
घाँसैको भारी, अंशैको धनी
रुँदै जाने चेलीको जातै बरिलै !
बजारका कोठा–कोठामा ठूलो स्पीकर घन्काउँदै तीजगीतमा नाचेको दृश्य सामाजिक सञ्जालमा निरन्तर देखिन थालेको छ । केही दिनयता बरोबर पोस्ट हुन थालेका ती दृश्य पञ्चमीसम्म देखिने पक्का छ ।
तर यहाँ भने ती फोटो र भिडियोभन्दा नितान्त फरक वातावरण छ । उमेर ढल्किसकेका अधिकांश ज्येष्ठ नागरिक । आफन्त कोही नभएपछि बेसहारा । मनमा अनेकन तर्कनाले चाडपर्वले उतिसाह्रो छुँदैन ।
जीवनप्रतिको बुझाइ फरक छ । वर्ष दिनपछि आएको चेलीहरूको तीज पर्व । तैपनि मनको पीर एकातिर पन्छाएर पुरानो भाखा छोप्दै मादलु तालमा वृद्ध महिलाहरू नाचिरहेको पाउन सकिन्छ । अहिलेका आधुनिक गीत चटक्कै बिर्सेर पुरानै लय र भाखामा सबैजसोले गीतको टुक्का निकाल्छन् । गाउँछन् । पालैपालो नाच्छन् । मानौं एकछिन भए पनि मनको भारी बिसाउँछन् ।
यो दृश्य हो – पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रमको । हरितालिका तीजको दिन शुक्रवार दिउँसो यहाँ पुग्दा ज्येष्ठ नागरिकहरू तीजको भाखामा नाचगान गरेको पाइयो ।
बिहानपख पनि एकफेर नाचगान गरी तीजको स्वागत गरिएको रहेछ । खाना खाएर एकछिन बसिबियाँलो गर्न दिउँसो पुनः जमघट भएको जानकारी वृद्धाश्रमकी कर्मचारी जमुनादेवी ढकालले जानकारी दिइन् ।
‘वर्षदिनको तीज हो । कोरोनाको डरले बाहिर जान पाइएन । म पनि यसपालि माइत गइनँ । आमाहरूलाई नचाउन मादल बजाएर साथ दिएकी हुँ,’ उनले भनिन्, ‘यसरी गाउँदा बजाउँदा उहाँहरूलाई पनि न्यास्रो नहुने र दुःख बिसाउन सहज हुने भएकाले पटक–पटक नाचगान गरिएको हो ।’
तिनैमध्ये थिइन्, वृद्धाश्रममा ११ वर्षदेखि आश्रित बाटुली बराल । स्याङ्जाको आरुखर्ककी उनको पोखरा ड्यामसाइडका उमनाथ बरालसँग बिहे भयो । जीवन हाँसीखुशी नै थियो ।

समयचक्रले बुवाआमा बिते । पतिले एक्लै पारेर छाडेर गए । ६७ वर्षकी बाटुलीको घर भनेकै वृद्धाश्रम हो ।
रमादेवी पौडेल ६५ वर्षकी भइन् । उनको घर पोखरा–३३ भरतपोखरी हो । वृद्धाश्रमबाट उनको घर पुग्न मात्रै २० मिनेट लाग्छ । तैपनि ४ वर्षदेखि उनका २ छोरा र १ छोरीसँगै वृद्धाश्रमलाई घर मान्दै आएकी छन् । पतिले छोडेर गएपछि ३ जना सुस्त मनस्थितिका छोराछोरीको स्याहारसुसारमा समस्या भएपछि उनी वृद्धाश्रम आएको बताइन् ।

विगतका हरेक तीजमा माइती जान्थिन् । उनको माइत पोखरा बिरौटामा पर्दछ । तर कोरोना महामारीसँगै कास्कीमा जारी निषेधाज्ञाले बाहिर निस्कन नपाएपछि वृद्धाश्रममै नाचगान गरी व्रत बसेर तीज मनाएको सुनाइन् ।
‘जीवन दुःखै–दुःख रहेछ । भोग्दै गएपछि थाहा हुँदो रहेछ । अब यही नै हामीहरूको लागि घर हो,’ लामो सुस्केरा हाल्दै रमादेवीले भनिन्, ‘तीज पर्वले केही क्षणको लागि भए पनि दुःख बिर्साउँछ । अनि नाँच्ने गाउने गर्छु ।’
यसरी बाटुली र रमादेवी जस्तै यहाँ आश्रय लिनेहरू हरेक वर्ष आउँछन् । हाल स्याहारकर्ता तथा कर्मचारी ७ जनासहित ५५ जनाको लागि यहाँ हरेक छाक भान्सामा भात पाक्छ । जीवनको गाडी गुड्ने क्रममा विभिन्न कारणवश उनीहरू यहाँ पुगेका हुन् । ५५ मध्ये ४३ जना महिला मात्रै छन् । आश्रममा बौद्धिक अपाङ्गता भएका ४ जना व्यक्ति छन् । दैनिक २५ हजार बराबरको खर्च रहेको वृद्धाश्रमका कार्यबाहक अध्यक्ष कुसुमकेशव पराजुली बताउँछन् ।
‘सबै दाताकै भरमा चलेको हो । सरकारी निकायबाट खासै सहयोग छैन,’ उनले भने, ‘अहिले कोरोना कारण सहयोग गर्न आउनेहरूको संख्यामा पनि कमी आएको छ ।’
आश्रितको लागि आफूहरूले सेवाको गुणस्तरमा कुनै पनि कसर बाँकी नराखेको उनले दाबी गरे । ‘प्रदेशकै नमूना वृद्धाश्रम बनाउने हाम्रो ध्येय हो । स्वास्थ्य जाँचका लागि छिट्टै यही ठाउँमा मेडिक्लिनिक सञ्चालन गर्ने तयारीमा थियौं, कोरोनाले गर्दा ९० प्रतिशत काम सकेर रोकिएको छ,’ उनले भने । आश्रित वृद्धवृद्धाको नियमित स्वास्थ्य जाँचका लागि मणिपाल शिक्षण अस्पतालबाट १५/१५ दिनमा चिकित्सक आउने गर्दछन् । विभिन्न संघसंस्थाले स्वास्थ्य शिविर पनि चलाउँछन् ।
पोखरा वृद्धाश्रम व्यवस्थापन समिति सदस्य श्रीनाथ आचार्यले दाताको सहयोगले आफूहरूलाई वृद्धाश्रम सञ्चालनमा हौसला मिलेको बताए । उनले आफ्नो पूरापूर समय निःस्वार्थ रुपमा वृद्ध बुवाआमाको सेवामा लगाउने गरेको बताए । त्यसबापत उनले कुनै तलब भत्ता बुझ्दैनन् । उनले भने, ‘घरमा आफ्ना २ बुवाआमालाई समेत स्याहारसुसारमा सेवा पुर्याउन नसक्ने हाम्रो समाजमा विभिन्न वर्ग र समाजबाट आएको वृद्ध आमाबुवालाई पालनपोषण चुनौतीपूर्ण भए पनि सहयोगी मनहरूको सहयोगबाट वृद्धाश्रम सञ्चालन गर्न हामीलाई हौसला मिलेको छ ।’
उनका अनुसार वृद्धाश्रममा रहेका ८५ प्रतिशतले दैनिक विभिन्न रोगका औषधि सेवन गर्छन् । विगतमा लकडाउनको बेलामा औषधिको समेत समस्या परेको अवस्थामा सहयोगीदाताबाट औषधि उपलब्ध भएको उनले बताए ।
कूल १३ रोपनी ५ आना जग्गामा सरकारीस्तर, विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट ५ करोडभन्दा बढीको लागतमा आवश्यक भौतिक पूर्वाधार तयार भइसकेको छ । ‘अपाङ्गमैत्री भवन पनि छ । १२ जनासम्मलाई त्यसमा राख्न सक्छौं । सबै मापदण्ड पूरा हुने गरी आश्रमको लागि न्यूनतम ५० रोपनी चाहिन्छ । हामीलाई जग्गा अभाव छ । सरकारले जग्गा उपलब्ध गरायो भने प्रदेशस्तरीय नमूना ज्येष्ठ नागरिक आश्रम बनाउन सक्छौं,’ कुसुमकेशव पराजुली भन्छन् ।
२०५३ सालमा पोखराकै समाजसेवी ऋषिकेशव पराजुलीको पहलमा वृद्धाश्रम खोलिएको हो । पद र प्रतिष्ठाको लालचना नराख्ने उनले २०४७ सालमा पोखरामा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेका थिए । उनको शेषपछि छोरा वसन्तकेशव पराजुलीले त्यसको रेखदेख गरे । उनको पनि गत वर्ष पुसमा निधनपछि व्यवस्थापन समिति सचिव समेत रहेका भाइ कुसुमकेशवले जिम्मा लिएका हुन् । परिवारबाट अपहेलित एवं बेसहारा ज्येष्ठ नागरिकको सहारा बनेर सरकारीस्तरबाट गर्नुपर्ने दायित्व वृद्धाश्रमले पूरा गर्दैआएको छ ।