निराशाको बादलबीच युग निर्माणको सम्भावना : यस्ता छन् युगद्रष्टाका संकल्प

सुशील गौतम
सुशील गौतम

गौतम मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष हुन् 

सत्ता वृत्तमा रहेका नेताहरूले पुन: आफ्नो असली रूप देखाएका छन् ।

अस्थिर सरकार नै ठूलो कमजोरी रहेको हुँदा पार्टी एकीकरण गर्ने भन्दै चुनावमा गएको वाम गठबन्धनलाई जिताएको खण्डमा स्थायी सरकार बन्ने र त्यसमा टेकेर समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार हुने अपेक्षासहित जनताले झण्डै दुई तिहाइ मत दिएका थिए ।


Advertisement

समृद्ध नेपाल, सुखी नेपालीको नारा तुहिएको संकेत सरकार बनेको १ वर्ष बितेलगत्तै शुरू भएको सत्ता कलहले दिइसकेको थियो ।

प्रचण्ड र केपी शर्मा ओली बीचको लुछाचुँडी, आरोपप्रत्यारोप र आफ्नापछाडि कति टाउका रहेका छन् भन्ने प्रतिस्पर्धा वैशाख २७ मा छताछुल्ल भइसकेको छ ।

समृद्ध नेपाल सुखी नेपालीको सम्भावनालाई आफ्नै दलका सांसदले विश्वास गरेनन्, सर्वसाधारणको कुरै भएन ।

झन्डै दुईतिहाइ मत पाएर आरामदायी सरकार चलाउन पाउँदा पनि प्रचण्ड र ओली बीचको कुर्सी युद्धले गर्ल्यामगुर्लुम ढल्न पुग्यो । 

सत्ताको निम्ति जस्तोसुकै तिकडम गर्न सक्छन् भन्ने कुरा इतिहासका कैयौं घटनाले प्रमाणित गरिसकेको छ ।

सांसद किनबेच गर्नु, सुरासुन्दरी काण्ड, रातारात अध्यादेश ल्याएर पार्टी फुटाउनु, सांसद खरिद गर्न करोडौं रकम आवश्यक भएको भन्दै विदेशीसँग हारगुहार गर्नु, बिरामी नभएका सांसद आईसीयूमा भेटिनु कपुतन्त्रे राजनीतिको विशेषता हो । पहिले पनि भएको थियो । अहिले पनि भयो र सत्तामा स्थापित गरिरह्यौं भने फेरी फेरी पनि गर्नेछन् ।

नेपालको सत्तावृत्तमा एउटा पुरानो रोग छ । नेता बन्ने रोग । पार्टी एकता भएको दिनदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड र ओलीबीच लडाईं थियो । एमालेभित्र अहिले केपी ओली र माधव नेपालबीच खिचातानी छ ।

सहमतिउन्मुख भनिए पनि खास सहमति भइसकेको छैन । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचको कलह कहिलेकाहीँ स्टेजमै कुटाकुट गर्लान् कि जस्तो गरी प्रकट हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी त कतिपटक एकता भयो र कतिपटक विभाजित भयो भन्ने विषयमा सक्रिय कार्यकर्ता नै अलमलमा छन् ।

जनता समाजवादी पार्टीमा त एक हुल अध्यक्ष छन् । कुनै पनि बेला फुट्न सक्छ । वैकल्पिक भनेर खोलिएका राजनीतिक दलमा समेत यही रोग दोहोरियो । एकताको १७ महिना नबित्दै दुई अध्यक्ष आ-आफ्नो बाटो लागे । रोगको उपचार अझै गरिएको छैन, ढाकछोप गर्ने प्रयास मात्रै गरिएको छ । संयोजक र अध्यक्ष भनेर ।  

संस्कृतको एउटा नीति वचन छ- अनायका विनश्यन्ति, नश्यन्ति बहुनायका ! अर्थात् जुन समाजमा नेता छैनन्, त्यो समाज ध्वस्त हुन्छ र जुन समाजमा धेरै नेता हुन्छन्, त्यो समाज पनि ध्वस्त हुन्छ । नीति वचनको दृष्टिकोणबाट हेर्दा नेपालमा दुवै अवस्था छ । एउटा सर्वमान्य, क्षमतावान नेताको अभाव छ भने अर्कातिर जो पनि नेता बन्नुपर्ने समस्या छ ।

एकभन्दा बढी नेतृत्व हुनेबितिक्कै त्यहाँ बहुध्रुव हुन्छ । कि त्यहाँ एक पक्षलाई अर्को पक्षमाथि विश्वास छैन भन्ने बुझिन्छ । कि कुर्सीमाथि दुवै पक्षले दाबी गर्ने तर कसैले छोड्न नमानेपछि दुवै बसेको ठहर्छ ।

नेपालमा आफू जस्तो त्यागी कोहि छैन भनेर भाषण ठोक्ने तर महाधिवेशनसम्म पनि कुर्सी छोड्न नसक्ने । सारा नेपालीले आफूलाई विश्वास गर्नुस् भन्दै भाषण गर्ने तर आफ्नै पार्टीको अर्को नेताले चाहिँ विश्वास नगर्ने विडम्बनापूर्ण अवस्था छ ।  

कोरोना महामारीले मुलुक आक्रान्त बनेको छ । अस्पतालमा बेड खाली छैन । बेड भए अक्सिजन छैन । कोरोना संक्रमणको पहिलो लहर चल्दा नै पर्याप्त तयारी गर्नुपर्ने थियो । परिस्थिति अत्यन्त बिग्रिएको अवस्था (वर्स्ट केस सिनारियो) को आकलन गरेर आवश्यक होल्डिङ सेन्टर, आइसोलेसन क्याम्प, अक्सिजन र सिलिन्डरको व्यवस्था गरिएको भए शायद आज अक्सिजनको अभावमा भटाभट ज्यान गुमाउने अवस्था रहँदैन थियो ।

अस्पतालहरूले हात उठाउने बेला आइसक्यो तर सत्ता वृत्तमा सत्ता समीकरणको रस्साकस्सी सकिएको छैन । जुनबेला पर्याप्त तयारी गर्नुपर्ने थियो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड गुट रत्नपार्कमा र ओली गुट दरबारमार्गमा आफ्नो पछाडि कति मान्छे छन् भनेर देखाइरहेका थिए ।

अर्को गुट सत्तामा हावी होला भन्ने चिन्ताले भारतमा नयाँ भेरियन्टको भाइरस फैलिँदै गएको चालै पाएनन् ।

केन्द्रीय सत्तामा मात्रै होइन, कर्णाली, लुम्बिनी र गण्डकीमा सरकार लडाउने र बचाउनेमै ध्यानमग्न रहे ।

संस्कृतको नीति वचनमा त भनिएको छ नेता नभए पनि र धेरै नेता भए पनि समाज ध्वस्त हुन्छ । आज पशुपतिमा लास जलाउने ठाउँ बढाइँदै छ । अस्पतालहरूबाट बिरामी फर्काइँदै छ । समाज कुन अवस्थामा पुगेको रहेछ यहीँबाट देखिन्छ । सबै नेता बन्न खोज्नु र सर्वमान्य नेता नहुनुको पीडा हाम्रो समाजले भोग्दैछ ।  

भन्नु परोइन, नेपालका सत्तावृत्तमा रहेका सबै दलहरू गतार्थ एवं असान्दर्भिक विदेशी सिद्धान्तको फोटोकपीधारीहरू हुन् ।

जर्मनीबाट ल्याइएको मार्क्सवाद, रसियाबाट ल्याइएको लेनिनवाद, चीनबाट ल्याइएको माओवाद र जर्मनीकै वेस्टफ्यालियाबाट ल्याइएको राष्ट्रराज्य सिद्धान्तका फोटोकपीधारीहरूमध्ये को बाट शासित हुने भनेर चुनावमा मत दिने गरेका छौं । सिद्धान्तत: जसोतसो फोटोकपी गरेर बनाए पनि नेता फोटोकपी गरेर ल्याउने कुरा भएन । समस्या यहाँ छ ।

नेपालको विद्यमान समस्याको समाधान खोज्न कोही चीन पुग्ने, कोहि रसियन मोडल खोज्ने कोहि युरोप छिर्ने र आम नेपाली गतार्थ सिद्धान्तको प्रयोगशाला बनिरहने अवस्था जबसम्म रहन्छ । न नेपालमा राजनीतिक स्थायित्व आउँछ, न नेपाली जनता सुखपूर्वक जीवनयापन गर्नसक्छन् ।   

कुनै समय आफ्नो व्यापारीमाथि कुटपिट हुँदा तिब्बतमाथि आक्रमण गरिएको यो राष्ट्र आज प्रधानमन्त्री भैसकेका व्यक्ति तिब्बत जनसरकार प्रमुखबाट ट्युसन पढ्ने हैसियतमा पुगे ।

विदेशी खुफिया एजेन्सी सरकार प्रमुखको भान्छामै पुगेर थर्काएर जाने अवस्था आएको छ । नेपालमा सरकार ढले चीन हावी भएर कि भारत भनेर लख काट्ने अवस्था आउनु भनेको गौरवशाली यो राष्ट्र कति तन्नम अवस्थामा पुर्याइसकेछन् त ?

समाधान के हो त ?

कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं मुलुकको हरेक क्षेत्र समस्याको डङ्गुरले थिचिएको अवस्थामा आशाको किरण हामीले पाएका छौं ।  

नेपालको राजनीतिमा कमैले कल्पना गरेका होलान् नेपालकै मौलिकताको आधारमा पनि समग्र राजनीति, अर्थतन्त्र र शिक्षातन्त्र सञ्चाचालन गर्न सकिन्छ भनेर । युगद्रष्टा गुरु डा. निर्मलमणि अधिकारीले दुई दशकभन्दा लामो समय हिन्दू, बौद्ध, बोन, जैन, किरात जस्ता नेपालका मौलिक धार्मिक सम्प्रदायको ग्रन्थहरूको गहिरो अध्ययन गर्नुभयो ।

विश्व परिस्थिति बुझ्नुभयो र अब विश्व कता जाँदै छ र त्यसको सही मार्ग निर्देशक सिद्धान्त कस्तो हुनुपर्छ भनेर गम्भीर चिन्तन गर्नुभयो । आज हामीले नेपाललाई मात्रै होइन, विश्वलाई मार्गनिर्देश गर्नसक्ने सहृदयता दर्शन, आधारशीला चतुष्टय, राज्यराष्ट्र सिद्धान्त र स्थितिगत्यात्मक प्रगतिवाद पाएका छौं । यो युगद्रष्टा गुरुको अनुसन्धान, अनुष्ठान र साधनाको उपज हो । 

नेपालको इतिहासमा शायद बिरलै भएको थियो कि आफू मरीमरी दु:ख गरेर सिद्धान्त बनाउने, राजनीतिक संगठन बनाउनको लागि आवश्यक पूर्वाधार सबै तयार गरिदिने तर आफू अध्यक्ष नबन्ने । भएको थियो ?

नेपालमा जसले दल खोल्छ उसैले अध्यक्ष पद दाबी गरेर प्राण जाने बेलासम्म पनि आफैँ अध्यक्ष बन्नु नौलो हो र ? तर आफैँले सृष्टि गरेर आफ्ना शिष्यहरूलाई प्रशिक्षित गर्दै एकपछि अर्को पदमा आसिन गराउनु नेपालका निम्ति बिल्कुलै नौलो कुरा हो । सबै आफैँले बनाइदिएर भविष्यमा पनि कुनै पनि कार्यकारी पद नलिने घोषणा गर्नु ऐतिहासिक घटना हो ।

नेतैनेता पनि देखापर्ने तर सर्वमान्य नेताको अभाव खड्किएको नेपालको राजनीतिमा विशिष्ट नेतृत्व, सामूहिक कर्तृत्त्व, संस्थागत स्वामित्त्व भन्ने संगठन पद्धति मौलिक सूत्र बनाई मूलप्रवाहमा ल्याउनु भएको छ ।

सत्तावृत्तमा रहेका दलहरूले यही कुरा मात्रै अनुसरण गरिदिए नेपालको भद्रगोल राजनीति केही हदसम्म स्थायित्वमा जान्थ्यो । तर आज कुर्सीका लागि लुछाचुँडी गरेका नेता भनौदाहरूका लागि यो विषय कल्पनाभन्दा बाहिरको हो ।

नेतृत्व विशिष्ट नै हुन्छ । सही गर्ला, गलत गर्ला तर गर्न त केही गर्छ । अनिर्णयको बन्दी बन्दैन । जवाफदेहिताबाट भाग्न सक्दैन । तर यहाँ प्रश्न उठ्न सक्छ विशिष्ट नेतृत्व कथमकदाचित स्वेच्छाचारी भए के गर्ने ? यो समस्याको समाधान हाम्रै मौलिक परम्परामा धेरै अगाडि नै गरिसकिएको छ । ऋषि सत्ता र राज सत्ता भनेर । ऋषि सत्ताको काम ज्ञानको सिर्जना गर्ने हो । मार्गनिर्देश गर्ने हो । राजसत्ताको काम राज्य सञ्चालन गर्ने हो । तर ऋषि सत्ताले कार्यकारी अधिकार लिँदैनन् ।

नेपालबाट स्थायी शक्ति मानिएको राजतन्त्र हटिसकेको छ । राजनीतिक स्थायित्वको निम्ति बनाइएको संविधानअन्तर्गत बनेको पहिलो सरकारले खुट्टी देखाइसकेको छ । दलहरू यिनै हुन्, नेताहरू यिनै हुन् । एकपछि अर्को नेपालको सामाजिक सांस्कृतिक संरचनामाथि विदेशी विधर्मीको कुदृष्टि परिरहेको छ ।

अन्नपूर्णको देशमा खाद्यान्न आयात गरेर पेट भर्नुपर्ने अवस्था छ । त्यही अन्न किन्न आवश्यक रकम जोहो गर्न ६० लाख युवाहरू विदेशिएका छन् ।

सामाजिक सञ्जालमा ठाडठाडै एउटा जातिका मानिसको सफाया गर्ने धम्की भाइरल हुन्छ । प्रशासन मौन बस्छ । समाज विध्वंसको बाटोमा जाँदैछ भनेर अरू केही संकेत आवश्यक पर्छ ?

तर घोर नैराश्यताको बादलले ढाक्दा पनि आशा, आत्मविश्वास र आत्मीयता” भन्ने सूत्र बनाई सकारात्मक अभियानको थालनी युगद्रष्टाले किन गर्नुभयो ? नयाँ युवा पिंढीलाई शिक्षित, प्रशिक्षित र दीक्षित बनाउँदै समाजको हरेक क्षेत्रमा कर्म गर्न किन स्थापित गर्नुभयो ?

विज्ञान र धर्मलाई विपरीत झैं ठान्ने पुस्ता माझ वैज्ञानिकतायुक्त धर्म धार्मिकतायुक्त विज्ञान भन्ने सूत्र बनाई धर्म र विज्ञानको सातत्यको सम्बन्ध निरूपण किन गर्नुभयो ? द्वन्द्वात्मक भौतिकवाद भन्दै एकविरुद्ध अर्को नलडी नहुने धुन्धकारीहरू माझ स्थितिगत्यात्मक प्रगतिवाद किन मूलप्रवाहीकरण गर्नुभयो ? संकीर्ण राष्ट्रियताको वकालत गर्नेहरू हावी भइरहेको अवस्थामा किन राष्ट्रियताको उदार चिन्तन बोकेको राज्यराष्ट्र सिद्धान्त ल्याउनुभयो ? 

श्रीमद्भागवत गीतामा भनिएको छ,

परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम् ।

धर्म संस्थापनार्थाय सम्भवामि युगेयुगे ॥

जबजब अधर्मबाट समाज आक्रान्त बन्छ, युगयुगमा त्यस्ता व्यक्तिको पदार्पण हुन्छ जसले घोर अन्धकारबाट ज्योतिको बाटो देखाउँछ ।

यी सबै घटनाहरूले देखाउँछ कि सत्तावृत्तमा रहेका दलहरू मुलुकलाई विघटनको संघारमा पुर्‍याए पनि नेपालमा त्यस्ता युगद्रष्टाको जन्म भइसकेको छ जसले नेपाललाई विश्वको मार्ग निर्देशकको रूपमा स्थापित गर्न आफ्नो सम्पूर्ण जीवन समर्पण गरिसक्नुभएको छ ।

घोर निराशाकाबीच नेपाल अब पुनर्जागरण हुँदै युगनिर्माणको दिशामा अघि बढिसकेको छ ।

अन्धकारको अस्तित्व क्षणभरमै नष्ट गर्न एउटा दियोको ज्योति काफी हुन्छ । नेपालको राजनीति, अर्थतन्त्र, शिक्षातन्त्र र समाजको क्षेत्रमा भइरहेका निराशाका बादल हटाएर युगद्रष्टा गुरुले युग निर्माणको शंखघोष गरिसक्नुभएको छ । आउनुस् अब मौलिकतातिर फर्किऊँ । युग निर्माणका लागि अग्रसर बनौँ । युगद्रष्टाको संकल्प साकार पारौं ।

युग निर्माण दिवसको सबैमा हार्दिक शुभकामना !

सुशील गौतम
सुशील गौतम

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्