×

NMB BANK
NIC ASIA

आर्यघाटमा तीन घण्टा

कमरेडहरू, तमासा बढी भो, चित्कार सुन्न एकपटक आर्यघाट जानुस् !

जेठ ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सोमवार दिउँसो सवा एक बजे । एउटा मिटिङ सकाएर भाइ निर्मललाई भेट्न उनले काम गर्ने सिटिजन्स बैंकमा भर्खर छिरेको मात्र थिएँ, मोबाइलमा घण्टी बज्यो । यसो हेरें, श्रीमतीजीको फोन । 

Muktinath Bank

घरमा चाहिने सामान बिहानै किनेर लगेको थिएँ । सबै ठीकठाक थियो । तैपनि दिउँसो ‘अड टाइम’मा आएको फोनले अतिरिक्त खुल्दुली थप्यो । सानोतिनो कामका लागि मलाई हत्तपत्त उनी फोन गर्दिनन् । फोन उठाउनासाथ भनिन्, “तपाईं कहाँ हुनुहुन्छ ? हेर्नुस् न ....(एकजना नजिकको आफन्त ) बित्नुभएछ । तपाईं बुवालाई लिएर तुरुन्त जानुपर्ने भो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई दिनअघि म घरबाहिर भएकै बेला यसैगरी उनको फोन आएको थियो र त्यतिबेला पनि नजिकका आफन्त बितेको खबर सुन्नुपरेको थियो ।


Advertisment
Nabil box
Kumari

केही साताअघि भारतमा बस्ने स्कूल जीवनकी प्रिय साथी कोरोनाकै कारणले बितेपछि हल्लिएको उनको मुटु अझै ठीक ठाउँमा आइसकेको छैन । यसबीचमा आफन्त र साथीभाइ थुप्रै बिते उनका । 

Vianet communication
Laxmi Bank

श्रीमतीजीतिरका मात्र होइन, म स्वयं विगत केही सातायता विक्षिप्त छु । आफूलाई दुःखमा सहयोग गर्ने प्यारा दाइ र साथीहरू एकपछि अर्कोगरी गुमाउँदाको पीडा मुटुमै गडेको छ ।

सोमवार दिउँसोको फोन विगत केही समययता दैनिकीजस्तै बनेको मृत्युको खबरको निरन्तरता जस्तो मात्र थियो । 

जे गर्छु भनेर घरबाट निस्किएको थिएँ, सारा योजना क्षणभरमै चौपट भयो । मृत्युजस्तो विषय, अल्मलिने कुरा भएन । बुवा र म सरासर शिक्षण अस्पताल महाराजगञ्ज पुग्यौं ।

अस्पताल स्वाभाविक रूपमा भरिभराउ थियो । बुवालाई अस्पताल प्रवेश गर्ने अगाडिको भागमा ओरालेर म पार्किङ स्थल पुगें । कार पार्क गर्नै लाग्दा गार्डले इशारा गरे– त्यहाँ नरोक्नुस् । कारको झ्यालको शिशा खोलेर सोधें– यहाँ रोक्न मिल्दैन ?

उनले भने– सर, हेलिकप्टर कुनै पनि बेला आउन सक्छ । त्यसैले यहाँ मिल्दैन । शिक्षण अस्पतालको पार्किङस्थलमा हेलिप्याड छ । उनले हेलिप्याड छेउछाउमा रोक्न नदिने अडान लिए ।

केही समययता हेलिकोप्टरको आवतजावत व्यापक बढेको रहेछ त्यहाँ । ‘दिनमा कतिपटक आउँछ हेलिकप्टर ? कोरोनाका बिरामी लिएर आउने त होला नि होइन ?’ मेरो प्रश्न सकिन नपाउँदै गार्ड दाइले भने, ‘ठेगानै हुन्न सर । जुनसुकै बेला आउन सक्छ । आइरहन्छ ।’

गार्डको जवाफबाट सहजै अनुमान लगाउन सकिन्थ्यो कोभिडको भयावह कुन हदमा फैलिएको छ । यसबीचमा हामीले लोकान्तर डट्कममै धेरैपटक समाचार प्रकाशित गरिसक्यौं– ५ देखि ७ लाख तिरेर हेलिकोप्टरबाट बिरामी काठमाडौं पुर्‍याइयो । अस्पताल पुर्‍याउनसाथ बिरामीको मृत्यु, आदि इत्यादि ।

शिक्षण अस्पतालबाट शव लिएर हामी आर्यघाट पुग्यौं । त्यहाँ पुग्दा दिउँसोको करीब ३ बजेको थियो । बाहिर कडा निषेध आदेश लागू छ । सडक सुनसान प्रायः छ । तर पशुपति आर्यघाटको छेउछाउमा सयौंको संख्यामा गाडी देखें मैले । मानिसको भीड उस्तै । एम्बुलेन्स र शवबाहनको ताँती उस्तै ।

अझै अर्को दृश्य यो पनि देखियो- करीब तीन घण्टाको बसाइमा सातवटा ट्रक दाउरा लिएर त्यहाँ आइपुगे । सिंगो शहर चकमन्न छ । तर, पशुपति आर्यघाट चौबीसै घण्टा जागा । समयको पछिल्लो चक्रले संसारका सर्वाधिक व्यस्त एयरपोर्ट, हाइवे, सिनेमा घर, बिजेनस कम्प्लेक्स ठप्प पारिदियो । अरू ठप्प हुँदा आर्यघाटचाहिँ चौबीसै घण्टा जागा । 

हामी शव जलाउने स्थानमा पुग्यौं । बुवा र अंकलहरू दाहसंस्कारको कर्मतिर केन्द्रित हुनुभयो, म चाहिँ वरिपरिको वातावरण नियाल्न लागें । आकाशबाट पानी पर्‍यो । मानिसहरू ओत लागे । सबैको अनुहारमा त्रास, निराशा, पीडा र आँखामा आँसु मात्र । 

मानिसहरू आफन्त गुमाएको शोकमा रोइरहेका थिए । सिंगो आर्यघाट आँसुमा डुबेको थियो । वरिपरि चितैचिता । हरेक कुनामा चिता, दाउरा र पहेंला कपडाको खात । 

ओत लाग्ने मध्येका एकजना बोले, कस्तो समय आयो दैव, के देख्नुपरेको यो ? उनी कोरोनाका कारण आफन्त गुमाएको शोकमा डुबेका थिए, शायद । ​

एकैछिनपछि त्यहाँ आक्रोश शुरू भयो । ‘छिः छिः छिः यस्ता पनि नेता ? त्यो प्रचण्डे (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड), त्यो शेरे (काँग्रेस सभापति शेरबहादुर देउवा), त्यो उखाने ओली (प्रधानमन्त्री केपी शर्मा ओली) र अनि हाम्री राष्ट्रपति (विद्यादेवी भण्डारी)को नामै लिएर मानिसहरू आक्रोश व्यक्त गर्न थाले । 

मनमनै सोचें– आर्यघाटमा आएका मानिस त शोकमा हुन्छन् । आफन्त या नातेदार गुमाउँदाको पीडा पो भयंकर हुनुपर्ने होइन यतिबेला ? जो बितेको छ उसको तारिफ या चर्चा पो हुनुपर्ने होइन ? जो मर्‍यो उसको अभावमा हुने क्षति या समस्याका बारेमा चर्चा पो गर्छन्, त मलामीहरू । तर यहाँ त मानिस नेतालाई गाली गरिरहेका छन् । जिउँदा हाम्रा नेताजीहरूले आर्यघाटमा पनि गाली खानुपर्ने ?  

म यस्तो सोंच्दै थिएँ । तर मलामीको आक्रोश थामिएन । एक जनाले शुरू गरेको नेताहरूप्रतिको आक्रोश यसरी फैलियो जसरी चितामा राखेको लासको मुनिबाट आगोको लप्को फैलिरहेको थियो । मलामीले कसैलाई बाँकी राखनेनन् । धेरै गालीचाहिँ प्रचण्ड, ओली र राष्ट्रपतिलाई गरे । माधव नेपालचाहिँ अब सिपी मैनाली जस्तै हुने भनेर टिप्पणी गरेको सुनें मैले ।

‘प्रचण्डे भन्ने मानिस रहेसम्म यो देशमा शान्ति हुँदैन । माधव नेपाल उसको जालमा फस्यो । पहिला देउवालाई लात हानेर ओलीतिर टाँसिन पुगेको प्रचण्ड अहिले ओलीले लात हानेपछि फेरि देउवा र नेपालतिर टाँसिन पुगेका छन्,’ एक मलामीको आक्रोश थियो– ‘ल ओली त खत्तमै भए रे, यो प्रचण्डले भकाभक मानिस मरेको बेला एक शब्द कतै बोलेका छन् ?’

मलामीहरूको आक्रोश दिनहुँ सयौंको संख्यामा मानिस मर्दा नेताहरू कुर्सीको लडाईं र दाउपेचमा अल्झेकोमा ज्यादा केन्द्रित थियो । धेरैले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उछितो काढे ।

‘यस्तो पनि राष्ट्रपति हुन्छ ? जसले जे ल्यायो उत्तिखेरै त्यहीँ सदर गरिदिने ?’ एकजनाले प्रश्न गरे । अर्काे बोले– ‘प्रधानमन्त्रीले सिफारिश गरेको सदर नगरे फाइल अड्काउने अधिकार राष्ट्रपतिलाई कसले दियो भन्छन्, सदर गरे आँखा चिम्लेर ओलीलाई सघाएको आरोप लाग्छ, केही गरे नि सुख छैन तिनलाई पनि ।’

देउवालाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुन्छ भनेको, पदभन्दा मरिहत्ते गर्ने गरेको विषय पनि उठ्यो त्यहाँ । ‘यस्ता नेताबाट के आशा गर्नु ? खत्तम पारे देश,’ यस्तै गुनासो गरे मलामीले ।

त्यसरी नेताहरूलाई सरापेको कमै सुनेको छु मैले । मानिसहरूले तल्लो स्तरमा ओर्लेर पनि गाली गरे । मुखै छाडेर पनि गाली गरे नेतालाई । कोरोनाले धेरै मानिस मर्नुमा नेताहरू नै जिम्मेवार रहेको मलामीहरूको आरोप थियो । ‘पाप धुरीबाट कराउँछ, कराउँछ, ढिला चाँडो मात्र हो’ एकजना मलामीले थपे, ‘कुनै बेला यसरी गर्ल्याम्म ढलिएला भनेर राजाहरूले सोचेका थिए र ?’

विस्तारै पानी रोकियो । मलामीहरू तितरवितर भए । म केही पर रहेको विद्युतीय शवदाह गृहमा पुगें । एक घण्टा त्यहीँ वरपर बिताएँ । एक घण्टामा मैले जे देखें त्यो यो सानो आलेखमा उतार्न सम्भव छैन । तर विद्युतीय शवदाह गृह वरपरका केही मुटु भक्कानिने प्रसंग उल्लेख गर्न लायक छन् ।

म पुग्नु केहीबेर अघि १० महिने बालकको शव त्यहाँ ल्याइएको रहेछ । कोरोनाका कारण उनको ज्यान गएछ । विद्युतीय शवदाह गृह प्रवेश गर्ने बाटोको एक छेउमा दुईजना वृद्ध आमाहरू बसेका थिए ।

‘तपाईंहरू के कामले यहाँ आउनु भएको ?’ मेरो प्रश्न सुन्नेबित्तिकै करीब ७० वर्षको जस्तो देखिने आमा बोल्न थालिन्, ‘भर्खर १० महिनाको बच्चा यहाँ ल्याएका थिए । कति पीडा भयो होला आमा बुवालाई ? हे दैव के गरिस् यस्तो ?’ उनीहरू पनि जोरपाटीबाट त्यहाँ आएका रहेछन् । धुरुधुरु रोइरहेका थिए, आफन्त गुमाएको शोकमा ।

आफ्नै आफन्त गुमाएको पीडा त छँदै थियो । तर ती ७० वर्षको जस्तो देखिने वृद्ध आमालाई १० महिने बालकको शव त्यहाँ ल्याउँदा भक्कानो फुटेछ । यो पंक्तिकारको अगाडि बोल्दै गर्दा उनले आफूलाई सम्हाल्नै सकिनन् । धरधरि रोइन् । ‘१० महिनाको त्यो अबोध बालकले कसको के बिगारेको थियो ? के पाप गर्‍यो त्यसले र यति छिट्टै चुँडिस् दैव ?’ उनी भक्कानिइन् ।

१० महिनाको बच्चा कुन अस्पतालबाट कतिखेर ल्याइएको रहेछ भनेर जान्ने इच्छा पलायो मलाई । एकपछि अर्को एम्बुलेन्स शव ल्याउँदै ओराल्दै गरिरहेका थिए । प्रत्येक १०–१० मिनेटमा एउटा एम्बुलेन्स आइपुग्थ्यो । ती एम्बुलेन्समा सेनाको पोशाक लगाएका सुरक्षाकर्मी बस्दा रहेछन् ।

पीपीई र मास्क लगाएका मानिस एम्बुलेन्स रोकिनेबित्तिकै झरेर शवलाई बाहिर निकाल्दा रहेछन् । कोभिडका कारण ज्यान गुमाउनेलाई विद्युतीय शवदाह गृहमा जलाउने गरिएको रहेछ । 

तर पछिल्लो समय विद्युतीय शवदाह गृहले थेग्न सकेनछ । कोभिडका कारण दैनिक दुई सयको हाराहारीमा मानिसको ज्यान जान थालेपछि शव व्यवस्थापनमा गाह्रो परेर होला विद्युतीय शवदाह गृह पछाडिको जमिनमा (बाग्मती किनारामा) चितामा लास जलाउन शुरू गरिएछ । 

एम्बुलेन्स आउने जानेक्रम बाक्लो थियो । मैले चौरमा उभिएर शव व्यवस्थापन गरिरहेका (पछाडिपट्टि नेपाल आर्मी लेखेको टिसर्ट लगाएका) एक अधिकृतलाई ती १० महिने बालकको ठेगानाको बारेमा सोधें । उनले वाकीटकी सेटबाट कतै सोधे ।  

लगत्तै प्रश्न गरे, ‘तपाईं को हो ? किन चाहियो र सूचना ?’ मैले आफ्नो परिचय दिएँ । ‘१० महिने बालक त आज बित्यो । ५ दिनअघि कान्ति बाल अस्पतालबाट न्वारान नै नगरेको बालकको कोरोनाका कारण मृत्यु भएपछि शव यहाँ ल्याइएको थियो,’ उनले थपे ।

ओहो! न्वारान नै नगरेको शिशुको पनि मृत्य भयो है ? आमाबुवालाई कति चोट पर्‍यो होला है ? मेरो जिज्ञासा सुनेपछि उनले भने, ‘कुरै नगरौं सर । यहाँ कस्ताकस्ता हृदयबिदारक विषय छन्, भनिसाध्ये छैन ।’

मेरो अनुरोध अनुसार सोमवार मृत्यु भएका १० महिने बालकको ठेगाना पत्ता लगाउन खोज्दै थिए, उनी । त्यत्तिकैमा तीनवटा एम्बुलेन्स एकैपटक त्यहाँ आइपुगे । तीनै वटामा शव थियो । उनलाई कामको चाप थपियो । उनको व्यस्तता देखेपछि मलाई उनीसँग सूचनाका लागि थप अनुरोध गरिरहन मन लागेन ।  

म केही पछाडि सरें । विद्युतीय शवदाहगृह वरिपरि घर भएको वा बसोवास गर्ने त्यहीँको स्थानीय कसैसँग कुरा गर्न चाहन्थे, जसले विगत केही सातायताको त्यहाँको माहोल बताउन सकोस् । संयोगले फेला पारेँ– ठ्याक्कै विद्युतीय शवदाह गृहको पारिपट्टिको स्लम (सुकुम्वासी) बस्तीमा १८ वर्षदेखि बस्दै आएकी मेनुका गुरुङलाई । 

मेरो अनुरोधपछि उनी कुराकानी गर्न तयार भइन् । ‘तपाइँ लामो समयदेखि यता बस्नुहुँदोरहेछ, केही सातायता जसरी लास जलेको देख्नुहुन्छ नि, के कारणले यति धेरै मानिस मरेका हुन्, केही बुझ्नु भएको छ ? 

‘कोरोनाले भन्छन्,’ उनले छोटो प्रतिक्रिया दिइन् । थपिन्, ‘चौबीसै घण्टा यत्तिकै हो आजकल यहाँ बाबु । राति पनि जलेकै छन् । दिउँसो पनि जलेकै छन् । पहिला त यति साह्रो कहिल्यै देखिएन । अहिले त बिहान उठ्दा पनि लास, राती सुत्दा पनि लास । लासैलास, धुँवा नै धुँवा ।’

उनको कुरा सुनेपछि मलाई लाग्यो, जिन्दगी आखिर धुवाँ त रहेछ ।

उनी पशुपति आर्यघाट छेउमा चिया पसल चलाउँदी रहिछिन् । निषेध आदेशपछि चिया पसल पनि बन्द हुँदा उनी निराश थिइन् ।

‘कोठा भाडा कसरी तिर्ने ? कसले तिर्दिन्छ ? ती नेताले तिर्दिन्छन् ? उनीहरूलाई त आफ्नै गोजी भर्न भ्याइनभ्याइ छ । यहाँ आफूलाई गाह्रो भैसक्यो । पेटभरि खान गाह्रो छ । बच्चा छन् । यसरी कति दिन सकिन्छ ?’ पीडा सुनाइन् उनले । 

मैले कोठा कता पर्छ भनेर उनलाई सोधें । उनले आफू कोठातिरै जान लागेकाले पछिपछि आउन भनिन् । मैले उनलाई पछ्याइरहेँ । 

उनले बाग्मतीको किनारैकिनार मलाई हिँडाइन् र यस्तो पुल तराइन जुन मैले अहिलेसम्म देखेको थिइनँ । चलचित्र पशुपतिप्रसादमा आर्यघाट वरिपरिका विभिन्न दृश्य देखेको याद आयो । 

‘यहाँबाट पारि जान दिन्छ त ?’ विद्युतीय शवदाह गृहको पछाडि रहेको वर्षौँ पुरानो फलामे पुलमा पुगेपछि मैले सोधें । ‘मिल्छ आउनुस् न’ उनी फटाफट अघि बढिन् । पारि पुगेपछि उनी बस्ने स्थान आइपुग्यो । त्यो एउटा सानो सुकुम्बासी बस्ती रहेछ । 

हो त्यही बस्तीबाट ठ्याक्कै पारि वाग्मती किनारमा जलिरहेका लासमा मेरो आँखा पुग्यो । ती सबै कोरोनाका कारण बितेका मानिसका लास थिए । 

जीवनमा कहिल्यै नदेखेको दृश्य थियो त्यो मेरा लागि । ठ्याक्कै गन्न त सम्भव भएन तर करीब ७० को हाराहारीमा एकैपटक लास जलिरहेका थिए । धुवाँको मुस्लो नै मुस्लो । वरिपरि गन्ध नै गन्ध । चलचित्र हेरेजस्तो, तर पत्याउनै पर्ने वास्तविक दृश्य । यस्तो कारुणिक दृश्य जसले जो कोहीको मनमुटु छियाछिया पारिदिन्छ । 

मलाई केही क्षणमै गाह्रो भयो लासको गन्धले । सोधें, ‘दिदी, मलाई यहाँ १० मिनेट उभिन गाह्रो भयो । तपाईंहरूलाई रातदिन यहीँ बस्न गाह्रो हुँदैन ?’

मेरो प्रश्न सुनेपछि ती गुरुङसेनी दिदीको जवाफ थियो– ‘भाइ मलाई यी लास, यो धुवाँको मुस्लो र गन्ध केहीले छुँदैन । मलाई मेरो पसल खोलेर चिया बेच्न पाए हुन्थ्यो । तपाईं पत्रकार हुनुहुँदोरहेछ, मेरो कुरा सरकारलाई सुनाइदिनुहोस् न है ? नभए त म र मेरा बच्चा भोकले मर्ने भयौं ।’

यति भनिसक्दा ति दिदीका आँखामा आँसु छचल्किए । मैले उनलाई वालेटबाट निकालेर एक हजार रुपैयाँ दिएँ र भनें, ‘दिदी, मेरो कुरा सरकारले कति सुन्छ थाहा छैन । तर, तपाईंसँगको कुराकानीलाई समेटेर एउटा आर्टिकल अवश्य लेख्नेछु ।’

यो आलेख ती दिदीले पढ्नेछिन् या छैनन्, थाहा छैन । तर, जिम्मेवार सरकारी अधिकारी कसैले यो आलेख पढ्दै हुनुहुन्छ भने निषेध आदेशको मारमा परेका ती दिदीजस्ता हजारौं मजदुरको पीडाले पोल्ला है तपाईंहरूलाई ।

अलिकति भएपनि उनीहरूका पीडा सम्बोधन गर्न ध्यान दिइदिनुस्, कृपया । नत्र सराप लाग्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x