१६ असार २०८३, मंगलबार

धार्मिक संकीर्णताले बुद्धदर्शनविरुद्ध अनेक क्रियाकलाप भए : प्रधानमन्त्री ओली

जेठ १२, २०७८
धार्मिक संकीर्णताले बुद्धदर्शनविरुद्ध अनेक क्रियाकलाप भए : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीले २ हजार ५६५ औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिएको सन्देशमा भनेका छन्, ‘यस्ता कुराहरू नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरू आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरू नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरू पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’

मानव जातिकै कारणले खल्बलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दीगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण रहेका बताए ।

‘नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो । विभिन्न धार्मिक असहिष्णुता जस्ता कुराहरू, धार्मिक संकीर्णता जस्ता कुराहरूले बुद्धदर्शनका विरुद्ध अनेक क्रियाकलाप भए र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिए,’ सन्देशमा भनिएको छ, ‘तर बुद्धका उपदेशहरू, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न सक्दैनथ्यो र मरेन । तसर्थ फेरि बुद्धको जन्मस्थानको खोजी हुने परिस्थिति बन्यो । बुद्धको जन्मस्थान किन खोज्नुपर्‍यो ? बुद्धका विभिन्न रिलिक्स (अस्तु) अथवा अवशेषहरू तिनीहरूको खोजीको महत्त्व र तिनको पवित्रताको बारेमा विश्वको ध्यान किन गयो ? यी सबै कुरा मानव जातिको आन्तरिक आकांक्षा अथवा शान्ति र सुखको आकांक्षाबाट खोजी हुन थाल्यो ।’

उनले सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ भएको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोभिड–१९ का कारण फरक रूपमा बुद्धजयन्ती मनाउनुपरेको स्पष्ट गरे । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा बोकेर बहुतै तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेका बेला कोभिड–१९ को महामारीले हामीलाई हाम्रो गतिलाई, हाम्रो वेगलाई गम्भीर रूपमा व्यवधान पुर्‍याए पनि निराश हुन नहुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्