
कोरोना नियन्त्रणमा सरकारी प्रयास फितलो रहेको भन्दै देशभर यतिखेर विभिन्न प्रकारको विरोध प्रदर्शन भइरहेको छ । मंगलबार पनि पोखरा शहीदचोकस्थित जिल्ला प्रशासन कार्यालय अघि विरोध प्रदर्शन भयो ।
तर सो प्रदर्शनमा समूह थिएन । मात्र एक्लै थिइन्–शिरिष गुरुङ । शिरिष यसरी ब्यानर बोकेर धर्ना दिन थालेको २ दिन भयो । दुवै हातमा ब्यानर बोकेर दैनिक ३ घण्टा धर्ना दिन्छिन् । अनि फर्किन्छन् । विरोधका लागि सामूहिकरुपमै भेला भई धर्ना दिनुपर्ने इच्छा भए पनि सम्भव नभएपछि उनी एक्लै सो अभियानमा छिन् ।
उनले बोकेको प्लेकार्डमा अंकित छ – ‘इनफ इज इनफ’ र ‘वेक अप पोखरा’ । काठमाडौं पोखरा लगायत देशका विभिन्न ठाउँमा भइरहेको स्वतन्त्र विरोधबाट प्रभावित भएरै उनले पनि यो कदम चालेको बताइन् ।
एक्लै किन त ? भन्ने जिज्ञासामा उनले भन्छिन्, ‘मलाई एक्लै भएकोमा दुःख छैन । बरु अरु सामेल नभएकोमा छ ।’ कोरोना नियन्त्रणमा सरकारी प्रयास फितलो रहेको भन्दै उनले मानव स्वास्थ्यप्रति खेलवाड गर्न नहुने बताउँछिन् । पीसीआर टेष्ट नगरी आरडीटी मात्र गर्दा झन् समस्या बल्झिएकोले पीसीआर अनिवार्य गर्नुपर्ने उनको माग छ ।
सरकारले १० अर्ब खर्च गरेको भनेपनि जनतामा त्यसको प्रत्यक्ष प्रभाव नपरेको उनको तर्क छ । कुनै दलबाट प्रभावित नभएको स्पष्ट पार्दै उनले राष्ट्रका लागि केही समय सबैले दिन सके भविष्यमा यस्ता समस्या निराकरण हुने विश्वास गरिन् । झण्डै ३ महिनादेखिको लकडाउनमा उनी कास्कीकै घोरेपानीमा बसिन् ।
जेठ ३१ मा मात्र पोखरा आएकी हुन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस्तै बेथितिबारे विरोध प्रदर्शन भइरहेको देखेर आफू प्रेरित भएको उनले बताइन् । काठमाडौं जाने सोच भए पनि पोखराबाटै आवाज उठाउन भन्दै ‘वेक अप पोखरा’ अंकित प्लेकार्ड बोकेर उनले प्रशासन कार्यालय चौतारोअघि पलेटी मारेर यसरी बस्ने गर्छिन् ।
सोमबार दिउँसो २ देखि ५ बजेसम्म बसेकी उनी मंगलबार १२ देखि ३ बजेसम्म बसेको बताइन् । स्वतन्त्ररुपमा आफ्नो आन्दोलनमा सहभागी हुन चाहनेलाई हातोमालो गर्ने गुरुङको सोच छ ।
‘नभए सरकारको राम्रा कामको प्रशंसा र नराम्रोको विरोध गर्छु, उनले अठोट व्यक्त गरिन् । कोरोना भाइरस नियन्त्रणमा सरकार संवेदनशील भएर लाग्नुपर्ने र त्यसका लागि जनस्तरबाटै दबाब दिनुपर्ने उनको माग छ ।
उनले आफ्नो आन्दोलन कुनै दलगतबाट प्रभावित नभई स्वतन्त्र ढंगले भएको दाबी गर्छिन् । आगामी दिनमा पनि उनले आफ्नो धर्ना कार्यक्रमलाई निरन्तरता दिने बताएकी छन् । अघिल्लो सातामात्र जिल्ला प्रशासन कार्यालयमा स्वतन्त्र पोखरेली युवाको ठूलो समूहले विभिन्न नाराअंकित सहित मौन जुलुस प्रदर्शन गरेको थियो ।