
युरोपेली महारथी नेदरल्यान्ड्स र अफ्रिकन पावरहाउस मोरक्कोबिचको खेल अतिरिक्त समयतर्फ धकेलिएको छ । फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियममा निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएपछि खेल अतरित्त समयमा धकेलिएको हो ।
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले गोल गर्न सकेनन् र हाफ टाइमसम्म खेल ०–० को बराबरीमा रह्यो। दोस्रो हाफको ७२ औँ मिनेटमा लिभरपुलका फरवार्ड कोडी गाक्पोले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाए । गोल गरेलगत्तै नेदरल्यान्ड्सका सम्पूर्ण खेलाडीहरू मैदानमा दौडिएर गाक्पोलाई अङ्गाल्दै उत्सव मनाउन पुगेका थिए ।
नेदरल्यान्ड्स जिततर्फ अघि बढिरहेका बेला खेलको ९० मिनेट पछिको इन्जुरी समय (९०+१ मिनेट) मा मोरक्कोका आई. डिओपले सनसनीपूर्ण गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए र मोरक्कोको संकट टारे।
जारी २०२६ विश्वकपमा ९० मिनेटको खेल सकिएपछिको समय (इन्जुरी समय) मा गोल भएको यो २५ औँ पटक हो, जसले यो विश्वकप कति नाटकीय र रोमाञ्चक भइरहेको छ भन्ने देखाउँछ।
दुवै टोलीका लागि यो 'गर या मर' को अवस्था छ, किनकि यो खेल हार्ने टोलीले सिधै घर फर्किनुपर्नेछ । अब खेलको निर्णयका लागि नेदरल्यान्ड्स र मोरक्कोले अतिरिक्त समयमा फेरि आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने भएको छ ।