
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा चालिएका कदम प्रभावकारी नभएको भन्दै सरकारलाई जिम्मेवार बनाउन पोखरामा युवाले शान्तिपूर्ण धर्ना दिएका छन् ।
पोखराको राष्ट्रबैंक चोकदेखि शहीदचोकसम्म बिहीवार बिहान ११ देखि मध्याह्न १२ बजेसम्म स्थानीय युवाले ५ वटासम्म घेरा बनाएर विभिन्न नाराअंकित प्लेकार्डसहित मौन र शान्तिपूर्ण धर्ना दिएका हुन् ।
स्वतन्त्र पोखरेली युवाको नाममा स्वतःस्फूर्त सहभागी युवाले ‘असुरक्षित क्वारेन्टीन बन्द गर’, ‘प्रभावकारी स्वास्थ्योपचार प्रत्येक नागरिकको अधिकार हो’, ‘हेलो–हेलो सरकारले आवाज सुन्दैन’ लगायत नाराअंकित प्लेकार्ड बोकेका थिए ।
कार्यक्रम संयोजक सलैजा श्रेष्ठले संविधानमा सबै नागरिकको समान अधिकार भनिए सरकारले स्वास्थ्य उपचारमा विभेद गरेको आरोप लगाइन् । उनले आरडीटी र पीसीआर चेकजाँचमा नागरिकलाई विभेद गर्न नहुने भन्दै सचेत गराइन् ।
देशका विभिन्न ठाउँमा क्वारेन्टीन व्यवस्थित नभएको गुनासो बरोबर सुनिएको भन्दै सरकारले नसके आफूहरूले निःशुल्क रुपमा सेवा दिन तयार रहेको बताइन् ।
कोरोनाका कारण भौतिक दूरी कायम गर्दै करीब २ हजार जना युवाले धर्नामा सहभागिता जनाएका थिए । १ घण्टा धर्नापछि नाराबाजी गरेका युवालाई प्रहरीले तितरबितर पारेको थियो ।