
नेपाली समयअनुसार आइतबार बिहान पौने ३ बजे हुने तय भएको विश्वकपको क्वार्टरफाइनलमा इङ्गल्याण्ड र नर्वेबिचको प्रतिस्पर्धाले विश्व फुटबलप्रेमीको ध्यान खिचेको छ ।
इङ्गल्याण्ड स्टार खेलाडीहरूले भरिएको टोली हो भने नर्वे आफ्नो मुख्य स्टारलाई केन्द्रमा राखेर सामूहिक खेल प्रदर्शन गर्ने टिमका रूपमा परिचित छ । इङ्गल्याण्डले विगतमा एक पटक विश्वकपको उपाधि जितिसकेको भएपनि नर्वेले अहिलेसम्म त्यो सफलता हासिल गर्न सकेको छैन ।
तर, यस खेलको सबैभन्दा ठूलो आकर्षण भने दुई टोलीका मुख्य स्ट्राइकर ह्यारी केन र अर्लिङ हालान्डबीचको प्रतिस्पर्धा रहेको छ । विश्व फुटबलका उत्कृष्ट ‘नम्बर ९’ मानिने यी दुई खेलाडी एउटै पोजिसनमा खेल्ने भए पनि उनीहरूको शैली भने निकै फरक छ ।
हालान्ड डि-बक्सभित्र अवसर सिर्जना हुनेबित्तिकै गोल गर्न माहिर मानिन्छन् । उनी खेलभर धेरै पटक बल नछोए पनि निर्णायक क्षणमा घातक सावित हुन्छन् । अर्कोतर्फ, केन केवल गोलकर्ता मात्र होइनन्, उनी खेल निर्माणमा पनि उत्तिकै प्रभावशाली छन् । आवश्यक पर्दा उनी ‘नम्बर १०’ को भूमिकामा झरेर पास वितरण गर्दै आक्रमण निर्माण गर्न सक्छन् ।
व्यक्तित्वका हिसाबले पनि यी दुई फरक देखिन्छन् । केन शान्त र संयमित स्वभावका छन् भने हालान्ड आक्रामक र ऊर्जावान खेलाडीका रूपमा चिनिन्छन् । हालान्ड केनभन्दा करिब १० वर्ष कान्छा हुनु र अब प्रश्न उठ्छ—यी दुईमध्ये उत्कृष्ट स्ट्राइकर को हुन्?
फिनिसिङमा ह्यारी केन
यो विधामा छनोट सहज छैन । हालान्डको प्रमुख विशेषता नै डि-बक्सभित्रको उत्कृष्ट फिनिसिङ हो र उनी त्यसमा विश्वस्तरीय खेलाडी हुन् । तर केनको खेल अझ बहुआयामिक छ । उनी दुवै खुट्टाबाट प्रभावकारी प्रहार गर्न सक्छन्, हावाबाट आउने बललाई राम्रोसँग सदुपयोग गर्छन् र टाढाबाट पनि सटिक प्रहार गर्न सक्षम छन् । हालान्डमा गोल गर्ने तीव्र भोक देखिए पनि विविध शैलीमा गोल गर्ने क्षमताका आधारमा केनलाई केही अगाडि राख्न सकिन्छ ।
हेडिङमा अर्लिङ हालान्ड
६ फिट ५ इन्च अग्ला हालान्डको शारीरिक बनावट, जम्पिङ क्षमता र सही समयमा सही स्थानमा पुग्ने सीपले उनलाई हेडिङमा निकै प्रभावशाली बनाएको छ । म्यानचेस्टर सिटीबाट खेलेयता उनले इङ्गल्याण्डमा सबैभन्दा धेरै हेडिङ गोल गरेका छन् । केन पनि हावामा बल खेल्न सक्षम भए पनि यस विधामा हालान्ड स्पष्ट रूपमा बलिया देखिन्छन् ।
गतिमा अर्लिङ हालान्ड
गति ह्यारी केनको सबैभन्दा बलियो पक्ष होइन । उनी खेल बुझाइ र पोजिसनिङमा उत्कृष्ट भए पनि तीव्र गतिमा हालान्डसँग तुलना गर्न सकिँदैन ।
हालान्ड भने विश्व फुटबलकै तीव्र गतिका खेलाडीमध्ये एक हुन् । सन् २०२५ मा उनले च्याम्पियन्स लिगमा प्रतिघण्टा २२.९ माइलको गतिमा दौडेर नयाँ कीर्तिमान बनाएका थिए । जुन किलियन एमबाप्पेको दर्ता गरिएको गतिभन्दा पनि बढी थियो ।
मुभमेन्टमा अर्लिङ हालान्ड
यति अग्लो र बलियो खेलाडी भएर पनि मैदानमा हालान्डले आफूलाई धेरैजसो समय सामान्य र शान्त देखाउँछन् । तर उनको वास्तविक विशेषता बल नभएको अवस्थामा देखिने चलायमान खेलमा छ । उनी बिस्तारै सही स्थानतर्फ सर्छन् र सही समयमा तीव्र गतिमा दौडिन्छन् । जबसम्म रक्षकले उनको दौडलाई बुझ्छ, तबसम्म धेरै ढिलो भइसकेको हुन्छ ।
सायद यसमा ह्यारी केनलाई पछि पारिएको जस्तो देखिन सक्छ । तर वास्तवमा उनीहरू दुवैले फरक भूमिकामा खेल्छन् । केन खेलभर बल आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । हालान्ड भने बलबिनै खेललाई प्रभाव पार्न सक्षम छन् । उनी हरेक १३ पटक बल छोएमा औसतमा एक गोल गर्ने खेलाडी हुन्, जसले बलबिनाको चलायमान खेलमा उनको असाधारण क्षमता देखाउँछ ।
समग्र खेलमा ह्यारी केन
पूर्व खेलाडी रोय किनले एकपटक अर्लिङ हालान्डलाई ‘लिग टु स्तरका खेलाडी’ भनेका थिए । त्यो टिप्पणी म्यानचेस्टर सिटीको कमजोर प्रदर्शनपछि गरिएको थियो र त्यसले निकै चर्चा पायो । यद्यपि, वास्तविकता भने फरक छ । हालान्डको खुट्टाको खेल पनि राम्रो छ, तर उनको भूमिका नै बल धेरै चलाउने होइन ।
केन भने स्वभावतः ‘नम्बर १०’ को भूमिका निभाउन सक्ने स्ट्राइकर हुन् । अझ गतिशील स्ट्राइकरको पछाडि उनलाई खेलाउन पाए उनको क्षमता अझ राम्रोसँग उपयोग हुन सक्थ्यो । अहिले उनी ‘नम्बर ९’ खेले पनि बारम्बार पछाडि झरेर खेल निर्माणमा सहभागी हुन्छन् । कहिलेकाहीँ उनी धेरै पछाडि झर्दा इङ्गल्याण्डको आक्रमण कमजोर देखिन्छ, तर टोलीका लागि आवश्यक पर्दा रक्षात्मक जिम्मेवारीसमेत निर्वाह गर्ने उनको क्षमता उल्लेखनीय छ ।
नेतृत्व क्षमतामा ह्यारी केन
नेतृत्वको विषयमा भने ह्यारी केन स्पष्ट रूपमा अगाडि देखिन्छन् । उनले इङ्गल्याण्डको कप्तानी करिब १०० खेलमा गरिसकेका छन् । टोटेनहममा पनि उनी उपकप्तान थिए । उनले वेन रुनी र डेभिड बेकह्यामजस्ता पूर्व कप्तानबाट धेरै कुरा सिकेको बताउने गरेका छन् । हालै त उनलाई ‘नाइटहुड’ सम्मान दिनुपर्ने प्रस्तावसमेत बेलायतमा उठाइएको थियो ।
केनले मैदानभित्र टोलीलाई एकताबद्ध राख्ने, खेलाडीहरूलाई प्रेरित गर्ने र सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्वक प्रस्तुत हुने भूमिका प्रभावकारी रूपमा निर्वाह गर्दै आएका छन् । उनी नेतृत्वका हिसाबले उदाहरणीय कप्तान मानिन्छन् ।
हालान्ड पनि चर्चाको केन्द्रमा रहन रुचाउँछन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उनलाई टोलीको ‘लिडरसिप ग्रुप’ मा राखेका छन् । तर केनजस्तो स्थापित टोली–नेताको भूमिका उनले अहिलेसम्म निर्वाह गरिसकेका छैनन् । यद्यपि, उनको उमेरलाई हेर्दा भविष्यमा त्यो क्षमता विकास हुने पर्याप्त सम्भावना भने छ ।