०३ असार २०८३, बुधबार
लकडाउन डायरी - भाग ८

राष्ट्रिय वाणिज्य बैंकका सीईओको लकडाउन डायरी: जब एकपछि अर्को गरी परिवारका सबैलाई संक्रमण भयो...

राष्ट्रिय वाणिज्य बैंकका सीईओको लकडाउन डायरी: जब एकपछि अर्को गरी परिवारका सबैलाई संक्रमण भयो...

कोरोनाभाइरस (कोभिड– १९)को दोस्रो लहरका कारण घोषित निषेधाज्ञा शुरू भएपछि हामीले बैंकमा काम गर्नका लागि छुट्टै कार्यविधि बनायौँ ।

काम गर्ने शैली पनि बदल्यौँ । जसअनुसार सम्भव भएसम्म घरबाटै काम गर्ने र हप्तामा एक दिन कार्यालय जाने निर्णय भयो । त्यसै अनुरूप हामी काम गरिरहेका थियौँ ।

तर केही दिनमै मलाई कोरोना संक्रमण भयो जसले गर्दा २२ दिनसम्म म आइसोलेसनमा बस्नुपर्ने भयो । हाम्रो परिवारमा ७ जना सदस्य छौँ सबै सदस्यलाई एकपछि गरी कोरोना संक्रमण भयो ।

परिवारमा म, मेरी श्रीमती, २ जना छोरा, बुहारी, २ जना नातिनातिना छौँ, हामी सबैलाई कोरोना संक्रमण भयो ।

पारिवारिक स्थिति असामान्य नै भएको थियो । हामीहरूले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइसकेका थियौँ । त्यसैकारण पनि धेरै गाह्रो भएन जस्तो लाग्छ । 

यसबीचमा हामीलाई चाहिने सामानहरू अफिसकै साथीभाइले ल्याइदिने गर्नुभयो । सबैजनालाई ठीक हुन २५ दिनजति लाग्यो । 

पछिल्लो परीक्षणका क्रममा हामीलाई कोरोना नेगेटिभ आएपछि म अफिस जान थालेँ । शुरूमा अलि कम समय बस्थेँ अफिसमा ।

यसबीचमा कतिपय दिनहरूमा थाकेको, गाह्रो भएको महशुस भयो । त्यस्ता दिनहरूमा मैले घरमै बसेर काम गरेँ ।  डकुमेन्ट घरमै मगाएर हस्ताक्षर मात्रै गर्नुपर्ने काम पनि घरबाटै गरेँ । त्यसपछिको समय बिहान, दिउँसो तथा बेलुका जूम मिटिङमार्फत पनि काम गरेँ । 

अहिले करीब १० दिनदेखि नियमित अफिस गइरहेको छु । पछि समय बढाउँदै लगेर अहिले म पूरै समय भनौँ न १० बजेदेखि ५ बजेसम्म अफिसमा बस्ने गरेको छु । 

हामी सबैजनालाई एकैदिन कोरोना संक्रमण भएको होइन ।

शुरूमा कान्छो छोरालाई, त्यसको केही दिनमा श्रीमतीलाई, त्यसपछि मलाई र पछि ठूलो छोरा–बुहारीलाई अनि नातिनातिनालाई संक्रमण भयो । 

घरको बनावटको हिसाबमा ग्राउण्ड फ्लोर छ । जसजसलाई कोरोना संक्रमण भएको छ, उनीहरूलाई अलग–अलग कोठामा राखियो, म पनि अलग कोठामै बसेँ । मेरो ठूलो छोरा र बुहारीमाथि बसे ।

उनीहरूले खाना बनाउने, हामीलाई भर्‍याङ्बाटै खाना राखिदिने र हामीले अलग्गै खाने गर्‍यौँ । भाँडाहरू पनि अलग–अलग माझ्ने, यही क्रमले निरन्तरता पायो । तर चिया भने हामी आफैंले बनाएर खायौँ । बेसार पानी, सूप पनि हामीले नियमित तर अलग–अलग भएर खायौँ । 

हामीलाई यस समयमा सबैभन्दा समस्या साना बच्चाहरूलाई जोगाउनु थियो । भर्‍याङबाट पनि आउन खोज्ने, नजिक हुन खोज्ने । 

तर पछि ठूलो छोरा र बुहारीलाई पनि संक्रमण भयो । त्यसको एक/दुई दिनमै ५ वर्षको बच्चा र डेढ वर्षको बच्चीलाई पनि संक्रमण देखियो । 

सबै जना संक्रमित भइसकेपछि डाक्टरहरूले सबै सँगै बसे हुन्छ भन्ने कुरा गरे । त्यसबेला शुरूमा संक्रमण भएको कान्छो छोरा तंग्रिन लागिसकेको थियो । त्यसपछि पालैपालो पकाउने खाने गर्‍यौँ । एउटालाई लाग्दै गर्दा अर्कोलाई निको हुँदै गरेको अवस्थाले केही सहज भयो । 

कोरोना संक्रमणको समयमा हामीलाई केही गाह्रो पक्कै भयो । अरू बेला घरमा बस्दा आराम हुने, शान्त हुने हुन्थ्यो तर संक्रमण भएका बेला छटपटी भयो ।

दिक्क लाग्ने, थकान लाग्ने, निराश हुने हुन थाल्यो । झनै नातिनातिनालाई पनि संक्रमण भएपछि म निकै पिरोलिएँ । निकै गाह्रो लाग्यो यो अवस्था । 

तर यति हुँदाहुँदै पनि सम्हालिएर काम गर्नु त थियो । यसबीचमा मैले केही पुस्तकहरू पढेँ ।

केही पहिले नै मैले निलम कार्की निहारिकाद्वारा लिखित पुस्तक ‘योगमाया’ किनेर ल्याएको थिएँ । तर व्यस्तताले पढ्न पाएको थिइनँ । यसबीचमा मैले योगमाया पढेँ । 

मेरो घर संखुवासभा हो । योगमायामा उल्लेख भएका घटनाहरू मेरो जिल्लासँग सम्बन्धित छ । यसपालि यो पढ्ने समय जुर्‍यो ।

यस्तै पछिल्लो समय मदन पुरस्कार विजेता भएको घनश्याम कँडेलको ‘धृतराष्ट्र’ र शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’ पनि पढेँ । यो पुस्तक पहिले पनि पढेको थिएँ, तर फेरि पढेँ । 

हामी पहाडमा हुँदा चलचित्र हेर्ने अवसर जुरेको थिएन । मैले २०३० सालमा सर्टिफिकेट लेभलको तेस्रो सेमेस्टरमा आएर मात्र पहिलो चलचित्र हेर्ने अवसर पाएँ । 

भक्तपुरमा मैले पहिलो चलचित्र ‘राज तिलक’ हेरेको थिएँ । यो एक हिन्दी चलचित्र हो । 

पहिले हेरे पनि मलाई यसको नामबाहेक अरू याद थिएन । निषेधाज्ञामा मैले यसलाई युट्युबमा हेरेँ । यो घटना भने मलाई निकै रमाइलो लाग्यो । 

हाम्रो घरमा बाहिर नै डाइनिङ टेबल छ । कोरोना संक्रमणबाट तँग्रिदै गर्दा छोरा र मैले त्यसमै टेबल टेनिस खेल्यौँ । अहिले पनि खेल्छौँ । 

यस्तै नातिनातिना ससाना छन्, नाच्ने, गाउने गर्छन्, रमाइलो हुन्छ । 

म सद्‌गुरुको शिष्य पनि हो । पहिलेदेखि नै मलाई सद्‌गुरु मन पर्छ । उहाँको प्रवचनबाट म एकदमै प्रभावित हुन्छु । पोहोर उहाँ नेपाल आउँदा मैले गएर भेटेको पनि थिएँ । 

उहाँको मन्त्रहरू, योग, ध्यानमा हामी साँझ समय बिताउँछौँ ।  यसबाहेक हरेक दिन बिहान म पसिना निकाल्ने गरी नियमित शारीरिक एक्सरसाइज गर्छु । 

निषेधाज्ञाले हामीलाई परिवारमा घुलमिल हुने तथा छलफल गर्ने वातावरण पनि मिलाइदिएको छ । पहिला परिवार को कहाँ पुग्थे, भेट गर्नै गाह्रो थियो ।

 यसबीचमा हामी भने सबै सँगै छौं । छोरा तथा नातिनातिनाले मलाई मेरो शुरूआती समय, संघर्षका दिनहरूबारे सोध्छन् । 

मैले प्रायः नछुटाइ सम्झेजति उनीहरूलाई भन्ने अवसर पाएको छु । 

म बेलाबेलामा कविता पनि लेख्छु । एउटा कविता भने गाउँकै बारेमा लेखेको छु, यसै निषेधाज्ञाका बीचमा । 

गाउँ, गाईभैँसी, मेला गएको, यस्ता सबै कुराहरू मैले लेखेको थिएँ, जुन मेरो जीवनमा यथार्थ थियो ।

परिवारलाई मैले यी सबै कुरा बताएँ । म काठमाडौं कसरी आएँ, कसरी अगाडि बढेँ, मेरो विवाह कसरी भयो ? यस्ता कुराहरू मैले सुनाउने अवसर पाएँ । 

यस्तै भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल गर्छौँ । सानो छोराको विवाह सकभर यसै वर्ष गर्ने योजनामा पनि छौँ ।

त्यसका लागि कसरी, कुन तरिकाले गर्ने ? कसलाई बोलाउने भन्नेबारे पनि हामीले छलफल गर्‍यौँ । 

यस्तै अबको २ वर्षपछि म रिटायर हुन्छु । रिटायर्ड भएपछि कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल घरमा हुन्छ । यस्तै विगत, वर्तमान र भविष्यबारे हामी छलफल गरिरहेका छौँ । 

मैले सामाजिक सञ्जाल यस बीचमा धेरै चलाइनँ । बरू युट्युबमा मैले निकै नै महत्वपूर्ण कुराहरू हेरेँ ।

महात्मा गान्धीको हत्या कसरी भयो भन्ने बारे हेरेँ । मदन भण्डारीको हत्याबारे भने युट्युबमा केही भेटिनँ । यस्तै कुराहरू मैले हेरेँ । 

म किचेनमा गएर पकाएको छैन । तरकारी केलाउने र भाँडा सफा गर्ने काममा मलाई जाँगर लाग्छ । म परिवारलाई भन्छु पनि । चिया भने म राम्रो बनाउँछु । 

हामी सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित भयौँ । अझै पहिलो डोज खोप पनि लगाएका थियौँ । नेपाली कहावत ‘संकट वा दशा बाजा बजाएर आउँदैन’ भनेको सत्य नै रहेछ ।

नसोचेको कुरा भयो भनेपनि हामीले नआत्तिकन यसको व्यवस्थापन गर्नुपर्ने रहेछ । अहिलेको अवस्थामा कसलाई सम्झिने, कसलाई नसम्झिने ?

इष्‍टमित्र कुनै दुःख वा गाह्रो पर्दा मात्र चिनिँदो रहेछ । यसपालि कोरोना महामारीबाट हामीले यो पाठ सिक्यौँ ।

(राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठसँग लकडाउन डायरीका लागि लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीमा आधारित।)



 

salt training

कमेन्ट गर्नुहोस्