
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका घर तथा पूर्वाधारमा ठूलो क्षति पुगेको छ।
बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दिलीप गुरुङको घर र होटल पूर्ण रूपमा बगाएको छ भने स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ।
बाढीका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै, किम्रुङ खोलामाथिको झोलुङ्गे पुल पनि बगाउँदा अन्नपूर्ण पदमार्ग हुँदै आवतजावत गर्ने स्थानीय तथा स्वदेशी–विदेशी पर्यटक प्रभावित भएका छन्।
स्थानीयका अनुसार माथिल्लो क्षेत्रमा पहिरोले नदी थुनिएपछि एक्कासी खुलेर बाढी आएको अनुमान गरिएको छ। प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
घटनापछि स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को टोली घटनास्थल पुगेर क्षतिको विवरण संकलन तथा उद्धार–व्यवस्थापनमा जुटेको छ।