२३ असार २०८३, मंगलबार

दुःखमा पनि खुशी ल्याएर वृद्धाश्रममा यसरी आउँछ तीज

भदौ ६, २०७७
दुःखमा पनि खुशी ल्याएर वृद्धाश्रममा यसरी आउँछ तीज

घाँसैको भारी, अंशैको धनी
रुँदै जाने चेलीको जातै बरिलै !

बजारका कोठा–कोठामा ठूलो स्पीकर घन्काउँदै तीजगीतमा नाचेको दृश्य सामाजिक सञ्जालमा निरन्तर देखिन थालेको छ । केही दिनयता बरोबर पोस्ट हुन थालेका ती दृश्य पञ्चमीसम्म देखिने पक्का छ । 

तर यहाँ भने ती फोटो र भिडियोभन्दा नितान्त फरक वातावरण छ । उमेर ढल्किसकेका अधिकांश ज्येष्ठ नागरिक । आफन्त कोही नभएपछि बेसहारा । मनमा अनेकन तर्कनाले चाडपर्वले उतिसाह्रो छुँदैन ।

जीवनप्रतिको बुझाइ फरक छ । वर्ष दिनपछि आएको चेलीहरूको तीज पर्व । तैपनि मनको पीर एकातिर पन्छाएर पुरानो भाखा छोप्दै मादलु तालमा वृद्ध महिलाहरू नाचिरहेको पाउन सकिन्छ । अहिलेका आधुनिक गीत चटक्कै बिर्सेर पुरानै लय र भाखामा सबैजसोले गीतको टुक्का निकाल्छन् । गाउँछन् । पालैपालो नाच्छन् । मानौं एकछिन भए पनि मनको भारी बिसाउँछन् । 

यो दृश्य हो – पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रमको । हरितालिका तीजको दिन शुक्रवार दिउँसो यहाँ पुग्दा ज्येष्ठ नागरिकहरू तीजको भाखामा नाचगान गरेको पाइयो ।

बिहानपख पनि एकफेर नाचगान गरी तीजको स्वागत गरिएको रहेछ । खाना खाएर एकछिन बसिबियाँलो गर्न दिउँसो पुनः जमघट भएको जानकारी वृद्धाश्रमकी कर्मचारी जमुनादेवी ढकालले जानकारी दिइन् । 

‘वर्षदिनको तीज हो । कोरोनाको डरले बाहिर जान पाइएन । म पनि यसपालि माइत गइनँ । आमाहरूलाई नचाउन मादल बजाएर साथ दिएकी हुँ,’ उनले भनिन्, ‘यसरी गाउँदा बजाउँदा उहाँहरूलाई पनि न्यास्रो नहुने र दुःख बिसाउन सहज हुने भएकाले पटक–पटक नाचगान गरिएको हो ।’

तिनैमध्ये थिइन्, वृद्धाश्रममा ११ वर्षदेखि आश्रित बाटुली बराल । स्याङ्जाको आरुखर्ककी उनको पोखरा ड्यामसाइडका उमनाथ बरालसँग बिहे भयो । जीवन हाँसीखुशी नै थियो ।

समयचक्रले बुवाआमा बिते । पतिले एक्लै पारेर छाडेर गए । ६७ वर्षकी बाटुलीको घर भनेकै वृद्धाश्रम हो । 

रमादेवी पौडेल ६५ वर्षकी भइन् । उनको घर पोखरा–३३ भरतपोखरी हो । वृद्धाश्रमबाट उनको घर पुग्न मात्रै २० मिनेट लाग्छ । तैपनि ४ वर्षदेखि उनका २ छोरा र १ छोरीसँगै वृद्धाश्रमलाई घर मान्दै आएकी छन् । पतिले छोडेर गएपछि ३ जना सुस्त मनस्थितिका छोराछोरीको स्याहारसुसारमा समस्या भएपछि उनी वृद्धाश्रम आएको बताइन् ।

विगतका हरेक तीजमा माइती जान्थिन् । उनको माइत पोखरा बिरौटामा पर्दछ । तर कोरोना महामारीसँगै कास्कीमा जारी निषेधाज्ञाले बाहिर निस्कन नपाएपछि वृद्धाश्रममै नाचगान गरी व्रत बसेर तीज मनाएको सुनाइन् ।

‘जीवन दुःखै–दुःख रहेछ । भोग्दै गएपछि थाहा हुँदो रहेछ । अब यही नै हामीहरूको लागि घर हो,’ लामो सुस्केरा हाल्दै रमादेवीले भनिन्, ‘तीज पर्वले केही क्षणको लागि भए पनि दुःख बिर्साउँछ । अनि नाँच्ने गाउने गर्छु ।’  

यसरी बाटुली र रमादेवी जस्तै यहाँ आश्रय लिनेहरू हरेक वर्ष आउँछन् । हाल स्याहारकर्ता तथा कर्मचारी ७ जनासहित ५५ जनाको लागि यहाँ हरेक छाक भान्सामा भात पाक्छ । जीवनको गाडी गुड्ने क्रममा विभिन्न कारणवश उनीहरू यहाँ पुगेका हुन् । ५५ मध्ये ४३ जना महिला मात्रै छन् । आश्रममा बौद्धिक अपाङ्गता भएका ४ जना व्यक्ति छन् । दैनिक २५ हजार बराबरको खर्च रहेको वृद्धाश्रमका कार्यबाहक अध्यक्ष कुसुमकेशव पराजुली बताउँछन् ।

‘सबै दाताकै भरमा चलेको हो । सरकारी निकायबाट खासै सहयोग छैन,’ उनले भने, ‘अहिले कोरोना कारण सहयोग गर्न आउनेहरूको संख्यामा पनि कमी आएको छ ।’ 

आश्रितको लागि आफूहरूले सेवाको गुणस्तरमा कुनै पनि कसर बाँकी नराखेको उनले दाबी गरे । ‘प्रदेशकै नमूना वृद्धाश्रम बनाउने हाम्रो ध्येय हो । स्वास्थ्य जाँचका लागि छिट्टै यही ठाउँमा मेडिक्लिनिक सञ्चालन गर्ने तयारीमा थियौं, कोरोनाले गर्दा ९० प्रतिशत काम सकेर रोकिएको छ,’ उनले भने । आश्रित वृद्धवृद्धाको नियमित स्वास्थ्य जाँचका लागि मणिपाल शिक्षण अस्पतालबाट १५/१५ दिनमा चिकित्सक आउने गर्दछन् । विभिन्न संघसंस्थाले स्वास्थ्य शिविर पनि चलाउँछन्  । 

पोखरा वृद्धाश्रम व्यवस्थापन समिति सदस्य श्रीनाथ आचार्यले दाताको सहयोगले आफूहरूलाई वृद्धाश्रम सञ्चालनमा हौसला मिलेको बताए । उनले आफ्नो पूरापूर समय निःस्वार्थ रुपमा वृद्ध बुवाआमाको सेवामा लगाउने गरेको बताए । त्यसबापत उनले कुनै तलब भत्ता बुझ्दैनन् । उनले भने, ‘घरमा आफ्ना २ बुवाआमालाई समेत स्याहारसुसारमा सेवा पुर्‍याउन नसक्ने हाम्रो समाजमा विभिन्न वर्ग र समाजबाट आएको वृद्ध आमाबुवालाई पालनपोषण चुनौतीपूर्ण भए पनि सहयोगी मनहरूको सहयोगबाट वृद्धाश्रम सञ्चालन गर्न हामीलाई हौसला मिलेको छ ।’

उनका अनुसार वृद्धाश्रममा रहेका ८५ प्रतिशतले दैनिक विभिन्न रोगका औषधि सेवन गर्छन् । विगतमा लकडाउनको बेलामा औषधिको समेत समस्या परेको अवस्थामा सहयोगीदाताबाट औषधि उपलब्ध भएको उनले बताए ।

कूल १३ रोपनी ५ आना जग्गामा सरकारीस्तर, विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट ५ करोडभन्दा बढीको लागतमा आवश्यक भौतिक पूर्वाधार तयार भइसकेको छ । ‘अपाङ्गमैत्री भवन पनि छ । १२ जनासम्मलाई त्यसमा राख्न सक्छौं । सबै मापदण्ड पूरा हुने गरी आश्रमको लागि न्यूनतम ५० रोपनी चाहिन्छ । हामीलाई जग्गा अभाव छ । सरकारले जग्गा उपलब्ध गरायो भने प्रदेशस्तरीय नमूना ज्येष्ठ नागरिक आश्रम बनाउन सक्छौं,’ कुसुमकेशव पराजुली भन्छन् ।

२०५३ सालमा पोखराकै समाजसेवी ऋषिकेशव पराजुलीको पहलमा वृद्धाश्रम खोलिएको हो । पद र प्रतिष्ठाको लालचना नराख्ने उनले २०४७ सालमा पोखरामा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेका थिए । उनको शेषपछि छोरा वसन्तकेशव पराजुलीले त्यसको रेखदेख गरे । उनको पनि गत वर्ष पुसमा निधनपछि व्यवस्थापन समिति सचिव समेत रहेका भाइ कुसुमकेशवले जिम्मा लिएका हुन् । परिवारबाट अपहेलित एवं बेसहारा ज्येष्ठ नागरिकको सहारा बनेर सरकारीस्तरबाट गर्नुपर्ने दायित्व वृद्धाश्रमले पूरा गर्दैआएको छ ।

salt training

कमेन्ट गर्नुहोस्