०३ असार २०८३, बुधबार

प्यागोडा शैलीमा बोलबम धामको पुनर्निर्माण शुरू, विष्णु पौडेलले भने- स्रोतको अभाव हुन दिइँदैन

प्यागोडा शैलीमा बोलबम धामको पुनर्निर्माण शुरू, विष्णु पौडेलले भने- स्रोतको अभाव हुन दिइँदैन

लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्यसहित रुपन्देहीको सैनामैनास्थित परोहा परमेश्वर बोलबम धामको पुनः निर्माणको काम सुरु भएको छ । 

दुई वर्षमा सम्पन्न गर्ने गरी पुनर्निर्माण शुरू गरिएको हो । सम्पन्न भएपछि सैनामैनामा पर्यटकको थप आकर्षण बढ्ने अपेक्षा गरिएको छ । 

पुनर्निर्माणको पूर्व उपप्रधान तथा अर्थमन्त्री एंव नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले शनिवार भर्चुअल माध्यमबाट शिलान्यास गरे । सो अवसरमा बोल्दै पौडेलले गुरूयोजनाअनुसारको काम गर्न स्रोत सुनिश्चितताको कमी नहुने बताए ।

‘सैनामैनामा विकासमा महत्त्वपूर्ण आयाम धाम पुनर्निर्माणले थपिने छ । सैनामैना कहिल्यै पछाडि पर्न दिइँदैन,’ उनले भने । 

प्यागोडा शैलीमा कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा बनाउने गुरुयोजना तयार गरी निर्माण शुरू भएको हो । 

सैनामैना नगरपालिकाले बनाएको गुरुयोजनाअनुसार धाममा मूल मन्दिरसहितका संरचनाहरू निर्माण गर्न १४ करोड बढी लागत लाग्ने छ । 

पहिलो चरणमा धाममा प्यागोडा शैलीमा तामाको छानोसहित दुई तले मूल मन्दिर बनाउन ६ करोड ५७ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको छ । चारवटा ढोकासहितको मूल मन्दिरको छानो ५१ फिट लम्बाइको हुनेछ । 

बोलबम धामको नयाँ संरचना निर्माणपछि सैनामैनाले धार्मिक पर्यटनको विकासमा फड्को मार्ने अपेक्षा गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।

मूल मन्दिरको चारै कुनामा दुई तल्ले प्यागोडा शैलीका पाञ्चायन मन्दिर बनाइने छ । मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहने गरी गुरुयोजनाको डिजाइन तयार गरिएको छ । 

करिब ५०० किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु रहने मन्दिरमा साढे ५ फिटको मूल गजुर रहने छ । मन्दिर बनाउन नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा संघीय सरकारको सशर्त अनुदानको रकम खर्च हुनेछ । 

मूल मन्दिरको पूर्वमा आकर्षक मूल प्रवेशद्वार र पश्चिममा पूजापाठ गर्ने कलात्मक गृह बनाइने र विभिन्न देवीदेवताका मूर्तिहरूलाई मूल मन्दिरबाट उत्तरमा आकर्षक मन्दिर बनाई व्यवस्थित गरिने बताइएको छ । 

मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तमा पूरा हुने र दोस्रो चरणमा आठ करोड बढीको पूर्वाधारहरू बनाइने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्