
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
फिफा विश्वकपअन्तर्गत नकाउट खेलमा पोर्चुगल विजयी भएको छ। नाटकीय खेलमा क्रोएसियालाई २–१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा पुगेको हो । अब पोर्चुगलले अर्को चरणमा स्पेनको सामना गर्नेछ। पराजित क्रोएसिया भने प्रतियोगिताबाट बाहिरिएको छ।
००००
कप्तान नेट सिभर-ब्रन्टको उत्कृष्ट पुनरागमन र सानदार ब्याटिङको मद्दतले इंग्ल्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
द ओभलमा गएराति सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ४० रनले पराजित गर्दै इंग्ल्याण्डले उपाधिका लागि चिरप्रतिद्वन्द्वी अस्ट्रेलियासँगको भेट पक्का गरेको हो ।
००००
मिकेल ओयार्जाबालको उत्कृष्ट प्रदर्शनको मद्दतले अस्ट्रियामाथि ३–० को सहज जित निकाल्दै स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा प्रवेश गरेको छ।
लस एन्जलस स्टेडियममा शुक्रबार बिहान भएको खेलमा जित निकाल्दै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको हो।
००००
पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ ।
आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा मुकुल उपाध्यायले सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने जानकारी दिए ।
००००
सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई लाखौँ जरिवाना र १५ दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ ।
नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो ।
००००
मधेस प्रदेश सरकारको मन्त्रालय संख्या घटाएर नौ वटा कायम गर्न उच्चस्तरीय कार्यदलले सिफारिस गरेको छ।
अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा गठित मन्त्रालयको संख्या तथा कार्यविभाजन पुनरावलोकन उच्चस्तरीय अध्ययन तथा सिफारिस कार्यदलले बिहीबार मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो।
००००
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गर्ने निर्णय गरेको छ।
सरकारको उक्त निर्णयसँगै प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सरुवाको आधिकारिक सूची सार्वजनिक गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्कोले आठ जना एआईजीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
००००
सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट बिहीबारदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छन्।
बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई मन्त्री रावलले लालपुर्जा उपलब्ध गराएकी हुन् ।
००००
नेकपा एमालेका नेता तथा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।
असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले बुधबार उनलाई कैद सजाय सुनाएपछि प्रहरीले बिहीबार महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो।
००००
अध्यागमन विभागले भिसाको म्याद थप र भिसा रूपान्तरण सेवालाई थप व्यवस्थित बनाउन आगामी साउन १ गतेदेखि डिजिटल अपोइन्टमेन्ट व्यवस्थापन प्रणाली अनिवार्य रूपमा लागू गर्ने भएको छ ।
प्रत्येक घण्टाका लागि आवेदनको कोटा निर्धारण गरिने भएकाले सेवाग्राहीले आफूले बुक गरेको समयमै विभागमा उपस्थित हुनुपर्नेछ ।
००००
सर्वोच्च अदालतले एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गरिएको रिट खारेज गरेको छ।
न्यायाधीशद्वय विनोदकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार रिट खारेज गर्ने अन्तिम निर्णय सुनाएको हो ।
००००
ईश्वरी भुजेल हत्या प्रकरणमा टिकटकर 'नेपाली ब्रो' भनिने कुमार थापालाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
थापासँगै उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यलाई पनि थुनामा राख्न अदालतले आदेश दिएको हो ।
गत जेठ २२ गते थापामगरले श्रीमती भुजेललाई चक्कु प्रहार गरेर हत्या गरेका थिए ।
भुजेलको परिवारले थापामगर, आचार्य, थापामगरका भाइ विक्रम थापामगर र सुजन थापा क्षेत्रीविरुद्ध जाहेरी दिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो ।
००००
सरकारले काठमाडौंका चार रुटमा 'ब्लू बस' सञ्चालनको तयारी गरेको छ । साझा यातायातसँगको समझदारीमा उपलब्ध बसहरूलाई ''ब्लू बस''का रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो ।
'ब्लू बस' साझा यातायातले नै सञ्चालन गर्ने गरी सरकारसँग सैद्धान्तिक सहमति भएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले लोकान्तरलाई जानकारी दिए । 'ब्लू बस' सञ्चालनको सम्झौताका लागि अर्थ मन्त्रालयको प्रतीक्षामा रहेको उनको भनाइ छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ६६१ दशमलव ७१ मा पुगेको छ ।
००००
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोखरेलले हालै त्रिवि सेवा आयोगको अध्यक्ष पदमा नियुक्त भएका थापालाई शपथ गराएका हुन्।
००००
बिनाहेलमेट मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् ।
आफ्नै निवास परिसरमा शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।