
गुल्मीमा यात्रुवाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शान्तिपुरबाट तम्घास आउँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।
सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका-४ ईन्द्रगौंडा नजिकै दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको गुल्मी प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिए । जीपमा १० जना सवार रहेको बताइएको छ ।
प्रहरीका अनुसार मृतकमध्ये दुई जनाको सनाखत भएको छ ।
सनाखत हुने मृतकमा चन्द्रकोट शान्तिपुरका तेजेन्द्र थापा र चन्द्रकोट-५ हरेवामा रेशम कार्की छन् । एकजना महिलाको सनाखत हुन बाँकी रहेको डीएसपी पाण्डेले बताए ।
जीप सडकबाट ५०० मिटर तल खसेको र उद्धार कार्य जारी छ । दुर्घटनाको कारणका विषयमा अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।