१६ असार २०८३, मंगलबार

छिमेकीबाट एक्लिएपछि सकसमा कतार : लाखौ नेपाली कामदारको भविष्य के होला ?

कात्तिक २०, २०७४
छिमेकीबाट एक्लिएपछि सकसमा कतार : लाखौ नेपाली कामदारको भविष्य के होला ?
काठमाडौं, २२ जेठ –छिमेकी ६ मुलुकले कतारसँग कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि त्यसको प्रभाव नेपाली कामदारलाईसमेत पर्ने चिन्ता व्यक्त हुन थालेको छ । आतंकवादलाई प्रोत्साहन गरेको भन्दै छिमेकी मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) बहराईन, इजिप्ट, लिविया र यमनले सोमवार कतारसँगको यसअघि कायम रहँदै आएको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।
चरमपन्थी आतंककारी समूह आईएसआईएस र अलकायदालाई समर्थन गरेको आरोपमा ती राष्ट्रले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेका अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

साउदी स्टेट न्यूज एजेन्सी (एसपीए) का अनुसार रियाद (साउदी अरवको राजधानी शहर) ले कतारको मूख्य तेलहन क्षेत्र पेनीन्सुलासँगको आफ्नो जल, जमिन र हवाई सिमा बन्द गरेको छ ।

युएईले आफ्नो देशमा कार्यरत् कतारी कुटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिइसकेको छ । त्यस्तै, विभिन्न मुलुकबाट कतार उडान हुने मूख्य उडड्यन कम्पनी एथिहाड एयरवेज र दुवईको फ्लाई इमिरेट्सले पनि कतारसँगको आफ्नो हवाई सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । कुटनीतिक सम्वन्ध अन्त्यको घोषणा गरेका ती मुलुकले कतार एयरवेजका लागि आफ्ना मुलुकमा स्थान नदिने घोषणा पनि लगत्तै गरिसकेका छन् ।

छिमेकी मुलुकले कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेसँगै अब कतार संकटमा पर्ने र आर्थिक मन्दी छाउने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरिरहेका छन् ।

पछिल्ला घटनाक्रमले अब कतारको अर्थतन्त्र धरासायी हुने अनुमानहरू गरिएका छन् ।

नेपाललाई के असर पर्छ ?
अन्य मुलुकलाई जे –जस्तो असर परे पनि कतारसँगको विकसित घटनाक्रमले नेपाललाई पनि ठूलो असर पर्ने जानकारहरू बताउँछन् ।

कतारसँगको नेपालको सबैभन्दा मजवुत सम्बन्ध रोजगारीका मामिलामा रहँदै आएको छ । हालसम्म कतार नेपालको मलेसियापछिको दोस्रो ठूलो श्रम गन्तव्य मुलुक हो ।

आर्थिक वर्ष २०७२/७३ सम्म कतारमा पौने दश लाख नेपाली वैदेशिक रोजगारीका क्रममा कार्यरत् छन् ।

कतारसँग जोडिएका पछिल्ला घटनाक्रमले उक्त देशसँग कायम रहेको नेपालको वैदेशिक रोजगारीमा खलल आउने प्रक्षेपणहरू गरिएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले उसका छिमेकी मुलुकको कतारसँगको सम्बन्ध विच्छेदको प्रत्यक्ष प्रभाव नेपालको वैदेशिक रोजगारीमा पर्ने बताए ।
‘कतारसँगको छिमेकी मुलुकको कुटनीतिक सम्बन्ध विच्छेदको गम्भीर असर नेपाललाई पर्ने देखिन्छ,’ ढकालले लोकान्तरसँग भने । खासगरी कतारमा ठूलो संख्यामा रहेका नेपालीले यसको मूल्य चुकाउने अवस्था आउनसक्ने उनले बताए । ‘यो अवस्था गहिरियो भने कतारमा कार्यरत् नेपालीको रोजगारी गुम्न सक्ने र आगामी दिनमा त्यस देशबाट प्राप्त भइरहेको श्रमिकको माग पनि ठप्प हुन सक्ने स्थिति आउन सक्छ,’ संघका अध्यक्ष ढकालले भने ।

श्रम तथा रोजगार मन्त्रालयका उपसचिव शिवराम पोखरेलले भने छिमेकी मुलुकसँगको सम्बन्ध विच्छेदले नेपाललाई धेरै असर नगर्ने दावी गरे । ‘कतारको अर्थतन्त्र मूलतः पेट्रोलियममा निर्भर छ, तर अहिले सम्बन्ध विच्छेद गरेका छिमेकी कुनै पनि मुलुकमा उसले तेल निर्यात गर्दैन्,’ उनले भने, ‘तसर्थ पनि तत्काल यो घटनाले नेपाललाई प्रभाव पार्ने देखिन्न ।’

अर्थशास्त्री केशव आचार्यले कतारसँग उसका छिमेकी मुलुकले चालेको कदमले नेपाललाई प्रत्यक्ष प्रभाव पार्ने बताए । ‘कतारसँग उसका छिमेकी मुलुकले चालेको कदमले त्यहाँको अर्थतन्त्रमा नकारात्मक असर पार्ने देखिन्छ,’ उनले भने, ‘यसले भोलि त्यहाँ कार्यरत् नेपाली कामदारको रोजगारी गुम्न सक्ने खतरा देखिएको छ ।’

कतार एक्लिएपछि त्यहाँको तेल निर्यातमा असर पार्ने र त्यसले उक्त देशको अर्थतन्त्रमा असर पर्ने उनले बताए । ‘यसै पनि पछिल्लो समय नेपालको मूख्य आयका रुपमा रहेको विप्रेषणको वृद्विदर घटिरहेको स्थितिमा कतारको वैदेशिक रोजगारी प्रभावित भयो भने यसको सीधा असर नेपाली अर्थतन्त्रमा पर्नेछ ।’

salt training

कमेन्ट गर्नुहोस्