
कसूरदार होइन भन्ने अवस्था नहुँदा पनि धरौटीमा छाड्ने त्यो आदेश, ...अनि निम्तियो बर्दिवास घटना
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शाइद आलम अन्सारीकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या आरोपमा अरुणकुमार साह पक्राउ परेका छन् ।
उक्त घटनाको विरोधमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर बर्दिवासकै सञ्जय भनिने बुद्धिराज न्यौपानेको समेत मृत्यु भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय अरुणकुमार साह आफैं प्रहरी कार्यालयमा पुगेर उक्त बालिकाको हत्या गरेको भन्दै आत्मसमर्पण गरेका थिए ।
अहिले उनी प्रहरी हिरासतमा छन् । तर, उनै साह यसअघि पनि ज्यान मुद्दामा पक्राउ परेका थिए । उनलाई अदालतेल १ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको थियो ।
धरौटीमा रिहा भएपछि उनले बालिकाको हत्या गरेको आफैंले स्वीकारेका छन् भने उत्पन्न परिस्थितिका कारण थप १ जनाको ज्यान अनाहकमा गएको छ ।
साहविरुद्ध विचाराधीन रहेको त्यो हत्या आरोप
२०७७ साल वैशाख २८ गते साँझ करीब ५ बजेतिर महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४, विर्ता टोलस्थित गूठी संस्थानको मकै खेतमा गौशालाकै दिलिपकुमार ठाकुरको हत्या भयो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार मृतक ठाकुर र प्रतिवादी अरुणकुमार साह सँगै बसी मादक पदार्थ सेवन गरेर घर फर्किने बेलामा बाटोमा उनीहरूबीच वादविवाद भएको थियो ।
विवादका क्रममा नै साहले ठाकुरको अनुहारमा काठको मुढाले प्रहार गरी हत्या गरेको स्वीकारेका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीले साहलाई पक्राउ गरेपछि अनुसन्धान अधिकारीसमक्ष उनले आफूले हत्या गरेको कुरा स्वीकार गरेको प्रहरी निरीक्षक रेग्मीले बताए ।
त्यसपछि मृतक ठाकुरको २१ वर्षीय छोरा मुकेशकुमार ठाकुरले साहलाई प्रतिवादी बनाई २०७७ वैशाख ३० गते इलाका प्रहरी कार्यालय गौशालामा किटानी जाहेरी दर्ता गराएका थिए ।
नेपाल सरकार समेत वादी भएको उक्त मुद्दामा प्रतिवादी साहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिमको कसूरमा उक्त संहिताको दफा १७७(२)बमोजिम सजाय हुन तथा मृतक ठाकुरको हकवालालाई संहिताको दफा १८६ बमोजिम मनासिव क्षतिपूर्ति समेत दिलाई/भराई पाउनुका साथै निज प्रतिवादीबाट अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ (३) बमोजिम क्षतिपूर्ति दिलाई/भराई पाउन समेतको माग दाबी लिई महोत्तरी जिल्ला अदालत, जलेश्वरमा अभियोगपत्र दायर गरिएको थियो ।
‘दिलिप ठाकुरको अनुहारमा काठको मुढाले पटक–पटक प्रहार गर्दा मुखबाट रगत निस्केको देखेपछि आफू उक्त स्थानबाट भागी गएको, तर त्यही चोटका कारणले उसको मृत्यु भएको भन्ने कुरा मैले पछि सुनी थाहा पाएको हुँ,’ भनेर साहले अनुसन्धान अधिकारीसमक्ष बयान कागज गरेका थिए ।
प्रहरीले शवको मुचुल्का गर्दा पूरै अनुहारमा रगत लागेको, दायाँ कानबाट रगत र गिदी निस्केको, दुवै आँखा किचिएको घटनास्थल शव जाँच मुचुल्कामा उल्लेख गरेको छ । भिसेरा रिपोर्ट नआउञ्जेलसम्म मृत्युको कारण एकिन हुन नसक्ने भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
उक्त मुद्दाको थुनछेक आदेश गर्दा महोत्तरी जिल्ला अदालतका न्यायाधीश सुमनकुमार न्यौपानेले २०७७ साल जेठ १९ गते १ लाख रुपैयाँ धरौटी तोकी तारेखमा रिहा गर्ने आदेश गरेका थिए ।
साहले अदालतमा भने इन्कारी बयान दिएका थिए ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफूलाई गाली गलौज गरेका कारण काठको मुढाले अनुहारमा प्रहार गरेको भनेर स्वीकार गरेको भए पनि अदालतमा भने पूर्णतः इन्कारी बयान दिएका थिए
के छ अदालतको आदेशमा ?
न्यायाधीश न्यौपानेले दिएको आदेशमा पनि प्रतिवादी कसूरदार होइनन् भनी भन्न सकिने अवस्था नदेखिएको कुरालाई स्वीकार गरिएको छ ।
‘तत्काल प्राप्त प्रमाणका रूपमा रहेको घटनास्थल मुचुल्का, जाहेरी दरखास्त, बुझिएको व्यक्तिको कागज, प्रतिवादीको बयान समेतको प्रमाणबाट अहिले नै यी प्रतिवादी कसूरदार होइनन् भनी भन्न सकिने अवस्था देखिएको छैन,’ न्यौपानेले गरेको आदेशमा भनिएको छ, ‘जाहेरीमा स्पष्ट ठोस किटानी नदेखिएको, भिसेरा रिपोर्ट नआउञ्जेलसम्म मृत्युको स्पष्ट नखुल्ने शव परीक्षणको प्रतिवेदनको अवस्था, घटनाको समग्र वस्तुस्थिति, प्रतिवादीको उमेर समेतको अवस्थालाई दृष्टिगत गर्दा प्रतिवादीबाट धरौटी माग्न उपयुक्त देखिएकाले १ लाख रुपैयाँ निज प्रतिवादी साहबाट दाखिला गराई तारेखमा राख्नु ।’


उच्च अदालतमा पुनरावेदन
न्यायाधीश न्यौपानेले गरेको उक्त आदेश बेरीतको भई त्रुटिपूर्ण रहेको देखिँदा उक्त आदेश बदर गरी प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नका लागि नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुरका सह–न्यायाधिवक्ता खडानन्द गौतमले २०७७ साउन ४ गते उच्च अदालत जनकपुरमा निवेदन दर्ता गराएका गराएका छन् ।
जाहेरवाला मुकेश ठाकुरले प्रतिवादी साहले हत्या गरेको भनेर स्पष्ट रूपमा किटानी गरेको भए पनि न्यायकर्ताले विचार नगरी अन्यथा अर्थ गरी स्पष्ट ठोस किटानी जाहेरी नभएको भन्ने आधार दर्शाइ गरिएको उक्त आदेश बेरितको देखिँदा बदरभागी रहेको गौतमको निवेदनमा उल्लेख छ ।
त्यसैगरी प्रतिवादी साहले ठाकुरको अनुहारमा काठको मुढाले पटक–पटक प्रहार गरेको कुरा अनुसन्धान अधिकारी समक्ष बयान गरेको, उक्त चोटपीडाबाट नै निजको घटनास्थलमा नै मृत्यु भएको तथ्य सप्रमाण पुष्टि हुँदाहुँदै न्यायकर्ताले विचार नगरी अन्यथा अर्थ गरी प्रतिवादीको उमेर अवस्थाहरूलाई आधार बनाई गरेको उक्त आदेश बेरीतको भई त्रुटिपूर्ण देखिएको गौतमले निवेदनमा उल्लेख गरेका छन् ।
तीन वर्षभन्दा बढी कैद सजाय गर्नुपर्ने कसूरजन्य कार्यको अभियोग लागेका अभियुक्तलाई तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिव आधार भएमा अभियोग लागेको व्यक्तिलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१)को (ख)मा प्रावधान छ । तर, प्रस्तुत मुद्दामा निज प्रतिवादीलाई जन्मकैदको सजाय हुन अभियोग माग दाबी लिएको अवस्थामा निज प्रतिवादीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेमा सो नगरी १ लाख रुपैयाँ धरौट तारेखमा राख्ने आदेश गरिएको हुँदा बेरीतको देखिँदा त्रुटिपूर्ण भई बदरभागी रहेको उल्लेख छ ।



उच्च अदालत जनकपुरमा उक्त निवेदन दर्ता भएपछि साउन ६ गते एकल न्यायाधीश उज्ज्वल शुक्लाको इजलासले थुनछेक आदेश गर्दा आधार लिइएका सम्पूर्ण प्रमाण कागजातहरूको प्रमाणित प्रतिलिपि साथै राखी कैफियत प्रतिवेदन गर्न महोत्तरी जिल्ला अदालतलाई आदेश गरेको छ ।
त्यसै गरी असोज १६ गते न्यायाधीशद्वय अग्निप्रसाद थपलिया र सकुन्तला घिमिरेको संयुक्त इजलासले मृतकको भिसेरा जाँच गर्न पठाएकोमा सोको रिपोर्ट प्राप्त भए/नभएको के हो, उक्त रिपोर्ट प्राप्त भएको भए मिसिल संलग्न पोस्टमार्टम रिपोर्ट समेत पठाई मृत्युको कारण सम्बन्धमा अस्पतालबाट प्रतिवेदन मागी पठाउन भनी आदेश गरिएको छ ।

त्यसैगरी कार्तिक २१ गते पेशी भएपछि भोलि मंसिर ११ गतेको लागि समेत पेशी तोकिएको उच्च अदालत जनकपुरका शाखा अधिकृत कुबेर ढुंगेलले बताए ।
‘विगतमा पनि पेशी चढेको तथा न्यायाधीशज्यूबाट केही आदेशहरू पनि भएको छ,’ ढुंगेलले भने, ‘मंसिर ११ गतेका लागि अर्को पेशी तोकिएको छ, त्यसमा पनि बहस भएपछि केही आदेश हुन सक्छ ।’