०८ असार २०८३, सोमबार

जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौंको भीड

बैशाख १, २०७८
जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौंको भीड

नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न बुधवार विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ ।

परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा बुधवार बिहानैदेखि शुरू भएको छ ।

जात्रा हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे लगायतका विभिन्न जिल्लाबाट हजारौंको घुइँचो लागेको छ । 

जात्राको चौथो दिन चैत ३१ गते अर्थात् पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भक्तपुर नगरपालिका–५ योसिंखेलमा ५५ हात लामो लिङ्गो ठड्याउने परम्परा भए पनि यस वर्ष बुधवार दिउँसोसम्म पनि लिङ्गो उठाउन सकेको छैन । मंगलवार साँझदेखि नै हजारौं स्थानीयको सहभागितामा लिङ्गो उठाउन खोज्दा पनि दिउँसोसम्म लिङ्गो उठाउन सकिएको छैन ।  

५५ हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ३१ गते उठाएर १ गते दिनभर जात्रा गरी साँझ ढाल्ने परम्परा रहेको छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप २ वटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक ८ वटा डोरीले तानेर लिङ्गो ठड्याइने प्रचलन रहेको छ । 

लिङ्गोको कोखामा झुण्ड्याइएका २ वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजा समेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्काको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् ।

बुधवारै सूर्यविनायक नगरपालिका–१ सिरुटार र दधिकोटको संगमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीय एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए ।

किम्बदन्तीअनुसार सिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनर्जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बुढापाकाको भनाइ छ भने यही विश्वासले बुधवार कुण्डमा स्नान गर्ने बिहान ४ बजेदेखि नै भीड लागेको छ । 

प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको १ नम्बर वडाका वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिए । 

मन्दिरमा बिहान ५ बजेदेखि नै ३ वटा खट सहितको खट जात्रा समेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।

दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रासमेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । सिरुटार, बालकोट र ललितपुरको टीकाथली जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ ।

सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी जात्रा मनाएका छन् । धिमे बाजाका साथ रथलाई टोलटोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिए । – रमेश गिरी/रासस

salt training

कमेन्ट गर्नुहोस्