असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
निजामती सेवामा कहिल्यै प्रवेशै नगरेको र अध्यापनलाई नै जीवनको पहिलो र अन्तिम पेशा बनाएको मजस्तो मनुवाले ‘सुब्बासाहेब’को पगरी कसरी गुथ्न पाउनु ? त्यसैले यो संस्मरणको शीर्षक पढेर यहाँहरूलाई अचम्मै लाग्यो होला तर कुरा सयका सय नै साँचो हो, भूmटो भए अहिले नै मरिजाऊँ !
प्रसङ्ग २०६० साल माघको हो । बाराको कलैया नगरपालिकामा घर भएको म पीएचडीको अध्ययनका लागि काठमाडौंमा बसेको थिएँ, २०५८ सालको मंसिरदेखि नै । डेरा घट्टेकुलोमा सूर्योदय स्कूलसँगै जोडिएको उत्तरतिरको ३ तले घरको माझतलामा थियो । साथमा कान्छो छोरा आकाश उपाध्याय पनि थियो । ऊ चाबहिल क्याम्पसमा बीबीएसको विद्यार्थी थियो ।
हामीले २ वटा कोठा लिएका थियौं । एउटामा छोराको ओछ्यान र भान्सा थियो भने अर्कोमा चाहिँ मेरो ओछ्यान र भएभरिका पुस्तक–कापीका ठेलीहरू फिँजारिएका थिए ।
म त्यहाँ २०५९ सालको फागुनसम्म मात्र बसें । आवश्यक प्रक्रिया पूरा गरेर पीएचडीको स्थायी नामांकन गराएपछि मैले काठमाडौंको डेराको बास छाडेको थिएँ । कलैयाको आफ्नो घरमै बसेर शोधप्रबन्ध लेख्दै जाने र लिखित अध्यायहरूका खेस्रा शोधनिर्देशक र शोधविशेषज्ञज्यूहरूलाई देखाउन र उहाँहरूबाट आवश्यक निर्देशन लिनका निम्ति बेलाबेला १/२ रात बस्ने गरी काठमाडौं आउने गर्न थालेको थिएँ ।
मैले नियमित रूपमा काठमाडौं बस्न छाडेपछि घट्टेकुलोको त्यो डेरा अब छोराको एकलौटी भएको थियो । त्यसपछि छोराले पनि बसिराखेका २ कोठामध्ये एउटा कोठा छाडेको थियो अनावश्यक खर्चबाट जोगिन । अब एउटै कोठामा सबै काम चलाएर बसेको थियो ऊ । म आक्कलझुक्कल आउँदा छोराकै त्यही एककोठे डेरामा गाह्रोसाँघुरो गरी दिनरात कटाउँथें ।
२०६० सालको माघदेखि मेरा गुरुहरूको सल्लाहबमोजिम मैले फेरि नियमित रूपले काठमाडौंमै बस्नुपर्ने भयो केही महिना नै । मलाई अब पर्यो डेराको समस्या । छोरो बसेको घरमा कुनै कोठा पनि खाली थिएन । उसले छाडेको कोठामा पनि उसैताका अरू कोही आएर बसिसकेको थियो । मलाई पर्यो महाआपत । एउटै सानो कोठामा त्यसमा पनि भान्सा सहितको कोठामा २ जना विद्यार्थी बुवाछोराको महिनौं गुजारा चल्नै सक्दैनथ्यो । मेरा असरल्ल फिँजारिएका पचासौं पुस्तक र कापीका ठेलीहरूले नै कोठाको आधा भाग खाइदिन्थे । २ वटा ओछ्यान अनि भान्साका र्याक, चुलो र ३–४ वटा पानीका बाल्टिनहरू कताकता राख्नु ? १–२ दिनको कुरा भए पो । २–३ दिन जसोतसो गुजारा चलाइयो । बुवाछोरा दुवैलाई अप्ठ्यारो परेकाले त्यसपछि चाहिँ हामीले आपसमा सल्लाह गर्यौं – मैले एउटा कोठा भाडामा लिएर आफ्नो अध्ययन–लेखनलाई सजिलोसित अघि बढाउने, बिहान–बेलुकाको भोजन चाहिँ छोराकै भान्सामा गर्ने । त्यसका लागि मैले डेरा लिने कोठा पाइएसम्म छोरा बसेको घरकै नजिक पायक पर्ने ठाउँमा, नभए बढीमा ५–७ मिनेटको दूरीमा हुनुपर्ने थियो । त्यसैले अब म दिउँसोभरि त्यस्तो एककोठे डेराको खोजीमा घट्टेकुलो, मैतीदेवी र डिल्लीबजारका गल्लीगल्ली र घरघर चहार्न थालें । तर जतिसुकै भौंतारिए पनि अहँ चित्तबुझ्दो कोठा कतै फेला परेन । नजिक नपाइने, टाढा मलाई नमिल्ने त्यसैले म बिलखबन्दमा परें ।
त्यसैक्रममा एक दिन दिउँसो मैतीदेवी र डिल्लीबजारको बीचतिर घर भएका ‘रत्नश्री’का सम्पादक/प्रकाशक शान्तदेव भट्टराई दाजुकहाँ गएर दाजुभाउजूलाई गुहारें । शान्त, सरल र सहयोगी स्वभावका शान्त दाइसित २०२८ सालको शुरूदेखि मेरो आत्मीयतापूर्ण सम्बन्ध थियो । त्यसैले पीएचडीको नामांकन प्रक्रियाका निम्ति तोकिएको मितिमा आवेदन पत्रसँगै बुझाउनुपर्ने शोधप्रस्ताव र ३ वटा अनुसन्धानात्मक लेखहरू आदरणीय दाजुभाउजूको वात्सल्यपूर्ण निमन्त्रणामा उहाँहरूको त्यही घरको सुविधासम्पन्न एउटा कोठामा डेढ महिनासम्म ढुक्कसित आसन जमाएर तयार पारेको थिएँ । २०५७ सालको फागुन आधाआधीदेखि चैत मसान्तसम्ममा र ती सामग्री त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायको डीन कार्यालयमा बुझाएर घर कलैया फर्केको थिएँ परिणामको प्रतीक्षा गर्न । ३ वर्षअघिको त्यस प्रसङ्गको बयान मैले ‘देवमन्दिरमा डेढ महिना’ शीर्षक संस्मरणमा केही वर्षअघि नै गरिसकेको छु । अहिले उहाँहरूको घरायसी परिस्थिति ३ वर्ष पहिलेको जस्तो थिएन र मैले पनि ‘पल्केको तिल्के घरीघरी मिल्के’ गर्नु थिएन ।
अँ त, केहीबेरको सोचविचारपछि दाजु शान्तदेवले भाउजू शान्ता देवीलाई आफ्नो टोलछिमेकमा मेरो निम्ति एककोठे डेरा मिल्ने घर सोधखोज गरिदिन अह्राउनुभयो । त्यसपछि लगत्तै भाउजू मलाई साथै लिएर सम्भाव्य घरहरूमा पुग्नुभयो । तर जतिसुकै चहार्दा पनि सफलता हात लागेन । हार खाएर घर फर्कने क्रममा श्रेष्ठ हो कि प्रधान यस्तै कुनै थर भएका १ जना नेवारको ३–४ तले घरको ढोका ढकढकाउनुभयो भाउजूले । त्यस घरकी कार्यसहायक एउटी सानी नानीले ढोका खोलिन् । घरधनीबारे सोध्दा घरमै माथि कोठामा रहेको थाहा भयो र भाउजू मलाई सँगै लिएर सबभन्दा माथिल्लो तलामा उक्लनुभयो । ढोका खोल्ने सानीनानीबाट हामी आएको खबर पाएर घरधनी महिला कोठाबाट बाहिर निस्किइन् । ५० जति उमेरकी उनी विधवा रहिछिन् र सुब्बाकी पत्नी भएकी हुनाले आफ्नो टोलमा ‘सुब्बिनी’ नामले नै चिनिँदी रहिछिन् । नमस्कारको आदानप्रदानपछि उनले हामीलाई कोठामा लगिन् । कोठाको ढाँचाकाचाबाट त्यो उनको सुत्ने कोठा हो भन्ने प्रस्टै बुझिन्थ्यो । हामी तीनै जना कोठाभित्र पसेपछि मैले सर्सर्ती कोठाको हुलिया नियालें ।
मझौला आकारको त्यस कोठामा २ वटा पलङ सजिएका थिए । एउटा पलङ दक्षिण सिरान हुने गरी उत्तर–पश्चिमी भित्तामा टाँसिएको थियो भने अर्को पलङ चाहिँ पूर्व सिरान हुने गरी पूर्व–दक्षिणी भित्तामा टाँसिएको थियो । २ पलङको बीचमा पश्चिम–दक्षिणी कुनामा भित्र पस्ने ढोका थियो । दक्षिणी भित्तामा माथिपट्टि एउटा खाइलाग्दो पुरुषको फ्रेमजडित ठूलो फोटो झुण्डिएको थियो । यसका साथै कोठाको अन्य भाग पनि अरूअरू सामानले सजिएको थियो । सुब्बिनी साहेबले भाउजूलाई उत्तरतिरको पलङमा आफूसँगै बसाइन् र मलाई दक्षिणी पलङमा बस्न अनुरोध गरिन् ।
आसन–ग्रहणपछि भाउजू र घर मालिक्नीबीच भलाकुसारी र घरव्यवहारका सामान्य कुरा भए टोले हुनाका नाताले । त्यसपछि भाउजूले मेरो बारेमा बेलीविस्तार लगाएर घरमा कुनै कोठा खाली छ भने मलाई उचित भाडामा केही महिनाको लागि दिन अनुरोध गर्नुभयो । जवाफमा उनले भनिन्, ‘छन् त बीचको तलामा एउटा उज्यालो र घमाइलो कोठा खालीजस्तै छ । त्यसमा अचेल नातिनी बस्ने गरेकी छे । उसको जाँच आउन थाल्यो त्यसैले त्यस कोठालाई उसले आफ्नो पढ्ने कोठा बनाएकी छे । म उसलाई ‘सुत्ने कोठामा नै पढ्नू’ भनेर त्यो कोठा छोड्न लगाउँछु । सर पनि पीएचडी गर्दै हुनुहुँदोरहेछ । म सरलाई त्यो कोठा दिने भएँ । ढुक्क हुनुभए हुन्छ ।’
त्यसपछि हामीले त्यो कोठा हेर्न खोज्यौं । उनी जुरुक्क उठेर तल गइन् र एक छिनपछि आएर भनिन्, ‘अहिले नातिनी आफ्ना साथीहरूसित सँगै बसेर पढ्दै रहिछे । त्यसैले मैले बाहिरबाट जति कराए पनि र जति ढोका ढक्ढक्याए पनि खोल्दै खोलिन । केहीबेरपछि खोल्छे अनि हेर्नुहोला नि !’
हामी त्यहाँ पुगेको आधा घण्टा नाघिसकेको थियो । कोठा कतिबेला हेर्न पाइने हो, त्यसको अझै कुनै टुंगो थिएन । सुब्बिनीसाहेब अब फेरि हामीसित गफिन थालिन् र अब आफ्ना स्वर्गीय सुब्बासाहेबको गुणको बखानमा लागिन् । दक्षिणी भित्तामा टाँगिएको त्यो फोटो उनै सुब्बासाहेबको रहेछ । हामीलाई झर्को लागेर आयो र बिदा हुन खोज्यौं तर उनले उठ्न दिइनन्, बरु चिया बनाएर ल्याउँछु भन्दै आफैं उठिन् । त्यसपछि भाउजू घर जान हतारिँदै मलाई ‘बाबू, अरू केहीबेर बसेर कोठा हेरेरै आउनुहोला । म चाहिँ अब जान्छु । दाजु एक्लै होइसिन्छ घरमा । निकै बेर पो भैसक्यो त घर छोडेको’ भनेर उठ्नुभयो । सुब्बिनी साहेबको चियालाई उहाँले पर्खनुभएन ।
‘फेरि कुनै दिन खाउँला नि चिया’ भनेर उनको अनुरोधलाई विनम्रतापूर्वक अस्वीकार गरी घरतिर लाग्नुभयो ।
निकै गफाडी रहिछिन् सुब्बिनीसाहेब । त्यसपछि पनि उनी प्रासङ्गिक–अप्रासङ्गिक कुरा झिकेर मसित गफिइरहिन् । म बबुरो कोठा हेर्न पाउने आशमा समय कटाउनको लागि उनका कुरा सुनिरहन बाध्य थिएँ मनमा तीव्र छटपटी हुँदाहुँदै पनि ।
अरू १ घण्टा बितेपछि भने मेरो धैर्यको बाँध फुटेर छताछुल्ल भयो र म ‘पछि आउँछु’ भनेर जुरुक्क उठें तर उनले मलाई कर गरेर फेरि बसाइन् ‘एकैछिन अरू बस्नोस् सर !’ भन्दै र चिया पनि खुवाइन् । त्यसपछि उनी फेरि तल गइन् र केहीछिनमै फर्केर आइन् । अब उनको जवाफ यस्तो थियो – ‘नातिनी त जाँच नसिध्धिउन्जेल त्यो कोठा छोड्दै छोड्दिनँ भन्छे, साह्रै जिद्दी पो छे त । उसको जाँच अझ आएकै छैन, सिध्धिने त कहिलेकहिले ! त्यसैले सरलाई अहिले मैले त्यो कोठा दिन नसक्ने भएँ, तैपनि केही छैन, सरको व्यवस्था म यै घरमा मिलाउँछु । यसो गरौं सर ! तपाईं यै कोठामा बस्नोस् । आफ्ना लुगाफाटा र किताबकापीहरू अहिले नै गएर ल्याइहाल्नोस् । ओढ्ने ओछ्याउने ल्याउन पर्दैन । छक्क पर्दै मैले सोधें – ‘अनि तपाईं कता सर्नुहुन्छ त ? अरू कोठा त खाली नै छैन, भन्नुभएको होइन र ?’ उनले सहजभावमा जवाफ दिइन् – ‘अर्को कोठा खाली भएको भए त म सरलाई त्यै दिइहाल्थें नि ! म पनि यै कोठामा बस्ने हो ।’ र आफू बसेको र म बसेको दुवै पलङतिर देखाएर भनिन् – ‘इः यो चाहिँ पलङमा म सुत्छु, त्यो पलङमा तपाईं सुत्नुहोला भएन त समस्या समाधान ?’
मेरै उमेरकी उनको त्यो निर्लज्ज जवाफ सुनेर लाजले रातै हुन पुगें म । माघ महिनामा पनि चिटचिट पसिना आयो जीउभरि । मुटुको चाल खलाँतीजस्तै तीव्र भयो । म बसेको पलङमाथि दक्षिणी भित्तामा झुण्डिएर टुलुटुलु हामीतिर हेरिरहेका फोटोको सुब्बा साहेबले आफ्नी सुब्बिनी साहेबबारे के सोचे होलान् कुन्नि ! म चाहिँ केही नबोली कोठाबाट बाहिरिएर फटाफट भर्याङ ओर्लिई छोराको डेरातिर लागें । भट्याकभट्याक गरिराखेको मेरो मुटु भन्दै थियो – बाफ् रे, झण्डै सुब्बासाहेब हुन पुगेको !
(१४ कात्तिक २०७६, इमाडोल, ललितपुर)
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...