१९ असार २०८३, शुक्रबार

लुम्बिनी बौद्ध विश्वविद्यालयले मनायो १६ औं स्थापना दिवस, बौद्ध शिक्षा विस्तारमा जोड

मंसिर १५, २०७७
लुम्बिनी बौद्ध विश्वविद्यालयले मनायो १६ औं स्थापना दिवस, बौद्ध शिक्षा विस्तारमा जोड

लुम्बिनी बौद्ध विश्वविद्यालयले १६ औं स्थापना दिवस लुम्बिनीमा मनाएको छ । विश्वविद्यालय २०६१ सालमा स्थापना भएको हो ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विश्व शान्तिका लागि बौद्ध दर्शन, साहित्य महत्वपूर्ण रहेको र यसलाई जनमानसमा फैलाउने काम विश्वविद्यालयले गरेको बताए ।

बुद्धका शिक्षा पालनाबाटै सबैको हित र मुलुकको समृद्धि हुने बताए । शान्ति विना मानव जीवनको कल्पना गर्न नसकिने भन्दै दर्शनलाई विश्वभर फैलाउँदै लैजानु र अनुकरण गर्नुको विकल्प नभएको उनले बताए । बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनको प्रचार, पठनपाठन र अनुसन्धानबाट विश्व शान्तिको सन्देश फैलाउँदै विद्यार्थीको उन्नत भविष्य निर्धारण गर्नुपर्ने उनले बताए । 

सो अवसरमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले बौद्ध दर्शनको विकासका लागि विश्वविद्यालयले योगदान गरिरहेको भन्दै यसको उन्नतिका लागि विकास कोष सहकार्य गर्न तयार रहेको बताए । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फखरुद्धिन खानले विश्वविद्यालयले पूर्वाधारका कामहरू गरेकोमा प्रशंसा गरे । विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरले विश्वविद्यालयलाई ठूलो मेहनतबाट यहाँसम्म पुर्‍याउन सकिएको भन्दै यसलाई विश्वकै नमूनाका रूपमा स्थापित गर्नुपर्ने बताए । 

पूर्व उपकूलपति प्रा.डा. नरेशमान बज्राचार्यले बौद्ध अध्ययन र अनुसन्धानलाई केन्द्रमा राखेर यसको गुरुयोजना निर्माण गरिएको बताए । विश्वविद्यालयका उपकूलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयको मूल मर्म बौद्ध दर्शनको अध्ययन र अनुसन्धान नै रहेको भन्दै अहिलेको पुस्ताका लागि आवश्यक हुने विषयहरू समेत चलाएर लगिने बताए ।

विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्यले १६ वर्षको अवधिमा विश्वविद्यालय यो अवस्थामा पुगेको बताए । 

‘बौद्ध धर्म दर्शनसहित अरु विषय पनि पढाउने गरी ऐन संशोधन भएको छ, अब सरकारको अंगका रूपमा पनि आएका छौं,’ उनले भने । विश्वविद्यालयमा लुम्बिनीमै मात्रै राख्नुपर्छ भन्ने जोड भइरहे पनि विश्वविद्यालयको सेवा विस्तारका लागि केही विषय अन्यत्र पनि लैजान जरुरी हुने बताए । ५ जना विद्यार्थी र शिक्षक नहुने विश्वविद्यालयमा अहिले सयौं विद्यार्थी र शिक्षकहरू आएको भन्दै यसलाई अझै फैलाउन सबैको सहयोग आवश्यक हुने बताए ।

विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले विश्वविद्यालयका शैक्षिक गतिविधिबारे जानकारी गराए । उनले शैक्षिक गुरुयोजना अनुरुप विश्वविद्यालयले काम गरिरहेको बताए ।

सो अवसरमा विश्वविद्यालयका विभिन्न संकायमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थी कल्याणकारी परिषद्ले प्रकाशन गरेको ‘कल्याणमित्र’ नामक पुस्तकको विमोचन समेत गरिएको थियो । सो अवसरमा बोल्दै स्मारिकाका सम्पादक एवं परिषद्का सहसचिव नरेश केसीले पठनपाठनका लागि सहयोग हुने गरी स्मारिका प्रकाशन गरिएको बताए ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्रमुख फणिन्द्र कुमार न्यौपानेको कार्यक्रमको सञ्चालन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्