![कोरोना महामारीमा नन्-कोभिड बिरामीको सेवामा रातदिन नभनी खटेका ३ युवाको कथा [भिडियो रिपोर्ट]](https://lktcdn2.prixacdn.net/media/Scout_5ZTQ7HIgv3.jpg)
कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ ।
कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् ।
बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै कैयनले ज्यान गुमाए ।
कोरोना महामारी फैलिँदा कोरोनाका बिरामी मात्र होइन अन्य रोगका बिरामीहरूले पनि पाउनु दु:ख पाए ।
कोरोनाका बिरामीहरूको हेरचार तथा उपचारमा त सिंगो राज्य संयन्त्र र सबैको ध्यान केन्द्रित थियो, तर यसबीचमा अन्य रोगका बिरामी समस्यामा परे ।
यसरी दु:ख पाएका नन्-कोभिड बिरामीको सेवामा खटिएका छन्- स्काउटका ३ योद्धा ।
जो वृद्ध छन्, अशक्त छन्, जसको नियमित चेकजाँच गर्नुपर्ने हुन्छ, जसलाई गम्भीर प्रकृतिको रोग लागेको छ र यो निषेधाज्ञाले गर्दा अस्पताल जान पाएका छैनन्, उनीहरूलाई सेवा दिँदै आएका छन्- स्काउटको स्पेसल टास्क फोर्सका संयोजक अजित लामा तथा सदस्य प्रकाशजंग पाण्डे र विकेन्द्र महर्जनले । महर्जनले सवारी चालकको भूमिका निभाउँदै आएका छन् ।
संयोजक लामाले आफू चढ्ने क्रेटा कार नै सेवामा लगाएका छन् ।
यस्तो महामारीका समयमा सेवा गर्न पाउँदा आफूहरू खुसी रहेको उनीहरू बताउँछन् । सेवाग्राहीले धन्यवाद भन्दा मनै आनन्दित हुन्छ ।
यसबीचमा उनीहरूले एउटा शव पनि व्यवस्थापन गरे जसलाई स्वयं उनकै परिवारले अन्तिम संस्कार गर्न चासो दिएको थिएन ।
पहिला कोरोना संक्रमण भएका तर कोरोना संक्रमण मुक्त भइसकेपछि निधन भएका एक व्यक्तिको अन्तिम संस्कारमा उनको परिवारले उदासीनता देखाएको थियो ।
त्यो शव व्यवस्थापनको जिम्मेवारी उनीहरूको काँधमा आयो ।
सफलता पूर्वक निर्वाह गरेको उक्त जिम्मेवारीलाई उनीहरू अविस्मरणीय क्षणका रूपमा लिन्छन् ।
यति मात्र होइन, उनीहरूले पशुपति आर्यघाट परिसरमा मलामीहरूका लागि खानेपानीको व्यवस्थापन गर्दै आएका छन् भने गन्तव्यमा पुग्न सकेर बाटामा अलपत्र नागरिकहरूको उद्धार पनि गर्दै आएका छन् ।
यी ३ युवाको सत्कर्मको बाँकी कथा हेर्नुहोस्, भिडियोमा :