०५ असार २०८३, शुक्रबार
कोरोनाले रोकेन काम

एक अपवाद ठेकेदार जो समय अगावै सक्छन् काम

साउन २५, २०७८
एक अपवाद ठेकेदार जो समय अगावै सक्छन् काम

भौतिक निर्माण क्षेत्रमा अधिकांश निर्माण व्यवसायी बदनाम छन् । पुलपुलेसा, भवन, सडक जस्ता संरचनाको ठेक्का लिएर समयावधिभित्र काम नसक्ने, गुणस्तरहीन संरचना बनाउने जस्ता कार्यले आमजनता माझ ठेकेदार अलोकप्रिय छन् ।

तर यस्ता पनि निर्माण व्यवसायी छन्, जो समयावधि अगावै ठूला–ठूला संरचना निर्माण सम्पन्न गरी सरकारबाट पुरस्कृत हुँदै आएका छन् । जो आमजनताको फूलमाला र स्नेहको एक्लो हकदार बन्दै आएका छन् ।

ती निर्माण व्यवसायी हुन्, अनिल सिलवाल । जय विष्णु निर्माण सेवा प्रालि काठमाडौंका प्रबन्ध निर्देशक रहेका सिलवालले हालसम्म ठेक्का लिएका सबै संरचनाको निर्माण तोकिएको समयसीमाभन्दा अगावै गरेको दाबी गरेका छन् ।

साउन २४ गते कैलालीको कैलारी गाउपालिका–६ स्थित घुराहा नदीमा बनेको पक्की पुलको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गरे । जिल्लाको राजीपुर, गदरिया, फूलबारी जोड्ने सडकमा बनेको १०८ मिटर लामो पुल निर्माण भएपछि स्थानीय जनता निकै हर्षित भए । 

पुल नहुँदा कष्टकर तथा जोखिमयुक्त जीवनयापन गरेका स्थानीयले पुल उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी सिलवालको भव्य स्वागत गरे ।

कम्पनीले पुल निर्माण सम्झौता गरेको १७ महिनामै तयार भएको छ । सरकारसँग २०७६ पुस २ गते सम्झौता भएको पुल २०७८ जेठ ३० गते निर्माण सम्पन्न भएको छ । जसको निर्माण अवधि २ वर्ष भए पनि ७ महिना अगाडि नै सम्पन्न भएको हो ।

पुलको लागत १३ करोड ५२ लाख भए पनि १३ करोड ३७ लाख रुपैयाँको लागतमा सम्पन्न भएको निर्माण व्यवसायी सिलवाल बताउँछन् ।

काम गर्नेलाई कोरोना महामारी र लकडाउन बन्दैन बाधक !

पछिल्लो समय अधिकांश कामचोर निर्माण व्यवसायीको काम नगर्ने गतिलो बहाना कोरोना महामारी तथा लकडाउन बनेको छ तर सिलवालको कार्यसम्पादनमा महामारी र लकडाउन कहिल्यै बाधक बनेको छैन ।

सिलवाल भन्छन्, ‘हामी हाम्रो कामप्रति प्रतिवद्ध छौं । स्थानीय र सरकारले सहयोग गरेपछि हामीलाई काम नगर्ने कुनै बहाना चाहिन्न । हामीले जिम्मेवारी लिएको कुनै काममा हालसम्म ढिलाइ भएको छैन । बरु हामीले तोकिएकोभन्दा चाँडै काम गरेर देखाएका छौं ।’

जय विष्णु निर्माण सेवा प्रालिले कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित नेंगना नदीमा बनाएको पुलको साउन २५ उद्घाटन भयो । २०७६ पुस २ गते सम्झौता भएको पुल २०७८ असारमा निर्माण गरिसक्नुपर्ने थियो । पुल ६ महिना अगाडि नै सम्पन्न भयो । ४ करोड ९७ लाख लागत अनुमान गरिएको पुल ४ करोड ९३ लाखमा निर्माण सम्पन्न गरेको सिलवाल बताउँछन् । टेंगना पुलको उद्घाटन भने ढिलो भएको थियो । 

कैलालीकै प्रतापुरस्थित चोरी नदीमा २०७६ सालमा निर्माण गरेको पुल पनि समयसीमाभन्दा पहिल्यै निर्माण गरिएको छ ।

निर्माण व्यवसायी सिलवालले कैलालीमा निर्माण गरेका यी प्रतिनिधि पुल मात्रै हुन् । देशका विभिन्न स्थानमा निर्माण गरेका सबै पुलहरू तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न गरेको दाबी निर्माण व्यवसायी सिलवालको छ ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–१२ पुन्तुरा नदीमा पनि उनैले पुल निर्माण गरेका थिए । २०७२ सालमा सम्झौता गरिएको १९८ मिटर लामो पुल २०७३ सालमा सम्पन्न गर्नुपर्ने थियो । निर्माण व्यवसायी सिलवालले १७ महिना अगाडि पुल बनाएका थिए । 

डडेल्धुरा जिल्ला अलिताल गाउँपालिका–४ बाघखोलामा ६ करोड ४३ लाखमा निर्माण भएको पुल पनि उनले १ वर्ष अगाडि निर्माण गरेका थिए ।

नुवाकोट जिल्लाको तादीखोला पुलको निर्माण आफैंले डिजाइन गरेर निर्माण गरेको निर्माण व्यवसायी सिलवाल सुनाउँछन् । ९ करोड २७ लाख लागतमा ९० मिटर पुलको निर्माण १७ महिनाअघि नै सम्पन्न गरेको उनको भनाइ छ । जुन पुल निर्माण गरेपछि सरकारले १ करोड पुरस्कार दिएको निर्माण व्यवसायी सिलवाल बताउँछन् ।

भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका र भोजपुर नगरपालिका जोड्ने सिक्टल खोला पुल समय सीमाभन्दा अगावै निर्माण गर्दा १० लाख नगदसहित पुरस्कार पाएको उनले बताए ।

यति मात्रै होइन, उत्कृष्ट कार्यसम्पादन देखाएकै कारण जय विष्णु निर्माण सेवा सन् २०१९ सालमा गोल्ड अवार्ड समेत प्राप्त गरेको थियो ।

निर्माण व्यवसायी महासंघले देशकै सर्वोत्कृष्ट निर्माण कम्पनी रहेको भन्दै गोल्ड अवार्डबाट सम्मान गरेको सिलवालले बताए ।

जय विष्णुको उदय

आफैं इञ्जिनीयर रहेका जय विष्णु निर्माण सेवाका प्रबन्ध निर्देशक सिलवालले कम्पनीमार्फत २०७२ सालदेखि निर्माणको कार्य थालेका हुन् । सोभन्दा पहिले केही विदेशी र केही स्वदेशी कम्पनीमा काम गरेका सिलवालले जय विष्णु निर्माण सेवामार्फत हालसम्म ३२ वटा पुल निर्माण गरेका छन् । ती सबै पुल निर्धारित समयभन्दा पहिल्यै निर्माण भएका सिलवाल बताउँछन् ।

नुवाकोट जिल्लाको बेलकोट गढी नगरपालिका–१२ स्थायी घर भएका सिलवालले जय विष्णु निर्माण सेवाको स्वामित्व लिनुभन्दा पहिले कतारमा निर्माण कार्य गर्दै आएको बेलायती कम्पनी केप इस्टमा प्रोजेक्ट म्यानेजर भई ३ वर्ष काम गरेका थिए । २०६८ देखि २०७२ सालसम्म विभिन्न निर्माण कम्पनीमा टेक्निकल एड्भाइजर भएर काम गरेको अनुभवसहित उनले जय विष्णु निर्माण सेवा शुरू गरेको बताए ।

केही समय सडक, तटबन्ध निर्माणमा हात हालेका उनी पछिल्लो समय पुल निर्माणमा मात्रै केन्द्रित छन् । पछिल्लो समय आधुनिक प्रविधिमार्फत मोडुलर पुल अर्थात् बाहिरबाट पुलका पार्टहरू बनाएर सम्बन्धित फिल्डमा निर्माण गर्दै आएका छन् । डोटीको गोम्मा गाड र वीरगञ्जको बौली नदीमा मोडुलर पुल निर्माण गरेको सिलवाल बताउँछन् ।

सरकारी कर्मचारीले दिन्छन् धेरै दुःख 

समय र गुणस्तरमा कसैसँग सम्झौता नगरिने बताउने सिलवालले सरकारी कर्मचारीले अनावश्यक दुःख दिँदा साह्रै मन दुख्ने गरेको गुनासो पोखे । उनले भने, ‘हामीले समयमा काम गर्ने कुरा त छँदैछ । अर्कोतिर गुणस्तरमा सम्झौता गर्दैनौ । कसैले औंला उठाउने ठाउँ छैन तर समयमा भुक्तानी नदिने, अनावश्यक दुःख दिने कर्मचारीका व्यवहारले हैरान भइयो । यहाँसम्म कि कर्मचारीले घुस मागेर हैरान गर्छन् ।’

ज्यान जोखिममा राखेर समेत आमजनताले दिएको हौसलाले काम गर्दै आएको बताउँदै सिलवालले पछिल्लो समय आफूलाई २ पटक कारोना भएको र कम्पनीमा कार्यरत अधिकांशलाई पनि कोरोना भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्