०९ असार २०८३, मंगलबार

यस वर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

असार २१, २०७८
यस वर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

नयाँ भेरियन्ट सहितको कोरोना महामारी तीव्र रूपमा बढ्न थालेपछि वैशाख पहिलो हप्तादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो । 

वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो हप्तादेखि अन्य क्षेत्र बिस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको छ ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको बताए । साउन भगवान् शिवको प्रिय महिना मानिन्छ ।

साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् । 

गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण वर्षभर मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो ।

विक्रम संवत् २०७६ चैत पहिलो हप्तादेखि मंसिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो । गत पुस १ गतेदेखि बिहान ६ बजेदेखि मध्याह्नसम्म खुला गरिएको थियो । महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्