
अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको आरोपमा कैलाश तेल मिल आज सिलबन्दी गरिएको छ ।
उपभोक्ताहित मञ्च र स्थानीय प्रशासनको सहयोगमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट खटिएको टोलीले उक्त उद्योगमा सिलबन्दी गरेको हो ।
रौतहटका अशोक यादवद्वारा विगत करिब चार वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगमा रहेको ४२७ कार्टुन प्याकिङ तेल, बाहिर पार्किङमा रहेको पेट्रोलियम ट्याङ्कर तथा अन्य प्याकिङ गर्न बाँकी रहेको सयौँ लिटर तेल बरामद भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालले जानकारी दिए ।
त्रिदेव ब्राण्ड नाम उल्लेख गरी गुणस्तहीन मिसावटयुक्त तोरी तेल उत्पादन गर्ने कैलाश तेल मिलको चितवन र नवलपरासीमा अत्यधिक बिक्रीवितरण गर्ने बजार क्षेत्र रहेको त्यहाँ कार्यरत मजदूरले बताएका छन् । उत्पादनको नाममा उद्योगले प्याकिङ मात्र गरेको र मिलले अन्य मिलको तुलनामा सस्तो मूल्यमा तेल बिक्री गर्दै उपभोक्तालाई ठग्दै आएको पाइएको बताइएको छ ।