२९ असार २०८३, सोमबार

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह

असार २५, २०८३
काठमाडौं
निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए । 

उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र तथा सम्बन्धित सबै पक्षबीच सक्रिय र प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए । 

महासंघका प्रतिनिधिहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।

salt training

कमेन्ट गर्नुहोस्