
साउनको सोमबार पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला नगरिए पनि पशुपति क्षेत्रमा गत हप्ताभन्दा पनि बढी भक्तजनको भीड लागेको छ ।
निषेधाज्ञाका कारण लामो समय घरमा बसेका भक्तजन शान्तिका लागि पनि पशुपति क्षेत्रमा आएको देखिन्छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले मूल मन्दिरको गजुरको दर्शन गर्नु पनि पशुपतिनाथको दर्शन गरे बराबरको फल मिल्ने मान्यताले पनि भीड बढेको बताए ।
नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले मन्दिर बन्द गरिएको छ । वैशाख पहिलो हप्तादेखि बन्द गरिएको मन्दिर खोल्न निश्चित नभए पनि भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका छन् । बाहिरबाटै दर्शन गर्न भए पनि पशुपति क्षेत्र आएको दोलखाबाट आएका श्याम उप्रेतीले सुनाए । साउनको सोमबार पशुपतिनाथ नखुले पनि बाहिरी क्षेत्रबाटै दर्शन गर्ने उद्देश्यले आएको उनले बताए ।