
चितवनमा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बाँकी छ ।
कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय तहमध्ये राप्ती, खैरहनी रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सबै रोपाइँ सकिएको छ ।
ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरको धानयोग्य जमिनले झण्डै आधा क्षेत्रफल ओगटेको छ ।
भरतपुरको अन्य स्थानमा रोपाइँ सकिए पनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने हुँदा रोपाइँमा ढिलाइ भएको हो ।
पूर्वी चितवनमा चैते धानपछि लगत्तै बर्खे धान लगाएर रोपाइँ शुरुआत गरिन्छ । धानपछि तरकारी लगाउने भएकाले चाँडै धान लगाउने चलन रहेको उनले जानकारी दिए ।
यही साउनको दोस्रो सातासम्म रोपाइँ सकिने अनुमान केन्द्रको छ । यस वर्ष वर्षात छिटो हुनु, मल बीउको अभाव खासै नभएकाले पनि रोपाइँ विगतका वर्षमा भन्दा चाँडो भएको उनले बताए ।