२८ असार २०८३, आइतबार

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

असार २७, २०८३
खोटाङ
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् ।

घरायसी विवादका क्रममा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् । तीलकबहादुरलाई घटनालगत्तै पक्राउ गरिएको थियो भने श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक निराजन बस्नेतले बताए।

अधिकारीको मृत्यु भएपछि तीलकबहादुर आफैँले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनकी श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए । मुख्य आरोपित तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका आरोपीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको सूचना अधिकारी बस्नेतले बताए । अधिकारीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको तथा मृतक अधिकारी सार्कीको घरमा पुगेको अवस्थामा विवाद हुँदा सार्कीले खुकुरी प्रहार गरेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्