
गृहमन्त्री सुधन गुरुङ संघीय संसद्मा भावविह्वल भएका छन् ।
बिहीबार राहदानी विभाग अगाडि आत्मदाह गरी मृत्यु भएका गणेश नेपालीको घटनाबारे जानकारी गराउँदा उनी भावविह्वल भएका हुन् ।
उनले सदनमा प्रश्न उठाउनु अघि बिहीबार राति वीर अस्पतालमा को को पुगे भनेर प्रश्न समेत गरे ।
‘मैले धेरै साथीहरू देखेँ, यहाँ उभिएर घाँटी सुक्ने गरी चिच्याइ-चिच्याइ कराइरहनुभएको छ, हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो,’ गुरुङले भने, 'मुखले चिच्याएर हुँदैन, म स्टन्ट गर्न आएको होइन, देशको सेवा गर्न आएको हो ।’
आफूहरू काम गर्न आएकाले स्टन्ट गर्न नआउने उनले बताए । 'परराष्ट्रमन्त्री र सचिव उठ्नुभयो । भारतीय दूतावासमा कुरा गर्नुभयो । म राति आफैं एयरपोर्ट गएको हो । त्यसलाई स्टन्टबाजी भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबै जनाबाट चाहियो, आफ्ना नागरिकको सेवा गर्नलाई,' उनले भने, 'क्यामेरासँग भाग्ने मान्छे हो हामी । हामीलाई त्यति राम्रो बोल्न आउँदैन । हामीलाई काम गर्न आउँछ । हामीले कुनै दल वा पार्टी भनेर छुट्याएका छैनौं । पहिला दिनभरि ड्रामा हुन्थ्यो । जहाज श्री एयरलाइन्स रेडी गरेकै हो । परमिसन लिएकै हो । डाक्टरहरूले विरामीलाई स्टेबल राख्नुपर्यो भन्नुभयो । ब्लडप्रेसर लो भएपछि ब्यालेन्समा ल्याउनुपर्यो ।'