
नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडित सुकुम्बासीको अवस्था बुझ्न पुगेका युवामाथि प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको घटनाको आलोचना गरेका छन्।
शनिबार फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै थापाले बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत युवामाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको बताएका छन्।
उनले राज्य करुणाविहीन मात्र नभई असहिष्णु बनेको टिप्पणी गर्दै लोकतन्त्रमा प्रश्न सोध्नु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गरेका छन्।
थापाले नागरिकको प्रश्नको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन नसक्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, 'फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!'
उनले आलोचनालाई दमन गरेर नभई संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व भएको समेत उल्लेख गरेका छन् । उनले पक्राउ परेका सम्पूर्ण युवालाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।