चिनियाँ र जापानीज खाना प्रायः चपस्टिकले खाने गरिन्छ । २ वटा स्टिक एउटै हातले समातेर खान गाह्रो हुन्छ तर बानी परेकाहरूले कति छिटो र मजाले खाने गर्छन् ? याद गर्नुभएको छ ? के तपाईंलाई पनि चपस्टिकले समातेर खाना खान मन पर्छ ?
चपस्टिक समात्न जान्नु एउटा कला हो । आउनुहोस् हामीले चपस्टिकले समातेर खाना खाने केही तरिकाहरू सिकाउँछौं ।
पहिला एउटा स्टिक समात्नुहोस् । हातको चोर र बुढी औंलाको बीचमा त्यसलाई च्याप्नुहोस्, बिल्कुलै कलम समातेजस्तो गरेर । माथिल्लो स्टिक समात्ने यसै गरेर हो ।
त्यसपछि दोस्रो स्टिकलाई पहिलो भन्दा तल छिराउनुहोस् । दोस्रो स्टिकले तपाईंको माझी औंलाको साइडमा छोएको हुनुपर्छ । त्यसपछि तल्लो स्टिकलाई जस्ताको त्यस्तै राखेर माथिल्लो स्टिकलाई चलाउने प्रयास गर्नुहोस् । शुरूशुरूमा तल्लो स्टिकमाथि तपाईंको हातको नियन्त्रण हुँदैन । निरन्तरको अभ्यासले त्यसमाथि नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ ।
तपाईंले अभ्यासका क्रममा केही कुराहरूमा ध्यान दिनुपर्छ । पहिलो तपाईंले समातेका दुवै चपस्टिकको एकतिहाइ भाग पछाडि र दुईतिहाइ भाग अगाडि हुनुपर्छ ।
माथिल्लो स्टिकलाई कलम समातेजस्तो गरेपछि दोस्रो स्टिकलाई माझी औंला र कान्छी औंलाको सहायताले नियन्त्रण गर्न प्रयास गर्नुपर्छ ।
शुरूमा चपस्टिक समातेपछि बिस्तारै त्यसलाई चलाउने अभ्यास गर्नुपर्छ । अनि बिस्तारै दुवै स्टिकको चुच्चो छुवाउनुपर्छ । तल्लो स्टिकलाई यत्तिकै राखेर माथिल्लो स्टिकको टुप्पोलाई तलमाथि गर्नुहोस् । यसलाई आँखा चिम्लेर पनि अभ्यास गर्न सकिन्छ । त्यसपछि फलफूलका केही टुक्राहरू लिनुहोस् र त्यसलाई समात्ने छोड्ने अभ्यास गर्नुहोस् ।
माथिल्लो स्टिकलाई तलमाथि गर्ने र तल्लो स्टिकलाई नियन्त्रणमा लिएर सिधा राख्ने प्रयास गरेपछि खानाका साना साना टुक्राहरू पनि समातेर मुखसम्म पुर्याउन सकिन्छ ।
आधा घण्टाको अभ्यासमै तपाईं चपस्टिक चलाएर खान सक्नुहुनेछ ।
हेर्नुहोस् भिडियो -