
असहाय र बेसहारालाई सहारा मिल्ने ठाउँ हो दृष्टि फाउन्डेसन । जसको सारथी छिन् कल्पना भट्ट ।
जसले कोरोना कहरबीच पनि आफ्ना मानवता पथका पाइला डगमगाउन दिएकी छैनन् ।
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–६ दमडा घर भएकी भट्टको नेतृत्वमा ११ जनाले दृष्टि फाउन्डेसन सञ्चालनमा ल्याएका हुन् । जनही १०–१० हजार उठाएको रकमले २ वर्षदेखि सो फाउन्डेसन धनगढीमा सञ्चालनमा आएको हो । फाउन्डेसन मानवता पढाउने पाठशालाको रुपमा स्थापित हुँदै गएको हो ।
पछिल्लो ५ महिनायता दृष्टि फाउन्डेसन अनेकौं चुनौतीसँग सामना गर्दै अगाडि बढेको छ । कोरोना कहरबीच नयाँ–नयाँ मानसिक रोगीको उद्धारसँगै समाजको असहयोग र तिरस्कार रूपी अवरोधको पनि सामना गर्नुपरेको छ ।
दृष्टि फाउन्डेसनको लागि धनगढी उपमहानगरपालिकाको नगर कार्यपालिकाले नगरपालिकाको वडा नम्बर ४ स्थित शिवपुरी सामुदायिक वनमा ३ कठ्ठा जग्गा उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको थियो ।
निर्णयपश्चात सोही ठाउँमा आफ्नै घर बनाउने योजना दृष्टि फाउन्डेसनको थियो । तर बस्ती नै पागलहरूले भरिने भन्दै स्थानीयबाट लखेटिएपछि फाउन्डेसनकी अध्यक्ष भट्टलाई अचम्मित तुल्याएको छ । तर आफ्नो लक्ष्यबाट हार भने कदापी मानेकी छैनन् उनले ।
‘नगर कार्यपालिकाको निर्णयपछि ४ किल्ला प्रमाणित गराएर हामीले सुदूरपश्चिम प्रदेश सरकारलाई बुझायौं । प्रदेश सरकारबाट भवन निर्माणको लागि १० लाख बजेट विनियोजन भयो । धनगढी उपमहानगरपालिकाबाट पनि सहयोग हुने प्रतिवद्धता थियो । जेठ ८ गते भवनको जग शिलान्यास नगर प्रमुखबाट भयो,’ उनले भनिन्, ‘तर विडम्बना स्थानीयले पागलखाना खोल्न दिँदैनौं, वडा नै पागलहरूले भरिन्छ भनेर विरोध गर्नुभयो । हामीले बनाउन पाउनुपर्छ भन्दै फाउन्डेसनका सबै दिदीबहिनीसहित २१ दिनसम्म त्यही त्रिपाल टाँगेर बस्यौं ।’
शिवपुरी सामुदायिक वनका अध्यक्ष बृद्धि खड्काले ५ ठाउँमा जग्गा देखाएको उनी बताउँछिन् । वनका अध्यक्ष खड्काले देखाएको ठाउँमा वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाको समर्थनमा काम थालेको सुनाउँछिन् । उनीहरूबाटै पछि सहयोग नभएपछि अवरोध सिर्जना भएको उनको आरोप छ ।
‘इँटा र ढुंगा झारेर जग्गामा काम थालेपछि जसले जग्गा देखायो, उसैले यो जग्गा वडा नम्बर ५ मा पर्छ भनेर धोखा दिए । उनैको पहलमा तारानगर सामुदायिक वनले हामीलाई २० हजार रुपैयाँ जरिवाना गर्यो,’ भट्टले पीडा पोखिन्, ‘जरिवाना तिराउनलाई पनि धेरै ताकेता गरे । मसँग पैसा पनि थिएन । बुवा बित्नुभन्दा पहिले आफ्नो औंलाबाट झिकेर छोरीलाई दिनु भनेर आमालाई दिनुभएको थियो । त्यही औंठी लगाएकी थिए । त्यही औंठी ३२ हजारमा बेचेर २० हजार जरिवाना तिरें ।’ यस्तै झमेलामा फस्दा फाउन्डेसनका लागि छुट्याइएको बजेट बजेट खर्च नभई फ्रीज भएको उनले बताइन् ।
हाल दृष्टि फाउन्डेसनमा ४० जना असहाय तथा सहाराविहीन व्यक्ति छन् । जसमध्ये ४ जना बच्चा, ३६ जना महिला रहेका छन् । कोरोना महामारीको बेला पनि ६ जना महिलाहरू थपिएको भट्ट सुनाउँछिन् ।
‘मैले राख्न सक्दैन भन्दाभन्दै पनि प्रहरी प्रशासन, मानव अधिकारकर्मी लगायतको अनुरोधपछि राखेको छु । यहाँसम्मकी यो महामारीको बीच कोरोना परीक्षण विना नै राखेको छु । कसैले परीक्षण समेत गर्न मान्दैनन्,’ उनी भन्छिन्, ‘मानसिक रोगी पनि यही समाजका व्यक्ति हुन् । जसलाई यो समाजले बेघर बनाएपछि के गर्नु ? हाम्रो ढोकामा आइसकेकालाई फर्काउन सकिन्न ।’
फाउन्डेसनको उद्देश्य र अभियानबारे प्रकाश पार्दै उनले लोकान्तरलाई सुनाइन्, ‘हाम्रो गाउँशहरका गल्लीमा बेवारिसे अनगिन्ती सडक मानव छन् । हामी घर परिवारमा बस्नेको दुःखको अगाडि उहाँहरूको पीडा केही पनि होइन । एउटी महिला मानसिक सन्तुलन गुमाएर घरबाट निस्किसकेपछि उसको घर परिवार कोही हुन्न । रोगी हुन्छ । बेसहारा हुन्छ । उ समाजका नरपिपासुहरूबाट पटक–पटक बलात्कृत हुन्छे । उसको अस्मिता पलपलमा लुटिएको हुन्छ । उहाँहरूको लागि धेरै गर्न नसकिए पनि कम्तिमा पनि सानो छानोभित्र मिठो निन्द्रा, एक गाँस खाना र अस्मिता लुटिनबाट जोगाउनका लागि पनि लागेका छौं ।’
फाउन्डेसनले २ वर्ष पहिले ८ जनालाई विभिन्न स्थानबाट उद्धार गरेर आफ्नो कार्यको थालनी गरेको थियो । हालसम्म दर्जनौं महिलाहरू पुनर्जीवन पाएर फर्किसकेका छन् ।
महिलाको दागबत्ती महिलाबाटै
फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका बेघर भएका असहायलाई आश्रय दिँदै आएको छ । औषधोपचारसँगै मनोपरामर्शकर्ताको सहयोगमा काउन्सिलिङ गर्दै आएको छ । फाउन्डेसनको आश्रयमै ज्यान गुमाएकाहरूको अन्त्यष्टि फाउन्डेसनले नै गर्दै आएको हो । हालसम्म ३ जनालाई आफूहरूले नै दागबत्ती दिएको भट्ट बताउँछिन् ।

निश्चित आर्थिक स्रोत केही नभएको फाउन्डेसन विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त हुने दान र मुठी दानबाट सञ्चालन हुँदै आएको छ ।
अवसरलाई तिलाञ्जली
खुशी हुनका लागि कल्पनासँग धेरै उपाय छन् । उसैपनि उनी राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । राजनीति शास्त्रमा एमफिल गर्दैछिन् । कुनै बेला एनजीओ, आईएनजीओमा जागिरे थिइन् । त्यसलाई तिलाञ्जली दिई उनी मानसिक रोगीको सेवामा समर्पित भएकी हुन् ।
उनैको मानवीय कर्मको प्रतिफल स्वरुप उनलाई गणतन्त्र दिवसको अवसरमा समाज सेवा रत्नबाट सम्मान प्रदान गरिएको छ । उनी मुलुकभरमै कान्छो समाजसेवीका रूपमा समाजसेवा रत्नबाट सम्मानित महिला बनेकी छन् ।