
यो दाजुको मिर्मिरे आँखा
कस्तो मेरो बिगार्यो दिमाख
नरोऊ मायालु ... !
सारङ्गीको मीठो धुनमा यसरी नरोऊ मायालु भन्दै गाउँबेसीमा गीत गुञ्जाउने लोक कलाकार धनबहादुर गायक सबैलाई रुवाएर यसै हप्ता संसारबाट अलप भए ।
गत माघ १२ गते उपचारकै सिलसिलामा यो सांसारिक मोहबाट उनले आफ्नो इहलीला समाप्त गरेका हुन् ।
नुहाउने क्रममा लडेपछि बेहोस बनेका उनलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो । केही वर्षदेखि उच्च रक्तचाप र फोक्सोका समेत बिरामी धनबहादुरको ५६ वर्षकै उमेरमा असामयिक र अकल्पनीय निधनले सारङ्गीको एउटा तार नै चुँडिएको शुभचिन्तक स्मरण गरिरहेका छन् ।
कालो वर्ण, होचो कद, फुर्तिला र जाँगरिला हर्कबहादुर सारङ्गी र मादल बजाउन माहिर थिए । मीठामीठा गीत रचना गर्ने, आफ्नै संगीत भर्ने र स्वर पनि भर्ने उनी गीत–संगीतका त्रिवेणी थिए ।
यतिसम्म कि पोखरामा हुने सांस्कृतिक कार्यक्रममा धनबहादुरको उपस्थिति अनिवार्य जस्तै हुन्थ्यो । उनी भ्याएसम्म ती कार्यक्रममा प्रायः सहभागी हुन्थे पनि ।
पोखरा महानगरपालिका–१६ बाटुलेचौर निवासी धनबहादुर गन्धर्व संस्कृति रक्षाका लागि एक्ला धरोहर नै थिए । उनकै पहलमा १० वर्षअघि बाटुलेचौरमा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला खोलिएको थियो । जहाँ उनले गन्धर्व संस्कृति र सारङ्गी संरक्षणका लागि आउँदो पुस्तालाई पनि सारङ्गी सिकाउन निःशुल्क रूपमा त्यस्तो व्यवस्था मिलाएका थिए ।
गन्धर्व संस्कृतिका धरोहर झलकमान गन्धर्व उनकै मामा थिए । झलकमानको निधनपछि गन्धर्व संस्कृति जगेर्नाका लागि केही न केही गर्नुपर्छ भन्ने सोचका साथ धनबहादुरले सो पाठशाला स्थापना गरेका हुन् । पाठशाला खोलेसँगै धनबहादुर गन्धर्व संस्कृति संरक्षणमा लागिपर्दै आएका थिए ।
गीतसंगीत सिर्जना तथा संरक्षणमा जीवन नै समर्पण गरेका धनबहादुरमा सानैदेखि सारङ्गीप्रति मोह जागेको उनका सहकर्मीहरू सम्झन्छन् । गण्डकी प्रदेश सांसद एवं नेकपा कास्की अध्यक्ष कृष्ण थापा उनै धनबहादुरका विद्यार्थीकालमै सहपाठी थिए । आफ्ना सहपाठीको निधनपछि विक्षिप्त सांसद थापाले आफूहरू स्कूलदेखिकै सहपाठी भएको बताए । सानो उमेरदेखि नै गीतसंगीतमा रुचि राख्ने धनबहादुरले आफ्नो जीवनको अन्ति घडीसम्म पनि सारङ्गीमा झुकाव राखिरहे । उनी सारङ्गी र मादलका सम्राट रहेको हुँदा उनको झुकावको कदर गर्दै तत्कालीन समयमा विन्ध्यवासिनी संगीत पाठशाला खोलेर जिम्मा लगाएको बताए ।
अत्यन्तै मृदुभाषी, मिलनसार, इमान्दार गायकको निधनले गीतसंगीत क्षेत्रमा अपुरणीय क्षति पुर्याएको बताए ।
धनबहादुरकै रचनामा बहुचर्चित गीत ‘यो दाजुको मिर्मिरे आँखा ...’ ४० को दशकतिर रेडियो नेपालमा खुबै बज्थ्यो । प्रवीण गुरुङ र बीमाकुमारी दुराको संयुक्त स्वर रहेको सो गीतको रचना एवं संगीत दुवै धनबहादुर गायकले गरेका थिए । लोकसंस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्नेमा उनलाई भरपूर विश्वास थियो ।
बाटुलेचौरमै जन्मिएका थिए, जनकविकेशरी धर्मराज थापा, झलकमान गन्धर्व, कर्णबहादुर गन्धर्व । गीतसंगीतको उर्वरभूमि सो ठाउँमा युवा पुस्तामा जन्मिएका थिए धनबहादुर । बाटुलेचौरमा हाल करीब ७५ घरधुरी गन्धर्व समुदायकै छ ।
बहुप्रतिभाशाली धनबहादुर गायन, संगीत र नृत्यमा निपूर्ण रहेको सम्झिन्छन् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र झलकमान गन्धर्व सारंगी पाठशालाको सहकार्यमा धनबहादुरले मालश्री धुन सुनाउने गरेको श्रेष्ठ सम्झिन्छन् । कल्याण शेरचन प्रतिष्ठानमा उनको महत्त्वपूर्ण भूमिका थियो । डाँफे कला मन्दिरमा लामो समय आबद्ध रहे ।

‘बेली र चमेली ...’, ‘मायामा नभुल ...’, ‘लाग्यो बुढेसकाल ...’ लगायत दर्जनौं चर्चित गीतका उनी सर्जक हुन् । उनले लेखेका गीत माग्न विभिन्न ब्याण्ड आएका थिए तर उनले दिएनन् । साथीभाइसँगको कुराकानीमा उनले भन्ने गर्थे, ‘सांगीतिक क्षेत्रमा पनि गन्धर्व जातिलाई प्रयोग गरेर आफू माथि पुगेपछि बिर्सने प्रवृत्ति हावी छ ।’ त्यही भएर उनै आफैंले पछिल्लो पुस्तालाई सांगीतिक क्षेत्रमा निःशुल्क तालिम अवसर दिएका हुन् ।
धनबहादुरको निधनसँगै गन्धर्व समुदायले असल अभिभावक गुमाएको छ । लक्ष्य ब्यान्डका सदस्य धीरज गुरुङले गीतसंगीतको एउटा नक्षेत्र विलिन भएको बताए । धीरजका अनुसार धनबहादुरले निःशुल्क रूपमा आमा समूहलाई मादल बजाउन सिकाउने पनि गर्दथे । पछिल्लो पुस्तालाई सारङ्गी संरक्षणमा सहभागी गराए । आफूले क्रिस्चियन धर्म मान्ने गरे पनि अन्य जातजाति तथा धर्मावलम्बीलाई उत्तिकै समान व्यवहार गर्दथे । उनको स्मरणमा आफूहरूले के गर्ने भन्नेबारेमा केही समयमै योजना बनाउने पनि जानकारी दिए । लक्ष्य ब्याण्ड विशेष गरी इन्स्टु«मेन्टल ब्याण्ड भएको र सारङ्गी नटुट्ने उनको भनाइ छ ।
बाटुलेचौरकै रञ्जन गायकले आफ्ना काका तथा प्रेरणाका स्रोत धनबहादुरसँग गुरुचेला बन्ने क्रममा सांगीतिक यात्रा टुटे पनि आत्मिक रूपमा सधैं आफूहरूसँगै रहिरहने बताउँछन् । आफ्नो पुर्खाको चिनो जगेर्ना गर्न सदैव तल्लिन रहिरहने उनको प्रतिबद्धता छ ।
‘उहाँकै प्रेरणाले म सांगीतिक क्षेत्रमा आएँ । सधैं स्मरण गरिरहनेछु,’ उनले भने, ‘किनकि उहाँजस्तो व्यक्ति अब हाम्रो पुस्ताले पाउने छैन ।’