
साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन् ।
तेस्रो सोमबारसम्म मन्दिर खुला हुने आशामा पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । पछिल्लो समय दैनिक रुपमा नयाँ भेरियन्टसहितको कोरोनाका सङ्क्रमित बढ्न थालेको र अस्पतालमा बिरामीको चाप बढ्न थालेसँगै पशुपति क्षेत्रमा पनि आज भक्तजनको सङ्ख्या साउनका विगतका सोमबारका तुलनामा कम देखिएको हो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले मन्दिर खोल्न नसकिने अवस्था भएपछि पशुपति क्षेत्रमा सामान्य अवस्थाकै जस्तो भक्तजन आएको बताए ।
यस वर्ष साउनमा पाँच वटा सोमबार परेको थियो । साउन ३२ गते अन्तिम सोमबार परेको छ । साउने सोमबारको व्रत लिने महिला भने अन्य शिव मन्दिरमा जम्मा भएका थिए । राजधानीको टोलटोलमा रहेका शिव मन्दिरमा विशेषगरी महिलाको भीड लागेको थियो । साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य, पारिवारिक सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।