०७ असार २०८३, आइतबार

बजेटले पोखरा क्षेत्रमा के–के विषय समेट्यो ?

जेठ १५, २०७८
बजेटले पोखरा क्षेत्रमा के–के विषय समेट्यो ?

पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन र आँबुखैरेनी–पोखरा सडकखण्डको स्तरोन्नति तथा विस्तारमा सरकारले बजेट विनियोजन गरेको छ ।

नागढुंगा–मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा खण्ड फोरलेनको बनाउने योजनालाई सरकारले बजेट विनियोजन गरेको हो । 

शनिवार आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट विनियोजनबारे जानकारी दिएका हुन् । 

आँबुखैरेनी–पोखरा सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनौट पनि भइसकेको छ । यो सडक डेडिकेटेड फोरलेनको बनाइँदैछ । सोको लागि ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको हो ।  

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आगामी आर्थिक वर्षभित्रै सक्ने लक्ष्य राखेको छ । सोको लागि ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ ।

सरकारले देशका ४ अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माणमा कूल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा सबैभन्दा बढी पोखरामा परेको हो । 

पोखरामा निर्माणाधीन पोखरा रंगशालालाई पूर्णता दिइने बताए पनि सरकारले बजेट भाषणमा बजेट रकम भने विनियोजनबारे उल्लेख गरेको छैन । युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ । 

पोखरामा हुने भनिएको नवौं राष्ट्रिय खेलकुदका लागि बजेट विनियोजन गरेको छ । गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोनाका कारण छेकिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले मंसिरदेखि फागुनसम्म प्रतियोगिता गर्ने तयारी गरेको छ । 

पोखरा महानगरभित्र पर्ने रुपाताल एकीकृत परियोजनाका लागि २७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

पोखरा निवासी पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको योगदानलाई पनि सरकारले सम्झेको छ । उनको नाममा पूर्वको सुकेटार विमानस्थलाई पूर्व पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीको नामबाट नामाकरण गर्ने घोषणा बजेटमार्फत गरिएको हो । २०७५ सालमा चुहानडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अवलोकनका लागि जाने क्रममा अधिकारी चढेको हेलिकोप्टर दुर्घटना हुँदा उनको निधन भएको थियो । 
 

कमेन्ट गर्नुहोस्