०३ असार २०८३, बुधबार

असार मसान्तमा जालझेल : काम नसकिँदै भुक्तानी आदेश दिने हाकिम सा’पको खुल्यो पोल

साउन ५, २०७७
असार मसान्तमा जालझेल : काम नसकिँदै भुक्तानी आदेश दिने हाकिम सा’पको खुल्यो पोल

स्वीकृत वार्षिक कार्यक्रमको योजनामा सार्वजनिक खरिद ऐन, नियमावली तथा आर्थिक कार्यविधि अनुसार काम सम्पन्न भएपछि मात्र भुक्तानी हुने गर्छ तर धनुषामा योजनाको निर्माण कार्य सम्पन्न नहुँदै पनि भुक्तानीका लागि कार्यालयले आदेश गरेको खुलासा भएको छ ।

धनुषाको नक्टाझिजस्थित कृषि यान्त्रिकीकरण प्रबद्र्धन केन्द्रले एउटा योजनामा कार्य सम्पन्न नहुँदै भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषामा भुक्तानी आदेश पठाउँदा नियन्त्रकले भुक्तानी रोक्का गरेको छ ।

कार्यसम्पन्न नहुँदै कागजमा कार्यसम्पन्न भएको मूल्यांकनसहित भुक्तानी आदेश गर्ने कार्यालयको भुक्तानी रोक्का गरेर कोष तथा लेखा नियन्त्रक कार्यालयले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । प्रमुख कोष नियन्त्रक डा. वीरेन्द्रकुमार मिश्रले स्थलगत निरीक्षण गरेर निर्माणाधीन कार्यलाई यथास्थितिमा राख्न निर्देशन दिएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेको कृषि यान्त्रिकीकरण प्रबद्र्धन केन्द्रले डीप ट्यूबबेल जडान गरेबापत १६ लाख १ हजार २८ रुपैयाँ भुक्तानी गरिदिन असार ३० गते फाइलसहित भुक्तानी आदेश पठाएको थियो । राष्ट्रिय धानबाली अनुसन्धान परिषद् हर्दिनाथ बनीनियाको परिसरमा डीप ट्यूबबेल जडानको काम जेठ १५ गतेबाट शुरू भई असार २९ गते सम्पन्न भएको भनेर प्राविधिक मूल्यांकनसहित कार्यालय प्रमुख रतनकुमार पुर्बेले भुक्तानीका लागि असार ३० गते फाइल पठाएका थिए ।

‘काम सम्पन्न नै नभएको भनेर फोनमा जानकारी आए पछि अन्य कर्मचारीबाट समेत बुझ्दा काम नै नभएको भन्ने कुरा यकिन भए पछि भुक्तानी रोक्का गरें,’ मिश्रले लोकान्तरसँग भने, ‘त्यसपछि साउन २ गते म आफैं पनि स्थलगत निरीक्षण गर्न जाँदा ट्यूबबेल निर्माणको काम निर्माणाधीन अवस्थामा नै पाएँ ।’ कार्यस्थलमा कार्यरत कामदारबाट समेत साउन २ गतेसम्म काम भइरहेको मुचुल्का उठाएर कार्यालयका निमित्त कार्यालय प्रमुख पुर्बेलाई यथास्थितिमा काम राख्न भनेको उनले बताए ।

असार २५ गतेसम्म निर्माण काम सम्पन्न भइसक्नुपर्नेमा २५ गतेदेखि निर्माणको कामको सुरसार नै गरिएको थिएन । साउन २ गते लोकान्तरकर्मी पनि कार्यस्थलमा पुग्दा ट्रकमा मशिन राखेर काम भइरहेको थियो । 

सिन्धुलीको दुधौली नगरपालिका–६ घर भएका मजदुर समीर कार्कीले असार २७ गतेदेखि जडानको काम शुरू गरिएको बताए । असार ३० गते होल पार्ने, १२० मिटर गहिरो खाल्डो खनेर वाटर लकिङ गरेर पानी परीक्षण गरिएको मजदुर कार्कीले बताए । असार ३० गते नै पानी आएको समेत उनले बताए । 

‘असार ३१ गते साँझसम्म पाइप वेल्डिङ गरेर तयार पारेका थियौं तर पानीमा हिलो आएका कारण काम रोकेका थियौं,’ कार्कीले भने, ‘त्यसपछि १ गते बिहान ३ बजे काम शुरू गरेका थियौं ।’ साउन २ गते बिहान ६ बजेदेखि पाइप निकाल्ने काम भइरहेका बेला बिहान ८ बजेतिर कोष नियन्त्रक मिश्र सहितको टोली कार्यस्थलमा पुगेको थियो । 

साउन २ गतेसम्म डीप ट्यूबबेल निर्माणको काम भइरहेको अवस्थामा असार ३० गते नै कार्यालयले कार्यसम्पन्न भएको प्रतिवेदन तयार पारेर भुक्तानी आदेश कोष तथा लेखा नियन्त्रक कार्यालयमा पुगेको थियो । स्वीकार कन्सट्रक्सन एण्ड डीप ट्यूबबेल प्रालिका सञ्चालकको खातामा १६ लाख १ हजार ८२८ रुपैयाँ भुक्तानीका लागि भुक्तानी आदेश प्राप्त भएको कोष नियन्त्रक मिश्रले बताए ।

‘आर्थिक अनुशासन कायम गर्न भुक्तानी रोकर कामलाई यथास्थितिमा राख्न भनेको छु,’ मिश्रले भने । अब प्रचलित कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढ़ाइने उनले बताए ।

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

salt training

कमेन्ट गर्नुहोस्