![फेवाताल किनारको केदारेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/kageshwar_7_0Yh1I2oJ4q.jpg)
पोखराको फेवाताल किनारस्थित केदारेश्वर मन्दिर पछिल्लो समय भक्तजनको लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
चाहे साउने सोमवार बोलबम होस् वा शिवरात्रिको दिन वा अन्य कुनै चाडपर्वमा मन्दिर दर्शन गर्ने दर्शनार्थीको बिहानदेखि साँझैसम्म घुइँचो लाग्दछ ।
शिवरात्रि पर्वको दिन पनि पोखरा–६ बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिंगमा जल चढाउन तथा भगवान् शिवको पूजाआराधना गर्नका लागि पोखरासहित छिमेकी स्थानबाट बिहीवार बिहानैदेखि मानिसहरू आएका छन् ।
भक्तजनको अत्याधिक भीडका कारण व्यवस्थापनमा समस्या भएको केदारेश्वर महादेवमणि मन्दिर संरक्षण समितिले जनाएको छ । लाइनमा बसेका सबैलाई जतिसक्दो छिटो र सहज रूपमा पूजा गर्ने व्यवस्था मिलाइएको हो । दर्शनार्थी दिउँसोसम्म पनि लाइनमा देखिन्छन् ।
साउनको सोमवारझैं भक्तजन आएको मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले बताए । साउन सोमवारमा बोलबम मनाउन यस मन्दिरमा हजारौं दर्शनार्थी आउने गर्दछन् । त्यसैले यो मन्दिरलाई पछिल्लो समय बोलबमधामको रूपमा पनि चिनिँदै आएको छ ।
शिवरात्रिको दिन भक्तनको घुइँचो बढेपछि मन्दिरका चारैतिरबाट ढोका खोलेर मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । पूजाको थालीसहित मन्दिर दर्शन गर्न आएका भक्तजन मन्दिरमा भजनकीर्तन गरी नाचगान समेत गरेका थिए ।
मन्दिर छेउमा फेवाताल, खुला वातावरण, १०८ वटा शिवलिंग लगायत मन्दिरको विविध भौतिक संरचना र पारीपट्टि मनोरम रानीबनले यो क्षेत्र धार्मिक एवं पर्यटकीय महत्त्वको केन्द्र बन्दै आएको छ ।











