
सुर्खेतको पश्चिममा पर्ने पञ्चपुरी नगरपालिकामा दशकौंदेखि सञ्चालनमा आइरहेको हाटबजार पूर्ण रूपमा बन्द भएको छ ।
हाटबजार बन्द भएपछि कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य सामानहरू बिक्री गर्न पाएका छैनन् । जसले गर्दा कृषकको आम्दानीमा धक्का लागेको छ ।
बरैचे निवासी हरिकला अधिकारीले विगतमा हाटबजारमा उत्पादन बेचेपछि आम्दानी पर्याप्त हुने भएपछि धानको साटो पिडालु खेती शुरू गरेकी थिइन् । पिडालु तयार भइरहेकोे समयमा हाटबजार बन्द भएका कारण कहाँ बिक्री गर्ने भन्ने चिन्ता छाएको छ ।
कुनै बेला घरायसी प्रयोगका लागि मात्र पिडालु खेती गर्दै आएकी उनले पछिल्लो समय व्यावसायिक रूपमा नै उत्पादन थालेकी थिइन् ।
सालकोटका किसान धनीराम सापकोटा हरेक शनिवार बाबियाचौरमा लाग्ने हाटबजारमा पुग्थे । बारीमा उत्पादन भएको टमाटर र खुर्सानी बिक्री गर्न थालेको ५ वर्ष भयो । ‘हाटबजार सञ्चालनमा आएको समयमा २ घण्टामा नै सबै विक्री हुन्थ्यो । बिचौलियाले फाइदा उठाउन पाउँदैन्थे तर लकडाउनका कारण न भनेको मूल्य पाउन सकिएको छ, न त पर्याप्त आम्दानी नै भएको छ,’ उनले भने ।
हाटबजारमा कृषि उत्पादन साटासाट गर्ने पनि गरिन्थ्यो भने हरेक शनिवार उत्पादक र खरिदकर्ताको भीड नै लाग्थ्यो । हाटबजारमा खसीबोकादेखि सिन्कीसम्म बिक्रीका लागि ल्याउने गरिन्थ्यो । दशैं आइरहेको समयमा खसीबोका पनि सस्तोमा पाउने, कुखुराहरू पर्याप्त पाउने हाटबजार अहिले सुनसान बन्न पुगेको छ । कोरोनाको महामारीले चैतदेखि लकडाउन हुँदा हालसम्म हाटबजार सञ्चालनमा आउन सकेको छैन । हाटबजार सञ्चालनमा नआउँदा स्थानीयहरू महंगीको मारमा पर्नुपरेको छ ।
बाबियाचौरका जगत कार्की हाटबजार सञ्चालनमा नआउँदा महंगोमा तरकारी खरिद गर्नुपरेको गुनासो गर्छन् । हाटबजारले कृषक तथा उपभोक्तालाई सस्तो, अग्र्यानिक वस्तु उपलब्ध गराउने र त्यसले दुवै पक्षलाई फाइदा हुने गथ्र्यो । उनी भन्छन्, ‘अब यो लकडाउनको अवधिमा सामाजिक दूरी कायम गरेर भए पनि हाटबजार सञ्चालनमा ल्याउनुपर्छ ।’ दशैं नजिकिएको समयमा हाटबजार सञ्चालनमा आएको खण्डमा सुर्खेतकै उपभोक्ता लाभान्वित हुने उनले बताए । हाटबजारबाट खरिद गरिएका खसीबोका पोखरा र काठमाडौंसम्म लगेर बिक्री गर्ने इतिहास रहेको उनले बताए ।
हाटबजारका कारण किसानको आयस्तर वृद्धि भएको बताउँदै हप्तामा २ दिन शनिवार र मंगलवार हाटबजार सञ्चालन गर्ने तयारी भए पनि कोरोनका कारण समस्या भएको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले बताए । ‘तत्काल हाटबजार सञ्चालनमा ल्याउने अवस्था छैन । नोक्सान सबैको भएको छ,’ उनले भने, ‘हामी कोरोना सामान्य भएपछि २ दिन हाटबजार सञ्चालन गर्ने र यसलाई थप व्यवस्थित बनाउँदै लैजाने योजना बनाएका छौं ।’