२५ असार २०८३, बिहीबार

वनको जग्गा लुम्बिनी प्रादेशिक अस्पताललाई, अस्पतालको विकासमा टेवा पुग्ने विश्वास

जेठ २९, २०७७
वनको जग्गा लुम्बिनी प्रादेशिक अस्पताललाई, अस्पतालको विकासमा टेवा पुग्ने विश्वास

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले जग्गा उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालसँग जोडिएको सेक्टर वन कार्यालय, बुटवलको जग्गा प्रादेशिक अस्पताललाई आवश्यक संरचना निर्माणका लागि दिने निर्णय गरेको हो ।

लामो समयदेखि रोकिएको जग्गा अस्पतालले पाउने निर्णयसँगै अस्पतालको विकास र सेवा विस्तारमा टेवा पुग्नेछ । 

अहिले सेक्टर वन कार्यालयको भवन र जग्गा इलाका प्रशासन कार्यालयले प्रयोग गरेको छ । प्रादेशिक अस्पतालदेखि दक्षिणतर्फ रहेको १ बिगाह ८ कट्ठा जग्गा अस्पतालको पूर्वाधार विस्तारका लागि उपलब्ध गराउने निर्णय भएको छ । 

सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै लामो समयदेखि अवरुद्ध अस्पतालको पूर्वाधार विकास कार्य अगाडि बढाउन सहज हुने भएको छ ।

उक्त वनको जग्गा प्राप्तिका लागि नेकपा महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निरन्तर पहल गरेका थिए । 

अस्पतालले करीब ८ अर्ब हाराहारीको लागतमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरिसकेको छ । प्रदेश सरकारले अस्पताललाई गौरवको योजनाका रूपमा अगाडि बढाएको छ । 

प्रादेशिक अस्पतालका लागि उक्त वन कार्यालयको जग्गा लिएबापत बुटवल उपमहानगरपालिकाले सोही क्षेत्रफल बमोजिमको जग्गा अन्य क्षेत्रमा वन कार्यालयका उपलब्ध गराउने छ । 

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताउँदै यसले अस्पतालको विकासका लागि सहज बाटो खुलेको बताए ।

उनले जग्गा प्राप्तिसँगै अस्पतालको विकासको ढोका खुल्ने बताए ।

अस्पताल परिसरका व्यावसायिक सटरहरू भत्काएर पर्खाल लगाउने काम अब अगाडि बढाउँदै छ । त्यस्तै अस्पतालको उत्तरपट्टि रहेका जग्गाहरू पनि खाली गराएर नयाँ संरचना निर्माणको कामलाई अगाडि बढाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्