
पोखराको नयाँबजारमा शनिबार दिउँसो दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा दुवै जलेर नष्ट भएका छन् ।
महेन्द्रपुलदेखि पृथ्वीचोकतर्फ जाँदै गरेका ग १४ प ३८६१ र ग १६ प ४४४१ नम्बरको मोटरसाइकल दिउँसो ३ बजेर २५ मिनेटमा पोखरा–९, नयाँबजारस्थित बृहस्पति पेट्रोल पम्प नजिकै आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवाश हमालले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल ठोक्किए लगत्तै एक्कासी आगो लागेको र जलेर नष्ट भएका हुन् । दुवै मोटरसाइकलमा गरी ४ जना सवार थिए । जसमा ग १४ प ३८६१ नम्बरको मोटरसाइकलमा सुरेन्द्र सुनार चालक र पछाडि सुनिता सुनार थिए । अर्को ग १६ प ४४४१ नम्बरको मोटरसाइकल पोखराको रिट्ठेपानीका इच्छा गुरुङले चलाएका थिए ।
उनको मोटरसाइकलमा दीपन्द्र नेपाली थिए । उनीहरु सामान्य घाइते भएको प्रहरीले जनायो । घाइतेको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । आगो पोखरा महानगरपालिकाको दमकलले स्थानीयको सहयोगमा निभाएको हो ।
घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता हमालले जानकारी दिए ।