क्षमता भएकासँग समय बिताएँ । उनीहरूको मानसिकता र फरक क्षमतालाई बुझ्ने कोसिस गरेँ । मैले चलचित्रमा निर्वाह गरेको पात्रलाई ‘माइल्ड अटिजम’ भएको छ, जसलाई मेडिकल भाषामा ‘लेभल १ अटिजम’ पनि भनिन्छ । उसको बुझाइ र मनोविज्ञानलाई मेरो पात्रमार्फत प्रस्तुत गर्ने कोसिस गरेको छु”, अभिनेता क्षेत्रीले भने।

उनले ‘अटिजम’ भएका व्यक्तिलाई समाजमा धेरैमा रहेको बुझाइ गलत भएकाले त्यसबारे चलचित्रले सचेतना फैलाउने बताए । उनका अनुसार फरक क्षमता भएका व्यक्तिलाई बुझ्न उसको भावना बुझ्नुपर्छ । ती व्यक्तिलाई कुनै औषधिले नभई मानवीयताले निको बनाउँछ ।

“हामीले फरक क्षमता भएकालाई बुझ्ने हो भने ती जस्ता क्षमतावान वा असल व्यक्ति अरू हुँदैनन् । तर हामीले ‘अटिजम’ भएको छ भनेपछि बुझ्ने बुझाइ नै गलत छ । त्यो पक्षलाई चिर्न चलचित्रले मद्दत गर्छ”, उनले भने।

उक्त चलचित्रकी अभिनेत्री सिम्रन खड्काले आफूले निर्वाह गरेको पात्रका बारेमा सोच्दा पनि असहजता महसुस हुने बताइन्।

“म वा मेरो पुस्ताले गौँथलीले भोग्नुपरेको कठिनाइ र गर्नुपरेको सङ्घर्ष सुन्दा पनि असहजता महसुस गर्छौँ । यस्तो पनि थियो र छ भन्ने सुन्दा नै कठिनाइ हुन्छ । भनिन्छ चलचित्रको माध्यम अन्यभन्दा सशक्त छ, त्यसैले यसले मनोरञ्जनसँगै सामाजिक सन्देश दिन्छ”, उनले भनिन्।

यस चलचित्रका निर्माता सुमन गिरीले चलचित्र निर्माणको सुरुआत ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ जस्ता चलचित्रमा काम गरेर गरेका थिए । निर्माण र चलचित्र प्रोडक्सनमा जोडिएका निर्माता गिरीले सामाजिक दायित्व बुझेर चलचित्र ‘गौँथली’ निर्माण गरेको बताए।

“हामीले हास्यप्रधान वा अन्य मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न सक्थ्यौँ । तर हामीले सामाजिक विषयलाई दर्शकसम्म ल्याएका छौँ । किनकि यसले मनोरञ्जनसँगै केही सिकाउँछ । चलचित्र भवनमा चलचित्र हेर्न आएका दर्शकसँगै परिवार र समाजमा बहसको विषय बनेर चलचित्र पुग्छ । त्यसैले हामीले ‘गौँथली’लाई पुनः दर्शकमाझ संवाद राखेर ल्याएका छौँ”, उनले भने।

उक्त चलचित्रमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताए । चलचित्र आगामी साउन १ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्