
फिफा विश्वकप २०२६ को दोस्रो क्वाटरफाइनल खेलमा नर्वेले इङ्गल्याण्ड विरुद्ध गरेको दोस्रो गोलले मान्यता नपाउँदा खेल निकै नाटकीय मोडमा पुगेको छ।
मियामी स्टेडियममा जारी खेलको ५७ औं मिनेटमा नर्वेले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीको हस्तक्षेपपछि त्यसलाई रद्द गरियो।
खेलको ५७ औं मिनेटमा कर्नरबाट आएको बलमा टोर्बजोर्न हेगेमले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाएका थिए। नर्वेका खेलाडी र समर्थकहरू खुसीयाली मनाइरहेका बेला रेफ्रीले भिएआर मोनिटरमा गएर घटनाको पुनरावलोकन गरेका थिए। रिप्लेमा नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डले इङ्गल्याण्डका खेलाडी इलियट एन्डरसनलाई स्पष्ट रूपमा धकेलेको देखिएपछि रेफ्रीले उक्त गोललाई अमान्य घोषित गरिदिए।
गोल रद्द भए पनि रेफ्रीले नर्वेलाई पुनः कर्नर प्रहार गर्ने निर्णय दिएपछि इङ्गल्याण्डका खेलाडीहरूले केही बेर असन्तुष्टि समेत व्यक्त गरेका थिए।
खेलमा पकड बनाउन संघर्ष गरिरहेको इङ्गल्याण्डले दोस्रो हाफको सुरुमै दुई महत्त्वपूर्ण परिवर्तन गरेको छ। लयमा नदेखिएका डेक्लान राइस र नोनी मडुपकेको स्थानमा एबेरेची एजे र बुकायो साका मैदान प्रवेश गरेका छन्।
खेल अहिले ६० मिनेटको समय पार गरिसक्दा १–१ को रोमाञ्चक बराबरीमा छ। पहिलो हाफमा नर्वेका आन्द्रेअस सेल्डरुपले सुरुवाती गोल गरेका थिए भने इङ्गल्याण्डका लागि जुड बेलिङ्घमले बराबरी गोल फर्काएका थिए। यस खेलको विजेताले अर्जेन्टिना वा स्विजरल्याण्डको सामना गर्नेछ।