
भारतको उत्तर प्रदेशस्थित अमरोहा जिल्लाको हसनपुर क्षेत्रमा एउटा पत्याउनै गाह्रो पर्ने अनौठो घटना सार्वजनिक भएको छ। बाल्यकालदेखि सँगै रहँदै आएका र भविष्यमा पनि छुट्टिन नचाहने तीन जना दिदीबहिनीले एकै जना युवकसँग विवाह गरेका छन् । स्थानीय चामुण्डामन्दिरमा अग्नि साक्षी राखेर विवाह गरेर उनीहरूले भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि यो घटनाले व्यापक चर्चा र विवाद सिर्जना गरेको हो ।
दैनिक जागरणको समाचार अनुसार अमरोहाको धौरिया गाउँका रमेश नाम गरेका किसानका छोरीहरू सरोज, सावित्री र सन्तोष सोसल मिडिया इन्फ्लुएन्सर (रील निर्माता) हुन्। उनीहरूका दुई जना आफ्नै र एक जना काकाकी बहिनी हुन्। सरोज बीटेक दोस्रो वर्षमा अध्ययनरत छिन् भने सावित्री र सन्तोषले कक्षा १२ उत्तीर्ण गरेका छन्। उनीहरू इन्स्टाग्राम र फेसबुकमा भिडियो कन्टेन्ट बनाउने गर्छन्, जहाँ उनीहरूको राम्रो फ्यान फलोइङ छ।
उनीहरूसँग विवाह गर्ने युवक श्यामपुरी गाउँका विकास उर्फ 'विक्कू' हुन्। उनी विगत ६ महिनादेखि यी तीन दिदीबहिनीका लागि क्यामेराम्यानका रूपमा काम गर्दै आएका थिए । भिडियोहरूमा उनले लोग्नेको भूमिका (रोल) समेत निभाउने गर्थे। १८ वर्षीय विक्कूले यसै वर्ष १२ औँ कक्षा पास गरेका हुन् र उनी तीन दाजुभाइमध्ये कान्छा हुन्।
दिदीबहिनीहरूका अनुसार उनीहरू सानैदेखि सँगै हुर्किएका हुन् र भविष्यमा पनि कहिल्यै अलग्गै हुन चाहँदैनथे। पिताले उनीहरूको विवाह फरक-फरक ठाउँमा गरिदिने तयारी गरेपछि उनीहरूले आफूहरू सँगै बस्न पाउने उपाय खोज्न थाले। शुरूमा उनीहरूले तीन सगे दाजुभाइसँग विवाह गर्ने इच्छा राखेका थिए, तर त्यस्तो जोडी फेला परेन।
अलग-अलग घरमा विवाह गरेर जानुभन्दा ज्यान दिनु उचित ठानेका उनीहरूले अन्ततः आफ्नै क्यामेराम्यान विक्कुसँग प्रस्ताव राखे। विक्कू उनीहरूको भावना र परिस्थिति बुझ्न तयार भएपछि उनीहरूले परिवारका सदस्य र आफन्तहरूलाई खबरै नगरी गत जुलाई १५/१७ मा चामुण्डा देवी मन्दिरमा विवाह गरेको समाचारमा उल्लेख छ ।
विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दू धार्मिक सङ्गठनहरूले यसको कडा विरोध गरेका छन्। धार्मिक स्थलमा यसरी एउटै पुरुषसँग तीन जनाले विवाह गर्नु सनातन परम्परा, मर्यादा र धर्मको उल्लङ्घन भएको उनीहरूको तर्क छ।
विरोध बढेपछि तीनै जना दिदीबहिनीले पति विक्कुलाई साथमा राखेर करिब ६ मिनेटको अर्को भिडियो पोस्ट गर्दै आफ्नो बचाउ गरेका छन्। उनीहरूले भनेका छन्— 'प्राचीन कालमा राजा दशरथका पनि तीन जना रानीहरू थिए, के त्यो अपमान थियो र? हामीले कुनै गलत काम गरेका छैनौँ। यो सबै मायाको कुरा हो। जब हामी तीनै जना बालिग छौँ र एकसाथ खुसी छौँ भने कसैलाई के समस्या हुन सक्छ?'
यस विषयमा युवतीका परिवारजनले कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। यता हसनपुर कोतवालीका इन्चार्ज राजेश कुमार तिवारीका अनुसार विवाह गर्ने युवतीहरूले आफूहरू बालिग रहेको र आफ्नै राजीखुसीले चामुण्डा मन्दिरमा विवाह गरेको बताएका छन्। अर्का प्रहरी अधिकारी (सीओ) पंकज कुमार त्यागीले भने आधिकारिक रूपमा यस्तो मुद्दा आफूहरूकहाँ दर्ता भैनसकेको जानकारी दिए।