
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
चार पटकको विश्व विजेता जर्मनी जारी सन् २०२६ को फिफा विश्वकपबाट बाहिरिएको छ। मंगलबार बिहान भएको रोमाञ्चक नकाउट खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै जर्मनी बाहिरिएको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
००००
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको रोमाञ्चक खेलमा ग्याब्रियल मार्टिनेलीले खेलको अन्तिम समयमा गोल गरेपछि ब्राजिलले जापानमाथि २–१ को नाटकीय जित हात पारेको छ।
मंगलबार बिहान ह्युस्टन स्टेडियममा भएको प्रतिस्पर्धात्मक जितसँगै पाँच पटकको विश्व विजेता ब्राजिल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।
००००
देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न बाध्य भएका छन् ।
सिँचाइ तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा विस्तार गरिएको छ । विभागको तथ्याङ्कअनुसार नेपालमा कूल ३५ लाख ५७ हजार ७६४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तीमध्ये २५ लाख ३६ हजार ३१९ हेक्टर जमिनमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
००००
सोमबार असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेपलाञ्चोक जिल्लामा असार १५ का लागि यहाँका चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिए ।
००००
विद्युतीय राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जना प्रतिवादीसँग धरौटी माग गरेको छ ।
अदालतले सोही मुद्दाका अन्य दुई प्रतिवादीलाई भने साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।
००००
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्न सोमबार अदालतसमक्ष पेस गरेकोमा अदालतले दोस्रो पटक ३ दिनको म्याद थप गरेको हो ।
००००
त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण आंगिक क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका उपनिर्देशक सन्देशकुमार रेग्मीले क्याम्पस प्रमुखहरूलाई पठाएको पत्रमा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको निर्देशनअनुसार ६० दिनभित्र क्याम्पस परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन भनिएको छ।
००००
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय निर्वाचन समितिमा दुई जनालाई मनोनीत गरेका छन्।
पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा रहेको समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य तथा अधिवक्ता राजु कटुवाललाई सदस्य सचिवमा मनोनयन गरिएको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ५४ अङ्कले ओरालो लागेर दुई हजार ६३२ दशमलव ९६ मा ओर्लेको छ ।
००००
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई गोली प्रहार गरेर हत्या गर्ने भन्दै पेस्तोल बोकेका दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मुखियापट्टीका कमन यादव र सुधिर मुखिया छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले यादव र मुखियाबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
छविसपाथिभेराका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला र दुर्गाथलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेलसहित ९ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
००००
सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङले आफ्नै सवारीबाट शुरूआत गरेका छन् ।
सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले आफूले प्रयोग गर्ने सरकारी गाडीमा जडान गरिएको कालो सिसासमेत तत्काल हटाउन निर्देशन दिएका हुन् । त्यससँगै ट्राफिक प्रहरीलाई पनि अभियानलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउन आग्रह गरेका छन् ।
००००
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस सोमबार खेतमा काम गरी दही चिउरा खाएर मनाइयो । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
००००
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन् । असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।